जाजरकोटको स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

हेमन्त केसी
जाजरकोट ः बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने स्थानीय सरकारले पहल गर्नेछ। बाल विवाह गर्नेको संख्यामा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी वस्नेतले बताइन्।

यो वर्ष मात्र अदालतमा सम्बन्धविच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ। महिला तथा बालबालिका कार्यालयमा कुटपिट, खान, लाउन नपाएको लगायत घरेलु हिंसाका १०० उजुरी दर्ता भएका छन्। त्यस्तै प्रहरी र स्थानीय तहका न्यायिक समितिमा २०० उजुरी परेका छन्। बालविवाहका कारण आत्महत्या, कुटपिट, घर निकाला, खान लाउन नपाउने, पढाइमा बाधा, सम्बन्ध विच्छेद गर्न बाध्य हुने लगायत घटना ह्वात्तै बढेको विभिन्न निकायमा परेको उजुरीले नै बताउने गरेको छ। विवाह गर्ने उमेर पुग्ने समयमा दुई सन्तान जन्माई आमा बनी सक्ने घटनाका कारण जाजरकोटमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्नेको संख्या बढ्दै गएको पनि वस्नेतले बताइन्। बालविवाहले पुरुषभन्दा महिलालाई बढी समस्यामा पार्ने गरेको छ। सामाजिक परम्परा, देखासिकी, यौनिक तथा आर्थिक आवश्यकता लगायत कारण बालविवाह हुने गरेको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यको भनाइ छ।
बालविवाहले महिलालाई अस्वस्थता, पढाइबाट वञ्चित, बेरोजगारी र हिंसाको सिकार बनाएको उनको भनाई छ। घर परिवारमा बालविवाह पूर्ण रूपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा बहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रम नगर्ने, बालविवाह न्यूनीकरणसम्बन्धी बहस पैरवी गर्नेलगायत कार्ययोजनाका साथ अभियान थालिएको चुनिचाँदे गाउँपालिका उपाध्यक्ष आचार्यले बताइन्। यस्तै बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोररकिशोरी कार्यक्रम, सञ्चार माध्यमबाट जनचेतना फैलाउने खालका सन्देश प्रचार तथा प्रसारण गर्ने, बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गर्नेलगायत दबाबमूलक कार्यक्रम पनि गरिने उनको भनाइ छ। बालविवाह जस्तो कुसंस्कारले जरो गाड्न थालेपछि यहाँका सबै स्थानीय तह बालविवाह न्यूनीकरणको अभियानमा लाग्न थालेका छन्। बालविवाह गर्ने, गराउनेलाई सामाजिक बहिष्कारसमेत गर्ने गरी अभियानमा जुटेको कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले बताइन्। स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवालालाई साथमा लिएर यो वर्षदेखि बालविवाह न्यूनीकरण अभियानमा लागेको बारेकोट गाउँपालिकाकी अपाध्यक्ष ओमा शाहीले बताइन्।
पहिलो चरणमा सबै वडामा पुगेर बालविवाहबारे सचेतीकरण गरेको उनको भनाइ छ। उमेर नपुग्दै गरिने विवाहले महिला पुरुष आत्मनिर्भर हुन समस्या हुने, महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने, स
म्बन्ध विच्छेद, बहुविवाह जस्ता सामाजिक विकृति बढ्नेलगायत समस्याका कारण बालविवाह न्यूनीकरणलाई मुख्य अभियान बनाएको बारेकोट गाउँपालिका उपाध्यक्ष शाहीको भनाइ छ। छेडागाड नगरपालिकामा सामुदाय स्तरमा बाल क्लव र विद्यालयमा गठन गरिएका बालक्लवले संयूक्त रुपमा बालविवाह न्यूनीकरणका लागि कार्यक्रम जारी राखेका छन्। नगरपालिकाले वडा वडामा त्यस्ता कार्यक्रमलाई सहयोग गदै अगाडि बढेको नगरप्रमुख लालवहादुर महताराले बताए।
नायिका रेखा थापा र जीवन रुपाख्तरणका अभियान्ता नरवहादुर कार्कीले पनि जाजरकोटमै छायांकन गरेर बालविवाहको कथावस्तु समेटिएको मालिका फिल्म निर्माण गरिरहेकी छन् । यो चलचित्रले पनि बालबिवाह रोक्नका लागि महत्वपुर्ण भुमिका खेल्ने अपेशा लिईएको छ ।
सेभ द चिल्डेन र पाँचतारा युवा संरक्षण मञ्च द्धारा सञ्चालित एकीकृत परियोजनाले संयुक्त रुपमा यो वर्षलाई बाल विवाह न्यूनीकरणका लागि अभियानका रुपमा चलाएको छ। त्यस्तै प्रहरीले पनि बालविवाह, घरेलु हिंसाका विषयमा जनचतेतना फैलाउनका लागि प्रहरी अभियान थालेको छ। जिल्लामा ७० प्रतिशत बढी बालविवाह हुनु चुनौती भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख शकुन्तला आचार्यले बताइन्।










