कर्णाली सरकारको नीति तथा कार्यक्रमस् श्रम स्कुलदेखि झिलिमिली प्रदेशसम्म

सुर्खेतः भौतिक पूर्वाधार, सडक, पर्यटन र जलविद्युत्लाई प्राथमिकतामा राखेर कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभामा सरकारी कार्यक्रम प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षको बाँकी अवधिका लागि ल्याइएको भए पनि यसमा अल्पकालीन र दीर्घकालीन कार्यक्रम समेटिएका छन् । एक सय ४६ बुँदे नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । कर्णालीको समग्र विकास र समृद्धिको गुरुयोजना बनाउने, अर्गानिक प्रदेश निर्माण गर्ने, एक सय १० सर्वसाधारणसँग मुख्यमन्त्रीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रम अगाडि बढाइने कार्यक्रममा उल्लेख छ । त्यस्तै, कर्र्णाली प्रदेशको प्रमुख आधार पर्यटनलाई मानेर गुरुयोजना तयार गर्ने, जनमैत्री शासन व्यवस्था, शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचाररहित प्रदेश बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्थानीय तहसम्म सडक
प्रदेशका सबै जिल्ला र स्थानीय तहमा सडक सञ्जाल पुयाइने ।
पाँच वर्षमा झिलिमिली
प्रदेशलाई पाँच वर्षभित्र झिलिमिली बनाउन उज्यालो कर्णाली अभियान सञ्चालन गरिने ।
प्राविधिक शिक्षामा जोड
कर्णाली सरकारले प्राविधिक शिक्षामा जोड दिने ।
अर्गानिक प्रदेश बनाइने
पूर्ण अर्गानिक प्रदेश बनाउने, त्यसका लागि कृषिविज्ञको अर्गानिक कृषि उत्पादन परिषद् बनाइने ।
स्थानीय तहमा एम्बुलेन्स
सबै जिल्लाका सदरमुकाममा ५० शैय्याको अस्पताल, सुर्खेतस्थित
क्षेत्रीय अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पताल र स्थानीय सरकारलाई एम्बुलेन्सको व्यवस्था गरिने ।
सीप तथा श्रम स्कुल
युवालाई उत्पादनसँग जोड्न प्रदेश राजधानी सुर्खेतमा ‘सीप तथा श्रम स्कुल’ खोल्ने ।










