मन्त्रीको सम्पत्ति कति बढ्यो ? कुन मन्त्रीको कति सम्पती ?

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको अघिल्लो र यसपालिको सम्पत्ति विवरणको तुलना
दुई वर्षमा ओलीको स्वआर्जन ४१ लाख
प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधिकाको नाममा १४ लाख र केपी ओलीको नाममा एभरेष्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र थियो ।
यसरी दुई वर्षमा ३१ लाख नगद थपिएको छ । त्यस्तै, अघिल्लोपटक श्रीमती राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा १५ लाख लगानी गरेको उल्लेख थियो । यसपालि २५ लाखको राष्ट्रिय बचतपत्र किनेको जनाएका छन् । यसरी प्रधानमन्त्रीको खातामा ३१ लाख नगद र १० लाखको सेयर थपिएको छ । यसको स्रोत के हो रु उनले भनेका छन् स् स्वआर्जन ।
ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा साढे एक रोपनी जग्गामा तीनतले घर र झापामा १० कट्ठा जमिन छ । त्यस्तै, अहिले प्रधानमन्त्रीसँग करिब १८ तोला सुनका गरगहना छन्, दुई वर्षअघि ०७२ मा प्रधानमन्त्री हुँदा ओलीसँग करिब १४ तोला सुन थियो । नगदसहितका घरघडेरी र जग्गालाई उनले स्वआर्जन भनेका छन् ।
थोत्रो साइकल देखाउने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् । तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।
उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ । उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।
गृहमन्त्रीको सम्पत्तिमा दुईवटा कुकुर पनि , कुकुर, एक कुकुर्नी, त्यो पनि छिमेकीबाट प्राप्त
गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सम्पत्तिमा दुईवटा कुकुरसमेत भएको विवरण उल्लेख गरेका छन् । तीमध्ये एउटा कुकुर र एउटा कुकुर्नी भएको र छिमेकीले दिएको जानकारी उनले सरकारलाई दिएका छन् ।
तर, उनीसँग भएको यो एक मात्र सम्पत्ति भने होइन । श्रीमती नैनकला थापाको नाममा चितवनमा अंशबन्डाबाट पाएको एउटा घर छ । श्रीमतीकै नाममा ससुरालीबाट प्राप्त एक लाख रुपैयाँमा किनेको जग्गा छ । यस्तै उनीसँग ६ तोला सुन र ३ लाख नगद साथमा छ । यस्तै, दुईवटा बैंकमा तीन लाख ८० हजार बचत छ ।
यस्तै श्रीमतीको नाममा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीमा १४ हजार ६ सय रुपैयाँको १ सय ४६ कित्ता सेयर छ । कर्मचारी सञ्चयकोष कट्टी हुँदा आएको रकमबाट सेयर किनेको उल्लेख छ ।
महासेठ सर्वाधिक धनी मन्त्री ४० करोडको सेयर, डेढ सय बिघा जमिन
सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । उनले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको विवरण सरकारलाई बुझाएका छन् । ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गामा साढे २ तलाको घर तथा धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ । ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा जग्गा छ ।
सगोलमा धनुषाको दिगम्बरपुरमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ । श्रीमतीकै नाममा धनुषाको जनकपुरमा साढे २ तलाको पक्की घर छ । उनले २६ तोला सुन पैतृक र २५ तोला सुन दाइजोबाट प्राप्त भएको देखाएका छन् । उनीसँग साढे एक केजी चाँदी छ र अन्य विभिन्न महँगा गहना रहेको खुलाएका छन् । श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी गरेका हुन् । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् । बैंकबाट लिएको २३ करोड ऋणसमेत देखाएका छन् ।
मातृका यादवसँग पनि राजधानीमा करोडको जग्गा, १६ तोला सुन
उद्योगमन्त्री मातृका यादवले ललितपुरको चापागाउँमा एक करोड ५ लाखमा घडेरी खरिद गरेका छन् । त्यस्तै मन्त्री यादवले ०७४ मा मात्र १६ तोला सुन प्राप्त भएको उल्लेख गरेका छन् । विवाह र मुख देखाइमा माइती र आफन्तबाट उपहारका रूपमा उक्त सुन प्राप्त भएको उल्लेख गरेका छन् । यस्तै विभिन्न बैंकको खातामा उनीसँग ५ लाख ५२ हजार नगद छ । यसबाहेक उनकी श्रीमतीको नाममा बा।१४प ७३० नम्बरको गाडी छ । तर, गाडीको मोडल खुलाएका छैनन् ।
उनीसँग सिरहा र धनुषामा पनि जग्गा छ । उनले उक्त जमिनमध्ये केही पैतृक भएको र बाँकी स्वआर्जन तथा ऋण लिएर खरिद गरेको दाबी गरेका छन् । तर, शान्तिप्रक्रियामा आएसँगै माओवादीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यादवसँग नगद थिएन । उनले करिब २ लाखबराबरको घरघडेरी भएको उल्लेख गरेका थिए । करिब ३ लाखबराबरको सुन र चाँदी भएको उल्लेख गरेका थिए । उनी त्यसपछि ०६५ मा गठित माओवादीको नौमहिने सरकारमा वनमन्त्री भए । त्यसयता भर्खर मात्र लाभको पदमा छन् । तर, उनी करोडौँ सम्पत्तिका मालिक भएका छन् ।
सुनमा धनी १० मन्त्री
पर्यटनमन्त्री रवीन्द्र अधिकारी ६० तोला
भौतिक योजनामन्त्री रघुवीर महासेठ ५२ तोला
खेलकुदमन्त्री जगतबहादुर सुनार ५० तोला
कानुनमन्त्री शेरबहादुर तामाङ ३० तोला
प्रधानमन्त्री केपी ओली १८ तोला
उद्योगमन्त्री मातृका यादव १६ तोला
ऊर्जामन्त्री वर्षमान पुन १५ तोला
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल १५ तोला
अर्थमन्त्री युवराज खतिवडा १० तोला
रक्षामन्त्री ईश्वर पोखरेल ८ तोला
डा युवराज खतिवडा, अर्थमन्त्री
घरजग्गा पक्की घर, बिघौँ जग्गा
धनी मन्त्रीको सूचीमा रहेका अर्थमन्त्री खतिवडाको काठमाडौं–४ मा ५ आनामा बनेको घर छ । उनकी श्रीमतीको नाममा सोही स्थानमा १४ आनामा ठडिएको अर्को घर छ । दुइ पक्की घरऽ राष्ट्र बैंकबाट सापटी लिएर र अर्को घर संयुक्त राष्ट्रसंघमा जागिरे हुँदा कमाएको पैसाले किनेको उल्लेख गरेका छन् ।
खतिवडा र उनकी श्रीमतीको नाममा भक्तपुरमा २४ आना, झापामा ४ बिघा १८ कट्ठा, काठमाडौं कागेश्वरीमा ४ रोपनी १ आना २ पैसा र दोलखा सयौँ रोपनी जग्गा छ । यो जग्गा १ करोड ४९ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।
गहना स् १० तोला सुन, १ किलो चाँदी
०३० यता १० तोला सुनका गरगहना जोडेका छन् । चाँदीका गहना १ किलो छन् ।
नगद र सेयर बैंक र सहकारीमा करोडौँ
नबिल र सानिमा बैंकको खातामा गरी ६२ हजार सात सय ३ अमेरिकी डलर नगद राखेका छन् । यस्तै, विभिन्न बैंकमा ९० लाख छ । दुईवटा सहकारीमा ५ हजार ५० कित्ता सेयर ५ लाख ५ हजार रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।
वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
घरजग्गा ३५ वर्ष पुराना कच्ची घर, २ लाखको जग्गा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पामा ३५ वर्ष पुरानो ३ वटा घर रहेको उल्लेख गरेका छन् । यस्तै दाङ र रोल्पामा करिब २ लाख रुपैयाँ मूल्यबराबरको जग्गा देखाएका छन् । यो सबै पुख्र्यौली भएको जनाएका छन् ।
गहना १५ तोला सुन, आधा किलो चाँदी
पुनले १५ तोला सुन र आधा केजी चाँदी रहेको उल्लेख गरेका छन् । उनले ०६८र६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा पेस गरेको सम्पत्ति विवरणमा पनि यही विवरण उल्लेख थियो । तर, शान्तिप्रक्रियासँगै माओवादीले आफ्ना ३५ केन्द्रीय सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्दा वर्षमानले श्रीमती ओनसरी घर्ती र दुई बहिनीको गरगहनासमेत पार्टीमा बुझाएको उल्लेख गरेका थिए । तर, त्यसपछि सरकारमा सहभागी हुँदा भने १५ तोला सुन र आधा केजी चाँदी मात्रै रहेको दाबी गर्दै आएका छन् ।
नगद र सेयर नगद ११ लाख, सेयर छैन
सिंहदरबारस्थित एभरेष्ट बैंकमा आफ्नो र श्रीमतीको नाममा ३ लाख ३४ हजार र अन्यन्त्र थप ८ लाख नगद रहेको सम्पत्ति विवरणमा देखाएका छन् ।
चक्रपाणि खनाल ‘बलदेव’, कृषि विकासमन्त्री
घरजग्गा साढे २८ कट्ठा जग्गा
कृषि विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तु र रूपन्देहीमा आफ्नो र श्रीमतीको नाममा साढे २८ कट्ठा पैतृक जग्गा रहेको उल्लेख गरेका छन् । शान्तिप्रक्रियालगत्तै माओवादीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा बुटवल र रुपन्देहीमा जम्मा १६ धुर जग्गा रहेको र त्यसको तत्कालीन मूल्य करिब ५ लाख भएको उल्लेख गरेका थिए ।
गहना ६ तोला सुन
उनीसँग ६ तोला सुन छ, तर त्यसको आयस्रोत खुलाइएको छैन । शान्तिप्रक्रियालगत्तै पार्टीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा श्रीमतीको कानमा करिब १२ सय मूल्यबराबरको टप मात्र रहेको उल्लेख गरेका थिए ।
नगद र सेयर स् बैंकमा १५ लाख, सेयरमा १० लाख
विभिन्न बैंकमा गरी १४ लाख ९६ हजार नगद छ । उनले उक्त नगदको स्रोत जग्गा बिक्री र श्रीमतीको व्यवसायबाट प्राप्त मुनाफा भएको उल्लेख गरेका छन् । यस्तै उनीसँग विभिन्न बैंकमा १० लाख ३६ हजार बराबरको सेयर छ । यसका अतिरिक्त मन्त्री खनालले श्रीमतीको नाममा १ लाख ६४ हजारमा खरिद गरेको एउटा स्कुटी छ ।
गोकर्ण विष्ट, श्रम तथा रोजगारमन्त्री
घरजग्गा काठमाडौंमा घडेरी, गुल्मीमा ४० रोपनी जग्गा
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसँग श्रीमतीको नाममा काठमाडौं महानगरपालिका–२६ मा ४० लाखबराबरको घडेरी छ । उक्त घडेरी १५ वर्षे ऋणमा लिइएको उनले दाबी गरेका छन् । यस्तै गुल्मीमा करिब ४० रोपनी पैतृक जग्गा रहेको उल्लेख गरेका छन् ।
गहना ७ तोला सुन
मन्त्री विष्टले करिब ७ तोला सुनका गहना रहेको विवरण बुझाएका छन् ।
नगद र सेयर बचत ७ लाख र ३१४ कित्ता सेयर, ऋण ७३ लाख
विभिन्न बैंकमा ७ लाख ३२ हजार रुपैयाँ बचत छ । नेपाल कृषि विकास बैंक र मेगा बैंकमा ३ सय १४ कित्ता सेयर छ । उनले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएको उल्लेख गरेका छन् । त्यसमध्ये ०६३ मा सिद्धार्थ बैंकबाट होमलोनको रूपमा ३६ लाख ऋण लिएको खुलाएका छन् ।
गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
घरजग्गा पुख्र्यौली जग्गा प्रतिष्ठानलाई दान
मन्त्री पोखरेलले खोटाङमा २२ रोपनी पुख्र्यौली जग्गा देखाएका छन् । तर, यो पनि एउटा प्रतिष्ठानलाई दान दिएको बताएका छन् ।
नगद र सेयर बैंकमा झन्डै ४ लाख
मन्त्री पोखरेलले विभिन्न बैंकमा गरी ३ लाख ८० हजार रुपैयाँ बचत रहेको देखाएका छन् । उक्त रकम सांसद, मन्त्री रहँदाको पारिश्रमिकबाट बचेको उल्लेख गरेका छन् । यस्तै, खोटाङस्थित रूपाकोट सामुदायिक रेडियोमा ५ हजार सेयर लगानी छ । मन्त्री पोखरेलले यसबाहेक कुनै सम्पत्ति नभएको उल्लेख गरेका छन् ।
पोखरेल अहिलेसमेत पाँचपटक मन्त्री भइसकेका छन् । सरकारमा रहँदा स्वास्थ्य या शिक्षा मन्त्रालय हाँक्दै आएका छन् । पाँचपटक मन्त्री हुँदा पनि उनले पेस गरेको सम्पत्ति विवरण सधैँ समान नै छ ।
ईश्वर पोखरेल, रक्षामन्त्री
घरजग्गा ३ तले घर, ठाउँ–ठाउँमा जग्गा
मन्त्री पोखरेलको टोखा नगरपालिका–६ मा २३ आना जग्गामा बनेको ३ तले घर छ । यस्तै झापाको चन्द्रगढीमा १२ कट्ठा पैतृक जग्गा छ । श्रीमती मीरा पोखरेलको नाममा भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा छ । उक्त जग्गा श्रीमतीको माइतीले पेवाको रूपमा दिएको उल्लेख छ । यस्तै, श्रीमती मीराकै नाममा धादिङको खानीखोलामा ४ रोपनी पाखो जग्गा लिएका छन् ।
गहना स् ९ तोला सुन, २५ तोला चाँदी
पोखरेलले आफूसँग ९ तोला सुन र २५ तोला चाँदी रहेको जनाएका छन् । ती गरगहना परिवारबाट उपहार प्राप्त र परिश्रमबाट खरिद गरेको उल्लेख गरेका छन् ।
नगद र सेयर बचत पनि, ऋण पनि
मन्त्री पोखरेल र उनको श्रीमतीको नाममा विभिन्न बैंकमा १३ लाख ४० हजार बचत छ । यस्तै उनीसँग बरुण हाइड्रोमा १० हजार कित्ता सेयर छ । यस्तै मोडर्न कन्या क्याम्पसमा ५ हजार र कृषि विकास बैंकमा २ सय सेयर देखाएका छन् । उनले माछापुच्छ«े बैंकमा ३० लाख ऋण रहेको दाबी पनि गरेका छन् । मासिक किस्ता तिर्ने गरी ऋण रहेको र उक्त पैसा घर बनाउने क्रममा लिएको उल्लेख गरेका छन् ।
जगतबहादुर सुनार, खेलकुद तथा युवामन्त्री
घरजग्गा स् पोखरामा ३ रोपनी जग्गा
मन्त्री जगतबहादुर सुनारले पोखरा–लेखनाथ महानगरपालिकामा करिब ३ रोपनी जग्गा रहेको विवरण बुझाएका छन् ।
गहना ५० तोला सुन
उनीसँग ५० तोला सुन छ । त्यो सुन केही पैतृक र केही श्रीमतीलाई उपहारका रूपमा प्राप्त भएको उल्लेख छ ।
नगद र सेयर २५ लाख बचत, कृषि बैंकमा ४ हजार कित्ता सेयर
उनीसँग नबिल बैंकमा २० लाख नगद छ । उनले एक साथीलाई ५ लाख ऋण दिएको पनि खुलाएका छन् । कृषि विकास बैंकमा ४ हजार कित्ता सेयर रहेको पनि विवरणमा छ ।
पद्माकुमारी अर्याल, स्वास्थ्य राज्यमन्त्री
घरजग्गा लाखौँ मूल्यका घडेरी
मन्त्री अर्यालसँग स्याङ्जाको वालिङ नगरपालिकामा १२ आना जग्गा छ । यस्तै काठमाडौं, बर्दिया, रूपन्देहीमा ७२ लाखमा खरिद गरेको ७ वटा घडेरी छन् । उनले ती जग्गा व्यापारबाट प्राप्त मुनाफाबाट खरिद गरेको बताएकी छिन् ।
गहना स् १५ तोला सुन, २० तोला चाँदी
अर्यालले १५ तोला सुन र २० तोला चाँदी भएको विवरण बुझाएकी छिन् ।
नगद र सेयर बैंक र सहकारीमा लाखौंँ बचत तथा सेयर
विभिन्न बैंकमा करिब १० लाख ५० हजार रुपैयाँ बचत रहेको देखाए पनि स्रोत खुलाएकी छैनन् । उनले विभिन्न सहकारीमा ७५ हजार रुपैयाँ र जनता बैंकमा एक लाख सेयर लगानी गरेकी छिन् । यस्तै मेगा बैंकमा ९३० कित्ता सेयर छ । एक बैकबाट ८ लाख ऋण लिएको र त्यसमध्ये ३ लाख तिरिसकेको उल्लेख गरेकी छिन् । यस्तै लक्ष्मीपति पौडेलको नाममा १ लाख ९९ हजारमा किनेको एउटा मोटरसाइकल पनि विवरणमा उल्लेख गरेकी छिन् ।
प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री
घरजग्गा काठमाडौंमा दुईतले घर
मन्त्री ज्ञवालीले काठमाडौं महानगरपालिका– ३१ मा ४ आनामा बनेको २ तले पक्की घर देखाएका छन् ।
गहना २ तोला सुन
श्रीमतीको गहनाको रूपमा २ तोला सुन छ ।
नगद र सेयर ऋण धेरै
एभरेष्ट बैंकमा २ लाख ७५ हजार नगद छ । उक्त पैसा पारिश्रमिक र पुस्तकको रोयल्टीबाट प्राप्त भएको दाबी गरेका छन् । तर, उनले घरको कोठा थप्ने प्रयोजनका लागि विभिन्न व्यक्तिसँग १४ लाख ८५ हजार ऋण लिएको उल्लेख गरेका छन् ।
शेरबहादुर तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री
घरजग्गा काठमाडौंमा घर र घडेरी
मन्त्री तामाङको काठमाडौंको गोकर्णेश्वर–८ मा ३ आनामा बनेको अढाइतले घर छ । यस्तै उनीसँग सिन्धुपाल्चोक र काठमाडौंमा १८ रोपनी जग्गा छ । यस्तै काठमाडौमा थप ६ आनाको घडेरी छ । श्रीमतीको नाममा मोरङमा १ बिघा ३१ कट्ठा र खोटाङमा १०५ रोपनी जग्गा छ ।
गहना ३० तोला सुन
उनले ३० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
नगद र सेयर १५ लाखको सेयर
१५ लाखको सेयर र १ लाख २८ हजार नगद देखाएका छन् । तर, उनले विभिन्न प्रयोजनका लागि ७० लाख ऋण लिएको उल्लेख गरेका छन् ।
शक्ति बस्नेत, वन तथा वातावरणमन्त्री
घरजग्गा छोरीको नाममा घरजग्गा
मन्त्री बस्नेतसँग जाजरकोटमा एउटा पुख्र्यौली घर छ । छोरीको नाममा जाजरकोटमै ३ रोपनी ६ आना जग्गा छ । शान्तिप्रक्रियापछि पार्टीमा बुझाएको विवरणमा एक लाख पर्ने दुई रोपनी खेत देखाएका थिए ।
गहना ५ तोला सुन, १० केजी चाँदी
बस्नेतसँग ५ तोला सुन र १० केजी चाँदी छ । सुन र चाँदी पारिश्रमिक र पैतृक सम्पत्तिबाट जोडेको दाबी गरेका छन् । शान्तिप्रक्रियापछि उनले आफूसँग ५ हजार मूल्यबराबरको सुन मात्रै रहेको विवरण देखाएका थिए ।
नगद र सेयर २० लाख
उनीसँग १५ लाख रुपैयाँ नगद छ । एभरेष्ट बैंकमा थप २ लाख रुपैयाँ नगद बचत छ । यस्तै, दुईवटा सहकारी संस्थामा ३ लाख १० हजारको सेयर छ । तर, शान्तिप्रक्रियालगत्तै माओवादीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको सम्पत्ति विवरणमा बस्नेतले आफूसँग नगद नभएको उल्लेख गरेका थिए । त्यसयता उनी तीनपटक मन्त्री भएका छन् ।
रवीन्द अधिकारी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
घरजग्गा काठमाडौं र पोखरामा पक्की घर
मन्त्री अधिकारीसँग पोखरामा ९।५ रोपनी क्षेत्रफलमा दुईवटा पुख्र्यौली घर छन् । यस्तै काठमाडौंको बूढानीलकण्ठमा ५ आनामा बनेको घर छ । यस्तै, पोखरा–लेखनाथमै थप ९४ रोपनी ४ आना जग्गा छ । यो सबै सम्पत्ति सगोलमा भएको उनले उल्लेख गरेका छन् ।
गहना ६० तोला सुन, ३० केजी
मन्त्री अधिकारीले ६० तोला सुन र ३० केजी चाँदी रहेको विवरण बुझाएका छन् ।
नगद र सेयर स् २७ लाख बैंकमा, ३० लाख सेयरमा
दुईवटा बैंकमा गरी २५ लाख ५७ हजार रुपैयाँ बचत छ । उक्त पैसा जग्गा बिक्री र पारिश्रमिकबाट प्राप्त भएको उल्लेख छ । यस्तै गण्डकी विकास बैंकमा २६ हजार र पानीखोला हाइड्रोपावरमा ३० लाखबराबरको सेयर छ ।
थममाया थापा, महिला, बालबालिकामन्त्री
थममाया थापाले बुझाएको सम्पत्ति विवरणअनुसार उनी गरिब मन्त्रीमा पर्छिन् । थापासँग म्याग्दीको बेनी–८ मा ७ आनामा बनेको घर छ । उनीसँग आमाले दिएको १ तोला सुन पनि छ । यस्तै माछापुछ्रे, एभरेष्ट र कुमारी बैंकमा गरेर जम्मा १५ हजार रुपैयाँ नगद छ ।
विना मगर, खानेपानीमन्त्री
विना मगरले आफ्नो नाममा केही पनि सम्पत्ति नभएको उल्लेख गरेकी छिन् । तर, श्रीमान् प्रकाश दाहाल र सासू सीता दाहालका नाममा भरतपुर वडा नं। १४ र १२ मा ३ कट्ठा जमिन छ । उक्त जमिनमध्ये २ कट्ठा मावलीको हजुरआमाबाट प्राप्त भएको र एक कट्ठा पैतृक रहेको उल्लेख गरेकी छिन् ।
उनले ५ तोला सुन र १६ तोला चाँदी देखाएकी छिन् । उक्त गरगहना पैतृक भएको जनाएकी छिन् । यस्तै उनले प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटी पनि खुलाएकी छिन् ।
सम्पत्ति विवरणका रमाइला पक्ष
– ऊर्जामन्त्री वर्षमान पुन ०६३ को अन्तरिम सरकारमा शान्तिमन्त्री थिए । त्यसयता उनी दुईपटक सांसद भए । ०६८ मा गठन भएको बाबुराम भट्टराई नेतृत्व सरकारमा अर्थमन्त्री भए । उनकी श्रीमती ओनसरी घर्ती तीनपटक सांसद भइन् । त्यसमध्ये अघिल्लो संसद्को सभामुख पनि थिइन् । पुन अहिले उर्जा मन्त्री छन् । तर उनले २०६३ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा कुनै फेरबदल भएको देखिदैन । बैंक खातामा हरेक पटक ३ लाखको आसपासमा मात्र बचत देखिन्छ ।
मन्त्री महासेठ वर्तमान सरकारमा सबैभन्दा धनी मन्त्री देखिएका छन् । उनले २०५४ सालदेखि २०५७ सालभित्र अर्बौको जग्गा खरिद गरेको देखिन्छ । तर त्यसको स्रोत खुलाइएको छैन ।
अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकको कर्मचारी हुँदा सोही बैंकबाट सापटी लिएर ५ आनामा घर बनाए । यस्तै उनीसँग नबिल र सानिमा बैंकमा ६२ हजार ७०३ अमेरिकी डलर नगद छ । वर्तमान सरकारमा उनीमात्र डलर बचतकर्ता मन्त्री हुन् ।
– २०६३ मा पार्टी मार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा कृषि विकास मन्त्री चक्रपाणि खनालसँग एक रुपैँया पनि बचत थिए । बुटवल र रुपन्देहीमा जम्मा १६ धुर जग्गा थियो । गहनाको रुपमा जम्मा दुइ वटा टप थिए । तर अहिले साँढे अठ्ठाइस कट्ठा जग्गा छ । ६ तोला सुन छ । विभिन्न बैंकमा १४ लाख ९६ हजार नगद छ । १० लाख ३६ हजारको शेयर छ ।
– शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पाँचौ पटक सरकारमा छन् । तर पहिलो पटक मन्त्री भएदेखि अहिलेसम्म एउटै सम्पत्ति विवरण पेश गरिरहेका छन् ।
भुमीगत र जेलमा धेरै समय विताएका केपीशर्मा ओली मन्त्रीको रुपमा सरकारमा जम्मा दुई पटक मन्त्री भए । त्यसपछि उनीसँग भत्तपुरको सुर्यविनायकमा डेढ रोपनी जग्गामा ३ तले दुइवठा छ । झापाको पृथ्वीनगरमा १० कट्ठा जमीन छ । यो सबै स्वआर्जनबाट भएको उल्लेख छ । पहिलो पटक मन्त्री हुनुअघि उनीसँग २१ लाख बचत थियो । दोस्रो पटक प्रधानमन्त्री हुँदा उनको खातामा ४१ लाख नगद र ४ तोला सुन थपिएको छ । पदमा रहँदाको पारिश्रमिकलाई हिसाब गर्दा उनले जोडेको सम्पत्ति अस्वभाविक देखिन्छ ।
साइकल चढ्ने मन्त्रीको रुपमा चिनिएका लालबाबु पण्डितसँग ४५ लाख नगद छ । दोस्रो पटक मन्त्री हुँदा उनको नाममा ६ लाख थपिएको छ । तर भर्खरै सम्पन्न भएको निर्वाचनका क्रममा उनले पानी खाने पैसा समेत नभएको भन्दै चन्दा मागेका थिए । उनले उक्त ५० लाख रुपैँया ब्याजमा लगाएको उल्लेख गरेका छन् । यस्तै उनले २०७२ सालमा पेश गरेको सम्पत्ति विवरणमा देखाएको सर्लाहीकै धनगढा ६ को १२ गट्ठा जग्गा अहिलेको सम्पत्ति विवरणमा देखाएनन् ।
शान्ति प्रकृयामा आउँदा मातृका यादवसँग नगद थिएन । करिब २ लाखको पुर्खौली जग्गा थियो । ३ लाख बराबरको सुन र चाँदी थियो । त्यस बाहेक कुनै सम्पत्ति थिएन । यो वीचमा उनी एक पटकमात्र नौ महिने सरकारमा मन्त्री भए । अहिले उनीसँग चापागाउँमा मात्र एक करोडमा घडेरी छ । १६ तोला सुन, ५ लाख बचत र एउटा गाडी छ । थप ५० लाख बराबरको तराइमा घडेरी छ ।
– शान्ति प्रकृया लगत्तै माओवादीले सम्पति सार्वजनिक गर्दा बस्नेतसँग नगद थिएन । करिब एक लाख पर्ने दुइ रोपनी खेत र करिब ५ हजारको सुनमात्र थियो । यस वीचमा उनी एक पटक प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, तीन पटक सांसद र तीन पटक मन्त्री भए । अहिले उनीसँग १७ लाख नगद, ३ लाख १० हजारको शेयर, ५ तोला सुन र १० केजी चाँदी छ ।
– शान्ति प्रकृयामा आउँदा बादलसँग एक रुपैँया पनि नगद थिएन । चितवनमा २ कठ्ठाको घडेरी थियो । साँढे १ तोला सुन थियो । त्यसयता उनी एक पटकमात्र नौ महिना रक्षा मन्त्री भए । अन्तरविरोधपछि पार्टी फुटाएर आन्दोलनमा होमिए । र पनि उनीसँग १४ हजार ६ सय रुपैयाँको शेयर, चितवनमा घर, ६ तोला सुन र ६ लाख ८० हजार नगद छ । थप दुइ वटा कुकुर पनि छ ।










