गर्भावस्थामा किन हुन्छ मानसिक समस्या

विवाहित महिलाका लागि गर्भावस्थाको समय अत्यन्त महत्वपूर्ण हुन्छ । विवाहपछि गर्भ रहँदा प्रायः महिला उत्साहित र खुसी हुन्छन् । तर, उनीहरू विभिन्न प्रकारका तनावबाट समेत ग्रसित हुन सक्छन् । उसो त यस्तो अवस्था निकै संवेदनशील पनि हुन्छ । त्यसैले यस्तो अवस्थामा महिलाले आफ्नो स्वास्थ्यमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । यी हुन् गर्भावस्थामा मानसिक समस्या हुनुका मुख्य कारण
अनुसन्धान
हालै गरिएको एक अध्ययनअनुसार विश्वका २० प्रतिशत महिलालाई बच्चा जन्माइसकेपछि कुनै न कुनै मानसिक समस्या देखा परेको छ । र, विश्वका ८० प्रतिशत महिला सुत्केरीपछिको केही समय सामान्य डिप्रेसनमा हुन्छन् । त्यस्तै, ११ देखि २० प्रतिशत महिलामा बच्चा जन्माएपछि पोस्ट पार्टम डिप्रेसन पनि देखा पर्ने गरेको पाइएको छ ।
सामान्यतया मानिसहरूले गर्भावस्थामा महिलामा डिप्रेसन हुनुको पहिलो कारण उनीहरूमा विकसित हुने हर्मोनलाई लिने गर्छन् । तर, यससँगै जीवन जिउने शैली र आफू आमा बन्दै छु भन्नेमा डर, उत्सुकता, उदासीनता, निराशा, तनावजस्ता कुराले पनि भूमिका खेलिरहेको हुन्छ ।
कारण
विनायोजना गर्भ रहेमा आमामा मानसिक समस्या देखा पर्न सक्छ ।
मानिसलाई उसको आर्थिक अवस्थाले पनि ठूलो भूमिका निर्वाह गर्छ । यदि आर्थिक रूपमा सक्षम नभई गर्भ रहेको अवस्थामा यस्तो समस्या देखा पर्न सक्छ ।
कसैको जीवनसाथी गैरजिम्मेवार पनि हुन्छन् । उनीहरू असहयोगी वा अपमान गर्ने खालको भए पनि गर्भावस्थामा यस्तो समस्या देखा पर्ने गर्छ ।
सिमाजको उचित साहयता र सहयोग नभएको, विभिन्न शारीरिक रोगबाट ग्रसित भएका महिलामा पनि यस्तो समस्या हुने प्रशस्त सम्भावना हुन्छ ।
परिवारका कोही सदस्यलाई डिप्रेसन भएमा,
बाँझोपनको उपचार गराएको अवस्थामा या पहिलो गर्भ तुहिएमा,
विभिन्न तनावयुक्त घटनाका कारण पनि मानसिक समस्या हुन्छ ।
पेटभित्र रहेको शिशुको अवस्था जटिल भएमा,
महिला हिंसा वा मानसिक आघात पार्ने घटना घटेको अवस्थामा पनि उनीहरू मानसिक समस्याबाट ग्रसित हुन सक्छन् ।
लक्षण
धेरै थकित देखिनु, जिउ भारी भइरहनु,
निर्णय लिन अप्ठ्यारो हुनु, बच्चाको जन्मपछि हेरविचारमा समस्या देख्नु,
दुःखी भइरहनु, आफूलाई नै आफ्नो वशमा राख्न नसक्नु,
दिक्क लागिरहनु, सधैँ उदास रहनु,
कहिलेकाहीँ आफ्नो पेटमा गर्भ नै नरहेको भए हुन्थ्यो भन्नेजस्ता भावना मनमा खेल्नु,
खाने शैलीमा परिवर्तन हुनु, खानाप्रति रुचि हराउँदै जानु,
मुड स्थिर नहुनु, अकस्मात् मुड परिवर्तन भइरहनु,
दिमागमा नकारात्मक सोच मात्र आइरहनु,
निद्रामा असन्तुलन हुनु, निद्रा निकै बढी वा निकै कम लाग्नु,
आफ्नो इच्छाको काममा समेत ध्यान कम जानु,
कहिलेकाहीँ आत्महत्याको विचारसमेत आउनु,
आफ्नो जिन्दगीलाई बेकाम महसुस गर्नु वा जन्मिएकोमा पश्चाताप लाग्नु,
समाधान
यसबाट बच्न सकारात्मक समूहमा आफ्नो कुरालाई खुलेर व्यक्त गर्न सक्ने बानीको विकास गर्नुपर्छ ।
परिवारमा विशेषगरी श्रीमान्ले राम्रोसँग हेरचाह गर्न आवश्यक हुन्छ ।
मानसिक तथा आर्थिक रूपमा सक्षम भएर मात्र गर्भधारण गर्नुपर्छ ।
यस्तो समस्या आएमा मनोचिकित्सकसँग परामर्श लिने र आवश्यक परेमा औषधिकै सेवन गर्नुपर्छ । विभिन्न थेरापी गरेर पनि यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।
सन्तुलित भोजनमा पनि ख्याल गर्नुपर्छ । र, दैनिक योग ध्यान गर्ने, शारीरिक अवस्थाअनुसार व्यायाम गर्नेजस्ता गतिविधिलाई निरन्तरता दिनुपर्छ ।
गर्भावस्थामा आमाले गर्ने हरेक व्यवहारको प्रत्यक्ष प्रभाव पेटमा हुर्कंदै गरेको शिशुमा पर्ने गर्छ । यतिसम्म कि आमाले कस्तो सोच राखेको हुन्छ, त्यसको समेत प्रभाव शिशुमा परिरहेको हुन्छ । –
त्यसैले, यस्तो अवस्थामा आमा शारीरिक, मानसिक र भावनात्मक रूपमा समेत स्वस्थ रहन आवश्यक हुन्छ । यसको वातावरण परिवारले पनि मिलाउनुपर्छ । सकेसम्म गर्भावस्थाका महिलालाई कुनै प्रकारको तनाव दिनुहुँदैन ।
यस्तो अवस्थामा संगीत सुन्ने, उत्प्रेरणामूलक र आध्यात्मिक पुस्तक पढ्ने बानी गर्नुपर्छ ।










