५४ ग्राम ब्राउन सुगर वोकेको आरोपमा नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही बाँकेको ढकेरीबाट पक्राउ

कृष्ण ओली । नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीबाट नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी बाँकेबाट खटिएको प्रहरीको विशेष टोलीले शनिबार साझ नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई पक्राउ गरेको हो ।
ढकेरीमा रहेको एवान कटेजबाट मेयरसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका प्रहरी निरीक्षक रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे ।
प्रहरी स्रोतका अनुसार शाहीले आफु सेनाको मेजर भएको बताएपनी परिचय खुल्ने कागज भने देखाएका छैनन् ।
उनीहरुको साथबाट ५४ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी बाँके स्रोतले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।
मेजर शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा प्रहरीले कटेजमा छापा मारेको थियो । पक्राउ परेका पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ ।
उनीहरु दुवै जनालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।










