कृषि वस्तुको बजार व्यवस्थापनको ग्यारेन्टी सरकारले गर्छः मुख्यमन्त्री शाही

सुर्खेत , कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेशका किसानले गरेको कृषिजन्य बस्तुको उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले ग्यारेण्टी गर्ने वताएका छन्।
शुक्रबार कर्णाली प्रदेशको कृषि मन्त्रालयको सभाहलमो क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्बौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता गर्न नपर्ने बताए। ‘दुनियाँले मरुभूमि र समुद्रमा समेत कृषि उत्पादनकोे विकास गरेका छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छ, हामीले किन बाहिरवाट आयात गरेर खानेरु’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना बोकेको प्रदेश भएको बताउँदै मुख्यमन्त्री शाहीले फलफूल, पशुपालन, तरकारी र अन्नबालीको व्यवसायीक खेतीमा लाग्न किसानलाई आग्रह गरे। अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको वताउँदै व्यवसायीक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने शाहीको धारणा छ। मुख्यमन्त्री शाहीले व्यवसायिक कृषि उत्पादनको विकास तथा वजारीकरणका लागि आवश्यक वातावरण वनाउन प्रदेश सरकारले पहल गर्ने बताए।
सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्रान्डीङ्ग’ गरिने बताए। कृषि उत्पादनलाई पर्यटनसँग जोडनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा हाम्रो कृषि उत्पादन लिने गरी वातावरण बनाउन जरुरी छ।’ प्रदेशमा आएका पर्यटकले सेल्फी खिचेर फर्किने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको शाहीको भनाई छ। पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको छ। उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ।










