११ बर्ष देखि स्वास्थ्यकर्मी सम्पर्क विहिन

जाजरकोट , विना जानकारी ९० दिन सम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः चट हुने कानुनी प्रावधान छ तर ११ बर्ष सम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक जना स्वास्थ्यकर्मीको जागिर कायमै छ ।
अस्पतालमा कार्यरत छैटौं तहका स्वास्थ्य सहायक धनिकलाल यादव २०६४ साल देखि सम्पर्क विहिन छन् । उनी काँहा छन् के गरिरहेका छन् । अस्पताललाई कुनै जानकारी छैन तर उनी कार्यरत दरबन्दी उनकै नाममा होल्ड भएर बसेको छ ।
स्वास्थ्य सेवा ऐन र नियमावली अनुसार ९० दिन सम्म विना सुचना कार्यालयमा अनपस्थित भए विभागिय प्रमुखले स्वतः अवकास गर्न सकिने कानुनी प्रावधान छ । अस्पताल प्रशासनले उनलाई कारवाहीको लागी सम्बन्धित निकायमा पटक पटक लिखित पत्राचार गरेपनि सुनुवाई नभएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख दशरथ लामिछानेका अनुसार यादवले पाउने सवै विदा सकिईसकेका छन् । यस अवधिमा उनले कार्यालयबाट तलब समेत लिएका छैनन् । स्रोतका अनुसार मेडिकल अधिकृतको अध्ययन पुरा गरिसकेका यादवले सर्लाहीको लहानमा निजी क्लिनिक संचालन गरेर बसिरहेका छन् । नियमित हाँजिर भएर पाउने सुविधा भन्दा निजी क्लिनिकमा धेरै पैसा कमाई हुुने त छँदैछ पहुँचको भरमा यसरी नै जागिर जोगाउन सकिए पेन्सन लगायतका सुविधा उपयोग गर्न पनि उनले जागिर होल्ड गरेर बसेका छन् । हाजिर हुन आउने बारे उनको घर ठेगानामा पत्रचार गरिएको, सञ्चार माध्यामबाट सार्वजनिक सुचना गरि समेत गरिसकिएको छ तर कारवाही हुन सकेन अस्पतालका प्रशासन प्रमुख लामिछानेले भने ‘लामो समय विना सुचना अनुपस्थित हुने स्वास्थ्य सहायक यादवलाई अवकाश गर्न सक्ने अधिकार स्वास्थ्य सेवा विभागलाई छ तर कानुनी झमेलाका कारण बरखास्त नहुँदा उनको पद लामो समय देखि होल्ड भएर बसेको छ । उनको कारवाही नुहँदा सम्म अर्को पदपुर्ती समेत हुन सक्दैन । जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ ।’
अस्पताल प्रमुख डा. केशरजंग कार्कीले लामो समय देखि अस्पतालमा कार्यरत स्वास्थ्य सहायक सम्पर्क विहिन हुँदा उपचार सेवा प्रभावित भएको बताए । दरबन्दी होल्ड छ । यादवलाई कारवाही गरी पदपुर्ती गर्न बारम्बार विभागमा ताकेता गर्दा पनि सुनुवाई नभएको उनले गुनासो गरे ।










