यार्सा टिप्न गएका विद्यार्थी भन्छन् पढाई मात्र छुट्यो, कमाई भएन

जाजरकोट ः जेठको पहिलो साता यर्सागुम्बा टिप्न डोल्पा गएका नगगाड नगरपालिका ९ का १२ वर्षीय बसन्त विक केही दिनअघि घर फर्किएका छन्।उनी खलंगास्थित त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ का विद्यार्थी हुन्।

वर्षभरको पढाइ खर्च र नुनतेलको जोहो गर्न गएका उनी यसपालि सोचेजस्तो कमाइ नभएपछि निराश भएर फर्किएका छन्।एक महिना पछि विद्यालय आएका उनी पढाइ छुटेकोमा चिन्तित देखिन्थ्ये। उनले भेरीखवर स‌ग भने ुकेही कमाइ होला भनेर गाउँलेसँग डोल्पाको सिसोल पाटन गएँ तर कमाइ नभए पछि फर्केर आएँ। उनले थपे, ु२० हजार जतिका यार्सा टिपेको थिए।आउँदै सकियो। यता पढाइ पनि छुट्यो, उता कमाइ भएन दुःख मात्र पाइयो।ु

उनी यार्सा टिप्न जान थालेको तीन वर्ष भयो। ुवृद्ध आमा बुवा काम गर्न सक्नुहुन्न। पढाइ खर्च र घर खर्च मैले नै जुटाउनु पर्छ,ुउनले आफ्नो पीडा सुनाउँदै भने।यस अघिका वर्षमा खर्च कटाएर ५० , ६० हजार रुपैयाँ कमाउने गरेको स्मरण गदै भने, ुगत वर्ष जस्तो कमाइ होला भनेर गएको हुँ तर यसपाली यार्सा नै पाइएन।

उनले तीन दिन पैदल हिँडेर पाटन पुगेको स्मरण गदै पाटनमा हिमपात र पानी परिरहने हुँदा चिसोले हैरान पारेको बताए। पाटनमा २० दिन बसेका उनले अन्य खाने कुरा नपाइने भएकोले चाउचाउ मात्र खानु परेको सुनाए।

नेपाल राष्ट्रिय माध्यामिक विद्यालय घरंगामा ५ कक्षामा पढ्ने ११ वर्षीय रविन विक पनि यार्सागुम्बा खोज्न पहिलो पटक डोल्पा गए। अत्याधिक चिसोले उनी बिरामी परेपछि यार्सागुम्बा खोज्न नपाएरै बीचैमा घर फर्कनुपर्यो।

 

घर आएर पनि एक हप्ता बिरामी परे। उनको पनि एक महिना पढाइ छुट्यो।यार्सा संकलनका लागि डोल्पा डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा लेक लागेर बिरामी भएपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भयो।

उनी त्रिभुवन मावि दल्लीमा ९ कक्षामा अध्ययनरत थिए। नुन तेल र आफ्नो पढाइ खर्च जुटाउन गएको छोरो कहिल्यै नफर्कने गरी गएपछि बावु हरिबहादुर चनारा दुःखी छन्। उनी भक्कानिदै भन्छन्, ुबुवा म यार्सा खोजेर प्रशस्त पैसा कमाएर ल्याउँछु। त्यही पैंसाले हाम्रो वर्ष दिनभरको गर्जो टारौला भन्थ्यो तर छोरा फर्किएर आएन।

पढाइ तथा घरखर्चका लागि अधिकांश विद्यार्थी यार्सा टिप्न कर्णालीका जुम्ला , डोल्पा , मुगुका पाटनमा गएका छन्। यस वर्ष जिल्लाका नायकवाडा , रामीडाँडा , रोकायगाँउ , पैक , सक्ला , रग्दा , भगवति , लहाँ , खगेनकोटलगायतका ठाउँबाट करिब ५ हजार स्कुले विद्यार्थी यार्चा खोज्न गएका छन्।

पैसाको जोहो गर्न हिमाली पाटनतिर गएका विद्यार्थी निराश भएर फर्किएका छन्। वीरन्द्र हिमालय मावि तल्लुमा १० कक्षामा अध्ययरत मानबहादुर बस्नेत यार्सा टिप्न गएर पढाई मात्र छुटेको बताए ।

पाटनमा चाउचाउलगायतका प्लाष्टिक जथाभावी फाल्दा प्रदूषण बढेको र जलवायु परिवर्तनका कारण प्रयाप्त हिमपात नपर्दा यार्सा उम्रन छाडेको हो। मानवजन्य प्रतिकुल क्रियाकलाप र जलवायु परिवर्तनले गर्दा पहिलेको तुलनामा यार्सागुम्बा उम्रने दर घट्दै गएको डोल्पाकी सांसद सत्य पहाडीले बताइन्।
उहाँले यार्सागुम्वा संकलन गर्दा विरामी भएकालाई निशुल्क औषधी र मृतकका आफन्तलाई क्षतिपर्ती दिनुपर्ने बताउनुभयो । सदनमा वोल्दै उहाँले यस्तो बताउनुभएको हो ।





error: Content is protected !!