हुम्लाको नमुना गाउँमा छैन विद्युत र संचार सुविधा

नरजन तामाङ
हुम्ला, सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा दक्षिणमा रहेको चङ्खेली गाउँपालिका, ५ नेप्का गाउँ चारैतिर पहाडले घेरिएको छ । जाडो महिनामा दिनको सात पटकसम्म घाम लाग्ने र अस्ताउने भएकाले यस गाउँ नमुनाका रुपमा परिचित छ ।
तर, यही गाउँमा सञ्चार र विद्युत सेवा आपूर्ति नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन् । गाउँभन्दा बाहिर रहेका आफन्तलाई फोन गर्न उनीहरु पाँच घण्टा पैदल हिडेर जानु पर्ने बाध्यता रहेको छ ।
केही वर्षअगाडि बाढीले विद्युत सेवामा अवरुद्ध बनाएपछि गाउँमा विद्युत सेवा बन्द भएको छ । सरोकारवालाले विद्युत मर्मतमा कुनै चासो नदेखाएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।
पाँच वर्षसम्म विद्युत मर्मत नहुँदा सल्लाको दियालो बाल्दै आएको चङ्खेली गाउँपालिका, ५ की बिजौरा तामाङले बताइन । उनले भनिन्, ‘गाउँमा भोट मान्दा नेताहरुले अनेक आश्वासन देखाए, अहिले फर्केर पनि आएका छैनन् ।’










