नलगाड नगरपालिका जाजरकोट काे / वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम( पुर्ण पाठ सहित)

आर्थिक वर्ष २०७५÷७६
को
वार्षिक नीति तथा कार्यकम
नलगाड नगरपालिक
नगर कार्यपालिकाको कार्यालय
दल्ली, जाजरकोट
कर्णाली प्रदेश, नेपाल
नलगाड नगरपालिकाको नगर सभाको वैठकमा २०७५ साल असार १० गते
आईतवार नगर प्रमुख श्री टेक बहादुर रावलले
प्रस्तुत गर्नु भएको
आर्थिक वर्ष २०७५÷७६ को
वार्षिक नीति तथा कार्यक्रम
नलगाड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दल्ली, जाजरकोट
कर्णाली प्रदेश, नेपाल
१. नेपालको संविधान जारी भए पश्चात नलगाड नगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम यस नगर सभामा प्रस्तुत गर्न पाउदा मलाई खुसी लागेको छ । यसै अवसरमा नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटक पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलनको स्मरण गर्न चाहान्छु । लोकतन्त्रको स्थापनार्थ शहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्दछु ।
२. संविधान सभाबाट नेपालको संविधान जारी भएसंगै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, बहुलबाद, सामाजिक न्यायसहितको समानुपातिक समावेशी प्रतिनिधिमुलक व्यवस्था, मौलिक अधिकार, नागरिक स्वतन्त्रता, धर्म निरपेक्षताजस्ता महत्वपुर्ण उपलव्धीहरु संस्थागत भएका छन । यो स्थानीय सरकार नेपाली जनताको त्याग, वलिदान र लामो संङ्घर्षको उपलव्धि हो । राष्ट्रलाई युगान्तकारी मोडमा ल्याउने क्रममा जनताले गर्नु परेको त्याग, वलिदान र व्यहोर्नु परेको दुःख कष्टको पूर्ण सम्मान गर्दै लोकतन्त्रको रक्षा, सुदृढिकरण र सही प्रयोगमा स्थानीय सरकार अडिग रहने छ ।
३. “समृद्ध र सफा नगर, दिगो विकास र सुशासनको लहर” हाम्रो दिर्घकालिन लक्ष्य हुनेछ । यस सरकारका कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन । सवैलाई समान अवसर, समान अधिकार, उत्तिकै सम्मानको प्रत्याभुति गरिनेछ । राष्ट्रियता, लोकतन्त्र, शान्ति सुरक्षा, विकास निर्माण, सुशासन र समृद्धिका क्षेत्रमा सहमतिका साथ अघि वढ्न सरकार प्रतिवद्ध छ । यी सवै प्रतिवद्धताहरु पूरा गर्नको लागि स्थानीय सरकार सम्पूर्ण राजनितिक दल तथा सरोकारवालाको साथ र सहकार्यको लागि आव्हान गर्दछ ।
४. यस नगरपालिकाका नीतिहरु प्रगतिशिल र नवप्रर्वद्धनलाई प्रोत्साहन गर्ने किसिमका हुनेछन । विकास र सेवा प्रवाहलाई सहजीकरण गर्न अपूर्ण नीति तथा कानुनलाई पूर्णता दिईनेछ । आवश्यकता अनुसार नयाँ नीति तथा कानुन निर्माण गरिनेछ । नगरपालिका भित्र उपलव्ध भएका र कम प्रयोग भएका स्रोतसाधनको कुशलतापूर्वक परिचालन गरिनेछ ।
५. नलगाड नगरपालिकाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने विकासका भौतिक पूर्वाधारहरु सडक यातायात, उर्जा, सिंचाई, खानेपानी जस्ता योजनाहरुको विकासको लागि प्राथमिकताक्रम निर्धारण गरि योजना तर्जुमा गरिने छ । नगरपालिकाका केही स्थानहरुमा बसपार्क स्थापना गरि सञ्चालनमा ल्याईनेछ । स्थानीय जनताको आवश्यकता अनुरुप विकास आयोजनाहरुको छनौट गरिनेछ ।
६. नगरपालिकाको प्रत्येक वडाहरुमा नमुना वस्ती विकास कार्यक्रमको रुपमा केही बस्तीहरुको छनौट गरि विकास गरिनेछ । यस नगरपालिका भित्र सडकको पहुँच कायम हुन नसकेका वडा कार्यालयहरुमा स्थानीय सडक सञ्जालको पहुचँ स्थापना गर्न विशेष जोड दिईनेछ । निर्माण सम्पन्न भएका स्थानीय सडकहरुको स्तरोन्नती गरिनेछ । साथै नलगाड नगरपालिकाको विभिन्न स्थानहरुमा ट्रस व्रिज, झोलुंगे पुल निर्माणको लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य र समन्वय गरि अगाडी बढिनेछ ।
७. यस नगरपालिकाको बजेट विनियोजन गर्दा संघीय सरकार र कर्णाली प्रदेश सरकारले निर्दिष्ट गरेका लक्ष्यहरु हासिल गर्ने गरि योजना तथा कार्यक्रमहरुको प्राथमिकता तय गरिनेछ । योजना तथा कार्यक्रमको कार्यान्वयनमा स्थानीय जनताको जनसहभागिता अभिवृद्धिमा जोड दिईनेछ ।
८. “नलगाडको पानी, नागरिकको लगानी” भन्ने उद्घोषको साथ स्थानीय स्तरमा लघु जलविद्युत आयोजनाहरुको निर्माण गरि उज्यालो अभियान नलगाडको नारालाई सार्थक रुप दिन पहल गरिनेछ । लघु जलविद्युत आयोजनाहरुको सव स्टेशन निर्माण गरिनेछ । ४१० मेगावाटको नलसिंङगाढ जलविद्युत आयोजनाको तीव्र निर्माणको लागि नेपाल सरकार र प्रदेश सरकारसंग अनुरोध गरिनेछ । उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विद्युत क्षेत्रको विकास र विस्तार गरिनेछ । यस क्षेत्रमा हुने विद्युत चुहावट नियन्त्रण गरिनेछ ।
९. “स्वच्छ र सफा पानी, नलगाडबासीको जीन्दगानी” भन्ने उद्घोषलाई मध्यनजर गरि नगरपालिकाको सवैै वडाहरुमा खानेपानीको सहज पहुँच हुनेछ । खानेपानीको मुहान संरक्षण, भूमिगत स्रोतको दोहन नियन्त्रण र बर्षातको पानी संकलन गरी खानेपानीको स्रोत बृद्धि गरिनेछ । आवश्यकता अनुसार लिफ्ट प्रविधि र ठुला खानेपानी आयोजना संचालन गरिनेछ ।
१०) “अर्गानिक खेतिमा जोड, नलगाडको अठोट” भन्ने नारालाई साकार तुल्याउन स्थानीय रैथाने प्रकारका कृषि वाली तथा पशुपंक्षीको उचित संरक्षण र प्रर्वद्धन गर्देै अर्गानिक उत्पादन र उत्पादकत्व वृद्धिको लागि नलगाड अर्गानिक कृषि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
११) यस नगरपालिकाको विभिन्न वडाहरुको विभिन्न क्षेत्रहरुलाई कृषि, फलफुल, मौरीपालन लगायत अन्य विविध तवरले पकेट, ब्लक र जोनको रुपमा विकास गर्न नलगाड विशेष कृषि विकास कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।
१२) अर्गानिक कृषि उत्पादनको प्रर्वद्धन, विकास र कृषिलाई आधुनिकीकरण गर्दे रोजगारी सिर्जना गर्नको लागि कृषि औजार उपकरणहरुको व्यवस्था गरिनेछ । नगरस्तरमा कृषि विउविजन, जैविक विषादीको उत्पादनमा प्राथमिकता दिईनेछ । व्यावशायिक खेती गर्ने कृषकहरुलाई अनुदानको व्यवस्था गरिनेछ । तन्तु प्रशारणबाट नर्सरी उत्पादन गर्ने कृषकलाई थप अनुदानको व्यवस्था गरिनेछ । विभिन्न वडाहरुमा वाली उपचार शिविर सञ्चालन गरि कार्यान्वयन गरिनेछ । स्थानीय सरकार र अन्य साझेदार निकायको समन्वय र साझेदारमा स्थलगत माटो परीक्षण गरि माटो सुहाउदो कृषि उत्पादनलाई जोड दिईनेछ ।
१३. कृषिमा आत्मनिर्भर हुने खालका नीति तथा कार्यक्रमहरु तय गरिनेछ । आर्थिक तथा सामाजिक रुपले पछि परेका कृषक केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिनेछ । कृषकको कृषि उपजहरुको बजार सुनिश्चित गर्नको लागि कृषि हाटबजार, कृषि उपज संकलन केन्द्र तथा शीत भण्डारको विकास र स्थापनामा जोड दिईनेछ । स्याउ, सुन्तला, कागती, आँप लगायतका फलफूलको नर्सरी र एग्रोभेटको स्थापनामा जोड दिईनेछ । नगर प्रमुख कृषि पुुरस्कारको स्थापना गरि उत्कृष्ट कृषक, कृषक समुह, कृषि फर्म र सहकारी संस्थालाई पुरस्कृत गरिनेछ ।
१४. पशुहरुको कृतिम गर्भाधान प्रणालीमा जोड दिदै पशु नश्ल सुधार कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकाको विभिन्न वडाहरुमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । स्वच्छ र गुणस्तरिय माछा, मासु, अण्डा र दुग्ध पर्दाथको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणमा जोड दिईनेछ ।
१५. कृषियोग्य भूमिको खण्डीकरण र अतिक्रमण रोकिनेछ । करार र सामुहिक खेतिलाई प्रोत्साहन गरिनेछ । कृषि उपजहरुको निर्यात वृद्धि गर्ने निति अवलम्वन गरिनेछ । कुषि उत्पादनको वहु उपयोग हुने गरी उत्पादन विधिकरण र मूल्य शृङ्खला विस्तार गरिनेछ । निर्यातयोग्य उच्च मूल्यका कृषि उपजहरुको खेतिहरुलाई प्रोत्साहन गरिनेछ । अर्गानिक नगरपालिका वनाउन कृषि उपजहरुको अर्गानिक उत्पादन गर्न अभियान तत्काल सुरु गरिनेछ । कृषकहरुलाई कृषि तथा पशुपंक्षि सम्बन्धि प्राविधिक ज्ञान तथा सिप प्रदान गर्न तालिमको व्यवस्था गरिनेछ । कृषि उत्पादनका साधनहरुको उपलब्धता, उत्पादन, सञ्चय, विक्रि वितरण र मूल्यको अनुगमन एवं नियमन गरिनेछ ।
१६. “गाउँ गाउँमा सहकारी, घर–घरमा भकारी”को नारालाई सार्थक तुल्याउन सहकारी नमुना गाउँ कार्यक्रम सञ्चालन गरि उक्त गाउँलाई पर्यटन केन्द्रको रुपमा विकास गरिनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरि स्वरोजगारमुलक कृषि÷पशु लगायत अन्य क्षेत्रमा आवद्ध गराउनका लागि तालिम तथा अनुदानको व्यवस्था गरिनेछ ।
१७. जलवायु परिवर्तन न्यूनिकरण तथा अनुकूलनका कार्यक्रमहरु संचालन गरिनेछन । जैविक विविधताको संरक्षण गरिनेछ । वातावरण संरक्षण र व्यस्थापन, भू क्षय नियन्त्रण र नदि मुहान तथा किनारा संरक्षण गरिनेछ । नलगाड तथा ठुलो भेरी नदिका आसपासका क्षेत्रहरुको सरसफाईमा विशेष ध्यान दिईनेछ । यी क्षेत्रमा फोहर जन्य क्रियाकलाप गर्ने सवैलाई दण्डित गरिनेछ ।
१८. वनको समुचित व्यवस्थापन गरि यसको उपयोग र संरक्षणमा जोड दिईनेछ । वातावरण संरक्षण तथा वृक्षारोपन कार्यक्रम संचालन गरि वातावरणमैत्री क्रियाकलापमा जोड दिईनेछ । वनको अतिक्रमणमा नियन्त्रण गरिनेछ ।
१९. स्थानीय स्तरमा लोपोन्मुख पशुपंक्षी संरक्षणमा विशेष जोड दिईनेछ । रेडपाण्डा, कस्तुरी, डाँफे, चिरकालिज, मुनाल, सुन गिद्ध, हाडे गिद्ध, सेतो गिद्ध लगायत अन्य पशुपंक्षीको संरक्षण र सम्र्वद्धन गर्न नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ ।
२०. वातावरणमैत्री क्रियाकलापमा जोड दिई एक व्यक्ति दुई विरुवा रोप्ने नीतिलाई प्रोत्साहन गर्न भावी सन्ततिलाई विरुवा उपहार कार्यक्रम अन्र्तगत जन्म, मृत्यु, विवाह जस्ता सामाजिक, सांस्कृतिक कार्यहरुमा वृक्षारोपन गरि वन र वातावरण संरक्षण र संम्वद्र्धन गर्न विशेष पहल गरिने छ ।
२१. यस नगरपालिका भित्र सञ्चालित विद्यालय, सामाजिक संघसंस्था, समुह लगायत अन्य निकायबाट वृक्षारोपन गरि हरियाली नगरको रुपमा विकास गर्ने र नगरको सरसफाई अभियानलाई निरन्तरता दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२२. निरक्षरता उन्मुलन, सामाजिक भेदभाव विरुद्ध जनचेतना अभियान, वृक्षारोपन र वातावरण संरक्षण जस्ता अभियानहरु संचालन गर्न युवा सञ्जाल निर्माण गरि परिचालन गरिनेछ ।
२३. ढुगां गिटि र वालुवाको उत्खनन तथा प्राकृतिक सम्पदाको दोहनबाट वातावरणमा परेको असर कम गर्न नीतिगत र कानुनी व्यवस्था मिलाईनेछ ।
२४. उपभोक्ता हित संरक्षण गर्न स्थानीय उद्योग व्यापार संघको सहकार्यमा बजार अनुगमन गरि बजारलाई नियमित र व्यवस्थित गर्न उपभोक्ता जागरण अभियानका कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीय व्यापारलाई प्रोत्साहन गर्न स्थानीय व्यवशायीहरुसंग समन्वय गरि व्यापार सम्वन्धि नीति तथा कानुन बनाई कार्यान्वयन गरिनेछ ।
२५. नलगाड नगरपालिकाको विभिन्न क्षेत्रहरुमा बाढी, पहिरो र नदी कटान नियन्त्रण गरी तटवन्ध निर्माण गर्न आवश्यक व्यवस्था गरिनेछ । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोप तथा विपतबाट नागरिकहरुलाई राहत उपलव्ध गराउन नगरपालिकामा विपत व्यवस्थापन कोष स्थापना गरि सञ्चालन गरिनेछ । विपत व्यवस्थापनको पूर्व तयारी गरिनेछ । हिमपात, बाढिपहिरो, डुवान तथा आगलागिका समयमा न्यूनतम सेवाको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गरिनेछ ।
२६. पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न स्थानिय स्तरमा रहेका पर्यटकिय, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको विकास, विस्तार र व्यवस्थित गरि प्रचार प्रसार गरिनेछ । स्थानीय स्तरका लोपोन्मुख जाति, आदिवासी, जनजातिको भाषा, संस्कृति र धर्मको संरक्षण र विकासमा जोड दिईनेछ ।
२७. “गुणस्तर शिक्षा, नलगाडबासीको ईच्छा” भन्ने उद्घोषलाई आत्मसाथ गरि यस नलगाड नगरपालिकामा सञ्चालित नमुना विद्यालयहरुलाई भौतिक श्रोत साधनले सम्पन्न बनाईने छ । शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षक, अभिभावक तथा विद्यार्थीबीच त्रिपक्षिय अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिनेछ र शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमहरुको व्यवस्था गरिनेछ ।
२८. मानविय क्षमता विकास गर्न नगरपालिकाबाट वडा तथा बस्तीहरुमा गुणस्तरीय शिक्षा, सिप विकास, स्वास्थ्य, खानेपानी तथा सरसफाईमा लगानी बृद्धि गरिनेछ । निजि र सामूदायिक क्षेत्रलाई समेत यी क्षेत्रमा लगानी बढाउन उत्प्रेरीत गरिनेछ । आधारभूत शिक्षा अनिवार्य र निःशुल्क गरिनेछ । विद्यालय पढने उमेरका सबै बालबालीकालाई विद्यालय भर्ना गर्ने कार्यलाई प्रत्येक बर्ष अभियानको रुपमा अगाडि बढाईनेछ । यसै शैक्षिक सत्र देखि कक्षा १ मा भर्ना भएका सबै बिद्यार्थिले माध्यामिक शिक्षा पुरा गर्ने व्यवस्था मिलाईनेछ ।
२९. बिद्यालय छाडने कारणबारे अध्ययन तथा अनुसन्धान गरी सुधारका कार्यक्रम संञ्चालन गरिनेछ । औपचारीक शिक्षा छाडेका बिद्यालय पढने उमेरकालाई विद्यालय फर्काउन र विद्यालय पढने उमेर नाघेकालाई प्राविधिक र व्यवशायीक सिप प्रदान गरिनेछ । शिक्षामा निजी लगानीको नियमन गरी शैक्षिक क्षेत्रमा रहेको विषमता हटाईनेछ । प्रत्येक विद्यालयलाई बालमैत्री विद्यालयको रुपमा विकास गर्नेगरी विद्यालयको पूर्वाधार विकास गरिनेछ ।
३०. जोखिममा परेका टुहुरा, अनाथ, असहाय वालवालिकाहरुको अध्ययन प्रोत्साहनको लागि बाल कल्याण कोष स्थापना गरि सञ्चालन गरिनेछ ।
३१. नगरपालिकाका केही स्वास्थ्य संस्थाहरुलाई नमुना स्वास्थ्य संस्थाको रुपमा विकास गरिनेछ । स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुमा उपकरण औजार र पर्याप्त औषधीहरुको व्यवस्था गरिनेछ । जनतालाई स्थानीय स्तरबाट स्वास्थ्य सेवा प्रदान गर्न योग शिविर लगायत विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ ।
३२. सुनौला हजार दिनको महिला तथा वालवालिकाको पोषण, सुरक्षा सम्वन्धी कार्यक्रमलाई निरन्तरता दिईनेछ । स्वस्थ नागरिक, सम्वृद्ध नगर भन्ने मुल ध्येयका साथ जनताको जीवनसंग जोडिएको आधारभुत स्वास्थ्य सेवालाई भरपर्दो, जनमुखी र प्रभावकारी बनाईने छ । सवैका लागि स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ । सुत्केरीलाई सेवा, भावी सन्ततिलाई टेवा भन्ने नाराका साथ वाल तथा मातृ स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन नगरपालिकाबाट थप रकमको व्यवस्था गरिनेछ ।
३३. नगरपालिका क्षेत्रमा आम नागरिकहरुको स्वास्थ्य सेवाको पहुँच स्थापना गर्न, स्वास्थ्य सेवाबाट नागरिकहरु सेवा वञ्चित नहुन र नगरपालिका क्षेत्रका नागरिकहरुको अकालमा मृत्यु नहोस भन्ने हेतुले आकस्मिक स्वास्थ्य कोषको स्थापना गरिनेछ ।
३४. आधारभूत र विशेषज्ञ स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गरिनेछ । स्थानीय तहबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराईनेछ । प्रदेश सरकारसंग समन्वय गरि विशेषज्ञ स्वास्थ्य सेवाका साथै रेफरल सेवा उपलब्ध गराईनेछ ।
३५. र्लैगिक समानता, महिला सशक्तीकरण, महिला सहभागिता वृद्धि गर्ने खालका कार्यक्रमहरुमा जोड दिईनेछ । आमा र नवजात शिशुको सुरक्षाको लागि अस्पताल तथा स्वास्थ्य चौकीहरुमा गई सुत्केरी गराए वापत सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप दिईने सुत्केरी भत्ता रकममा दोव्वर वृद्धि गरिनेछ ।
३६. मर्यादित स्वास्थ्य सेवा तथा सुरक्षित स्वास्थ्यकर्मीको लागि स्वास्थ्यकर्मी आचारसंहिता बनाई लागु गरिनेछ । सुरक्षित मातृत्व, प्रजनन तथा परिवार स्वास्थ्य सुधार, वाल स्वास्थ्य, पोषण लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
३७. स्थानीय कला संस्कृतिको विकास र संरक्षणको लागि परम्परागत पेशा, सीप र कला संस्कृतिको संरक्षण, सम्र्वद्धन विकासको लागि नलगाड सांस्कृतिक महोत्सव आयोजना गरिनेछ । पुरातात्विक, ऐतिहासिक, धार्मिक र परम्परागत रितिरिवाज मुल्य मान्यता भाषा एवं सांस्कृतिकहरुको पहिचान, संरक्षण र विकासमा जोड गरिनेछ ।
३८. समाजका राम्रा मूल्य र मान्यताहरुको संरक्षण गरिनेछ । बालविवाह, दाईजो, बोक्सी, जातीय भेदभाव, उत्पीडन तथा छुवाछुत एवं सामाजिक कुरीति उन्मुलन गरिनेछ । सबै जाति, बर्ग, लिङ्ग र समुदायलाई राष्ट्रिय मुलप्रवाहमा आवद्ध गराउन प्रयास गरिनेछ । लोपोन्मुख धर्म, भाषा र संस्कृतिको संरक्षण गरिनेछ । यस स्थानीय सरकारले धार्मिक आस्था, प्रथा वा प्रचलनका कारणले कसैलाई कुनै आघात वा मर्का पर्ने व्यवहार हुन दिनेछैन ।
३९. महिला, वालवाललिका, जेष्ठ नागरिक विरुद्ध हुने हिंशा तथा दुव्र्यवहार, वालनामुलक कार्यक्रमहरु वृहतश्रम, वालविवाह छुवाछुत, वोक्सी लगायत सवै प्रकारका कुरितिहरु अन्त्य गर्न चेत र रुपमा सञ्चालन गरिनेछ । सामाजिक कुरितीको रुपमा रहेका बोक्सी, वालविवाह र सडक बालवालिका मुक्त क्षेत्र घोषणा गरिनेछ ।
४०. महिला, आदिबासी जनजाति, दलित, गरिव, विपन्न वर्ग, अपांग र जेष्ठ नागरिक केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिनेछ । जेष्ठ नागरिकलाई सम्मान तथा शसस्त्र द्धन्द्ध र जनआन्दोलनका अशक्त, अपांगहरुलाई सिपमुलक तालिम प्रदान गरि स्वआर्जन गर्ने क्षमताको विकास गरिनेछ । महिला, एकल महिला, जेष्ठ नागरिक, दलित, अल्पसंख्यक, जनजाति, अपांगता भएका व्यक्ति तथा नागरिकको श्रोत साधनमा र अवसरमा समानता कायम गर्ने नीति तथा रणनीति तयार गरि विशेप लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ । महिला, दलित, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, वालवालिकामैत्री नीति तथा कानुनहरु निर्माण गरिनेछ ।
४१. यस नगरपालिकाको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न नगरस्तरिय रंगशाला स्थापना गरिनेछ । खेलकुद क्षेत्रको विकास, विस्तारको लागि नगर स्तरिय खेलकुद विकास समिति गठन गरि कार्यप्रारम्भ गरिनेछ ।
४२. सार्वजनिक प्रशासनको कार्यसंस्कृतिमा आमुल परिवर्तन गरी सुशासन कायम गरिनेछ । सार्वजनिक सेवा तथा सुविधा सहज, सरल र सुलभ ढंगबाट उपलब्ध गराईनेछ । नगरपालिकाको भवन निर्माण कार्यलाई जोड दिईनेछ । जवाफदेहिता विहिन स्थितिको अन्त्य गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत सुधार गरिनेछ । स्थानीय सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सेवा, सुविधा, प्रविधि, सिप र ज्ञान जनताको घर आँगनमा पुग्ने व्यवस्था मिलाईनेछ ।
४३. यस नगरपालिकाको सार्वजनिक खरिद प्रणालीलाई प्रतिस्पर्धि, पारदर्शी र गुणस्तरिय बनाउदै लगिनेछ । सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, जवाफदेही, प्रभावकारी, सरल तथा सहज बनाउन कार्यालय व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गरिनेछ । साथै न्यायिक समितिको कार्य सम्पादनमा सहज बनाउन जोड दिईनेछ ।
४४. स्थाीय सरकारले कुनै पनि तहमा हुने कुनै पनि स्वरुपको भ्रष्टचारलाई सहदैंन । भ्रष्टाचार गर्ने र गराउने दुवैलाई दण्डित गरिनेछ । जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई नियन्त्रण गरि दोषीलाई कानुनी दायरामा ल्याईनेछ ।
४५. समग्र मानविय विकासलाई ठोस गन्तव्यमा पुर्याउन शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सुरक्षा लगायत समग्र नगरको विकासको गुरुयोजना बनार्ई लागु गरिनेछ ।
४६. नागरिकको सुचना, सञ्चारको हकको प्रत्याभुति गर्न नगरमा अनलाईन मिडियाको प्रर्वद्धन गरिनेछ र एफ एम रेडियो स्थापना गर्न प्रोत्साहन गर्न आवश्यक समन्वय गरिनेछ । संचार क्षेत्रको विकासलाई प्राथमिकतामा राखिनेछ र कानुन प्रतिकुल नहुने गरि जिल्लामा कानुनी हैसियत प्राप्त संचार माध्यमलाई सवै माध्यमबाट प्रोत्साहन गरिनेछ ।
४७. सुचना तथा सञ्चार प्रणालीसंग आवद्ध हुन नगरपालिकाको सवै वडा कार्यालयहरुमा सञ्चार तथा ईन्टरनेट सेवाको पहुँच स्थापना गरिनेछ । शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा आधुनिक संचार प्रविधिको प्रयोग बढाईनेछ । विद्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ईन्टरनेट सुविधा पु¥याईनेछ । सेवा प्रदायक सबै सरकारी निकायहरुलाई सूचना प्रविधि सञ्जालमा आबद्ध गरी प्रमुख नतिजा र निर्णयको परिक्षण गरिनेछ ।
४८. नगरका सम्पुर्ण काम कारवाही लोकतान्त्रिक पद्धति अनुरुप खुला र पारदर्शि बनाई नागरिक प्रति जिम्मेवार बनाउन नगरपालिकामा रहेको सार्वजनिक महत्वको सुचनामा नगरवासीको पहुचलाई सरल र सहज बनाउन र नगरपालिका र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशिल सुचनाको संरक्षण गरिनेछ तथा नागरिकको सुसुचित हुने हकलाई संरक्षण गरिनेछ ।
४९. “स्वच्छ सफा र सुन्दर शहर, नलगाडबासीको रहर” भन्ने उद्घोषलाई यर्थातमा परिणत गर्न नगरपालिकाको सवै वडाको वस्ती टोलमा सरसफाई अभियान कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिनेछ ।
५०. अस्पताल, उद्योग, होटल तथा अन्य ठुला प्रतिष्ठानहरुबाट निस्कने फोहरमैलालाई सुरक्षित ढंगले व्यवस्थापन नगर्ने संचालकलाई कार्वाहीको दायरामा ल्याईनेछ । नदि, खोला, तालतलैया, नहर र सार्वजनिक स्थानमा फोहर विसर्जन गर्नेहरुलाई दन्डित गरिनेछ । फोहोरलाई विर्सजन गर्न फोहोरमैला व्यवस्थापन क्षेत्र निर्माण गरिनेछ ।
५१. नगरपालिकामा प्रत्येक वालवालिकालाई पहुँचयोग्य समान र गुणस्तरीय शिक्षाको लागि आवश्यक प्रवन्ध गरिनेछ । वाल विवाह, वाल श्रम, वालवालिका विरुद्धको अपराध, मानव वेचविखन विरुद्ध अभियान संचालन गरिनेछ । वालवालिकालाई जोखिम पुर्ण काममा नलगाउन जनचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । वालमैत्री नगर घोषणा गर्न आवश्यक व्यवस्था गरिनेछ ।
५२. सामाजिक सुरक्षा पाउने तर पहुँचमा आउन नसकेका जेष्ठ नागरिकलाई विशेष कार्यक्रम संचालन गरि अनिवार्य रुपमा सुविधा लिन सक्ने वातावरण तयार गरिनेछ ।
५३. नगरपालिकाको कर प्रशासनमा व्यापक सुधार गरिनेछ । करको दायरा र दरहरु बढाईने छ । एकिकृत सम्पतीकर आर्थिक वर्ष २०७५।७६ बाट सुरु गरिनेछ । स्थानीय तहमा रहेका सम्पूर्ण सहकारी, सामाजिक संघसंस्था, व्यवशायी समुहहरु, फर्म, वित्तिय संस्थाहरुमा कर लगाईने छ । श्रोत परिचालनलाई दिगो भरपर्दो बनाई नगरपालिकालाई आत्मनिर्भर, समृद्ध, दिगो विकासयुक्त र सम्मुनत बनाईनेछ ।
५४. पर्यटन पूर्वाधार निर्माण, प्रचार प्रसार र पर्यटक अनुकूल सेवा सुविधाको विस्तार गरिनेछ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिईनेछ । प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नती गरी थप पर्यटकिय गन्तव्य पहिचान र विकास गरिनेछ । नलगाड जलविहार पर्यटन वर्ष, २०७५ लाई निरन्तरता दिईनेछ । पर्यटन क्षेत्रका विकास विस्तार र सम्र्वद्धनमा जोड दिईनेछ ।
५५. यस नगरपालिकामा उद्यमशिलतालाई प्रवर्धन गर्न स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको समूचित प्रयोग गरि घरेलु उद्योगहरुको विकास र स्थापनामा जोड दिईनेछ ।
५६. यस नगरपालिकाको सहरी विकास तथा भवन निर्माण प्रक्रियालाई व्यवस्थित तथा प्रभावकारी बनाउन भवन निर्माण संहिता बनाई कार्यान्वयन गरिनेछ ।
५७. यस नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, जनताका समस्याहरु, गुनासाहरु सम्बोधन गर्न र विकास निर्माणको वास्तविक अवस्था पत्ता लगाउन “जनतासँग नगर प्रमुख” कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
५८. यस नगरपालिकामा कार्यक्षेत्र भएका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु एकद्धार प्रणाली मार्फत नगरपालिका आई नगरपालिका र वडा कार्यालयको समन्वय तथा सहकार्यमा रही योजना तथा कार्यक्रम प्रस्तुत गर्नुेपर्ने नीति अवलम्वन गरिनेछ । आफ्नो नीति तथा कार्यक्रममा रहि उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई प्रोत्साहन तथा पुरस्कृत गरिनेछ ।
५९. अन्त्यमा राजनीतिक संक्रमण समाप्त गरी नेपालको संविधान कार्यान्वयनका माध्यमबाट नगरलाई सम्बृद्धिको यात्रा तर्फ अग्रसर गराउन योगदान पु¥याउने राजनीतिक दलहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । नगरको समग्र आर्थिक–सामाजिक विकासमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निजि तथा सहकारी क्षेत्र, नागरिक समाज, बुद्धिजीवी, संचार जगत तथा सम्पूर्ण नगरबासीहरुलाई धन्यबाद दिन चाहान्छु । साथै नगरको विकास प्रयासमा सहयोग पु¥याउने सरकारी तथा गैर सरकारी संघसंस्थाहरुलाई धन्यबाद दिन चाहान्छु ।
धन्यवाद










