डोल्पामा पहिलो पटक पाठेघरको निशुल्क अप्रेसन शिविर,एघार महिलाको भयो अप्रेसन,दुईसय भन्दा धेरै महिलाले गरे चेकजाँच

दुनै(डोल्पा) १७ बैशाख
दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलो पटक पाठेघरको निशुल्क शल्याक्रिया शिविर सम्पन्न भएको छ ।

लगातार तीन दिनसम्म चलेको शल्याक्रिया शिविरमा ११ जना पाठेघर पिडीत महिलाहरुले निशुल्क शल्याक्रिया गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

पुर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहनुभएकी सत्य पहाडीको बिशेष पहलमा डोल्पा पुगेको बिशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबार देखि पाठेघर खसेका महिलाहरुको शल्याक्रिया सुरु गरेको थियो ।

त्यस्तै बिशेषज्ञ डाक्टर आएको मौका छोपेर मासु पलाएका,पिपहरु जमेका,काटिएका लगाएतका ८ वटा अन्य जनरल शल्याक्रिया समेत गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर अनुप मंगल समालले जानकारी दिनुभयो ।

उहाँका अनुसार “दुईसय भन्दा धेरै पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्याहरु भोगीरहेका महिलाहरुले शिविरमा चेकजाँच गराएका थिए,डोल्पामा यसरी शल्याक्रिया गरिनु डोल्पाली महिलाहरुकालागि ठुलो अवसर हो” उहाँले भन्नुभयो ।

“एक महिलाको पाठेघरको शल्याक्रिया गर्न मात्रै पैँतिस देखि चालिस हजारसम्म लाग्छ,डोल्पाबाटै जिल्ला बाहिर जान जहाज भाडाँ देखि,होटेल खर्च सहित एकलाख धेरै खर्चपर्च जुटाउनु परथ्र्यो,जिल्लामै पहिलो पटक शल्याक्रिया भएपछि डोल्पाली महिलाहरुको लाखौँ रुपैँया जोगिएको छ,यस्तो अवसर कमैमात्रामा पाईन्छ” डाक्टर समालले भन्नुभयो ।

शिविर संञ्चालन भएको तीन दिनको अवधिमा मात्रै तीनसय धेरै सर्वसाधारणहरुले स्वास्थ्य चेकजाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

जिल्लामै पहिलो पटक सदरमुकाममै पाठेघरको निशुल्क शल्याक्रिया शिविर सुरु भएपछि जिल्लाका त्रिपुराकोट,सुँ,जिँउ,जुफाल,माझफाल,दुनै लगाएतका बिकट बस्तीहरुबाट दुईसय भन्दा धेरै पिडित महिलाहरु उपचारगर्न सदरमुकाम दुनै स्थित जिल्ला अस्पतालमा पुगेका थिए ।

शल्याक्रिया गर्नुपर्ने र हुनसक्ने एउटा महिला पनि नछुटेको अस्पतालले जनाएको छ ।
एक सत्तरी बर्षिया पाठेघर पिडित महिलाको भने शल्याक्रिया हुन नसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

पाको उमेरका कारण शल्याक्रियाको भार थाम्न नसक्ने भएकाले शल्याक्रिया नगरिएको अस्पतालको भनाई छ ।

“पाँच बर्ष देखि पाठेघर खस्ने समस्याले ग्रसित थिए,लाजमान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिए न पटक–पटक गाँउघरमै पुग्ने स्वास्थ्यकर्मीलाई,यस्तो समस्याले ग्रसित पार्दै गएपछि थला परिसकेको थिए,यस पटक डोल्पामै स्वास्य निशुल्क स्वास्थ्य शिविर संञ्चालन भएपछि शल्याक्रिया भएको छ”त्रिपुरा सुन्दरी नगरपालिका १ रल्ली बस्ने रुप्सी कुलालले भन्नुभयो ।

“शल्याक्रिया पछि स्वास्थ्य हलुङ्गो महशुस भएको छ,पाठघर खस्ने समस्याले सार्वजानिक भेलाहरुमा जान समेत समस्या हुन्थ्यो अहिले सहज छ” उहाँले भन्नुभयो ।
उहाँले पुर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको डाक्टरहरुको टोलीलाई समेत धन्यबाद दिनुभयो ।

त्यस्तै जिल्लामै पाठेघरको शल्याक्रिया भएपछि लामो समय देखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका ४ की मनभुजा धरला पनि खुशीले भावुक हुनुभएको छ ।

उहाँको पनि आईतबार पाठेघरको शल्याक्रिया भएको थियो ।शल्याक्रिया पछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।

अर्की रुपधनी सार्की पनि पाठेघरको उपचारकोलागि त्रिपुरा सुन्दरी नगरपालिका १ बाट चार घण्टाको पैदल हिँडेर दुनै पुगेकी थिईन् ।लामो समय देखि पाठेघर खस्ने समस्याले ग्रसित उनको स्त्री रोग बिशेषज्ञ राज बहादुर शाही सहितको बिशेषज्ञ टोलीले आईतबार उपचार गरिएको थियो ।

जिल्ला अस्पतालमै आयोजना भएको निशुल्क शल्याक्रिया शिविरमा पाठेघर पिडीत सयौँ महिलाहरु गाँउ गाँउबाट आएपनि उनीहरुको समस्या हेरेर शल्याक्रिया गर्नैपर्ने महिलाहरुको नछुटाई निशुल्क शल्याक्रिया सेवा प्रदान गरिएको डाक्टर अनुप मंगल समालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हामिले शिविरको अवधि दुई दिन भएपनि उनीहरुको सङ्ख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याईएको हो ।

“घरआगनमै निशुल्क शल्याक्रिया हुनेभएपछि महिलाहरुको ओईरो लागेको थियो,उनीहरुको समस्या हेरेर उपचार गरिएको छ” ।

“डोल्पाली महिलाहरु धेरै पाठेघर खस्ने समस्याले ग्रसित छन,उनीहरुको सानै उमेरमा बिहे गर्ने र धेरै बच्चा जन्माउनुलाई प्रमुख कारण मानिन्छ”

दुर्गमको संस्कार घर देखि बनको सबै काममा महिलानै जोतिनुपर्छ भन्ने पुरुषबादी सोचका कारण पनि डोल्पामा पाठेघर खस्ने रोगकाकारण महिलाहरु धेरै पिडित भएकाछन् जिल्ला अस्पताल डोल्पाका डाक्टर श्रीकान्त अग्रवालले जानकारी दिनुभयो ।

बिशेषज्ञ डाक्टर सहित औषधि उपकरण बोकेर डोल्पा पुग्नु भएकी पुर्व शान्ति मन्त्री पहाडीले डोल्पा अस्पताललाई पन्ध्र शैयाबाट बडाएर पचास शैया बनाउकालागि पहल भईरहेका बताउनुभयो ।
आफु कर्णलीका धेरै जिल्लाका अस्पतालहरुमा घुमिसकेकाले डोल्पा अस्पतालको सेवा राम्रो भएको उहाँको भनाई छ ।
अस्पतालका बर्तमान समस्याहरु समाधानगर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफुलागि परेको बताउनुभयो ।
डोल्पामै पहिलो शल्याक्रिया शिविर संञ्चालनकालागि बिशेष पहल गरेकाले पहाडी प्रति डोल्पाली महिलाहरुले हार्दिक आभार प्रकट गरेका थिए ।
जिल्लाका महिलाहरुलाइ कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!