बारेकोटका तीन स्थानमा नमस्तेको टावर निर्माण हुने

जाजरकोट, संचार सुविधाबाट बञ्चित रहेको बारेकोट गाउँपालिकाको तीन वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएको छ ।
हालसम्म संचारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकवाडामा टावर निर्माण हुने भएको हो । विगत केही वर्ष यता संचार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माण भएपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग गर्न पाउने छन् ।
उक्त तीन वटा स्थानमा टावर स्थापना गर्नका लागि एस्टर नेपाल प्रालिले ठेक्कामा लिइ सामग्री ढुवानीको काम शुरु गरिसकेको नेपाल टेलिकमका प्रबन्धक अनन्त मान सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार नायकवाडाको रतनकोटमा हाल संचालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ भने नयाँ निर्माण हुने टावर असोज महिना देखि संचालनमा आउनेछन् ।
साविकको चार वटा गाविस रहेको बारेकोटमा संचार सुविधाको नाममा नायकवाडाको रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहदा सेवाग्राही हाल मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नेटवर्क जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि भने राहत पाउने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनुभयो ।
बारेकोटमा संचार सुविधा पुर्याउनका लागि संचार मन्त्रालयत, नेपाल टेलिकम लगायतका विभिन्न निकाय बारम्बार ताकेता गरेपनि समयमै सुनुवाइ नहुदा जनगुनासो धेरै आएको बताउदै अध्यक्ष शाहले भने – “अब ढिलै भएपनि बारेकोटीबासीले भरपर्दो संचार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा लिएको छु । यसका लागि सहयोग गर्ने सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायलाई धन्यबाद ज्ञापन गर्दछु ।”
बारेकोटमा नमस्तेको तीन वटा टावर निर्माण हुन भएपछि स्थानीयवासीहरु खुसी भएका छन् । बारेकोट गाउँपालिकामा टावर निर्माणका लागि पहिले नै पहल भएपनि बाटो अपठ्यारो भएका कारण सामग्री ढुवानीमा कठिनाई हुँदा ढिला भएको बन तथा बातावरण मन्त्री शक्तिवहादुर वस्नेतले बताउनुभयो । मन्त्रालयबाट छिटो बारेकोट लगाएत जिल्लाका अन्य ठाउँमा टावर निर्माणका लागि काम तिव्रता दिन निर्देशन भए वमोजिमका काम भईरहेका छन् मन्त्री वस्नेतले भन्नुभयो । सांसद गणेसप्रसाद सिंहले ६ महिना अघि जाजरकोट सवै ठाउँमा प्राविधिक लिएर निर्माण गर्ने ठाउँको डिजाईन बनाउनु भएको थियो ।





error: Content is protected !!