दिल्लीमा ओलीको प्रश्नः नेपालमा युग फेरिएको छ, किन लगानी नगर्ने

नयाँ दिल्ली प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्त भएर नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । तीन दिने राजकीय भ्रमणका क्रममा भारतीय उद्योग परिसंघले गरेको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतीय लगानीकर्ताहरुको लगानी नेपालमा सुरक्षित रहेको आश्वस्त पार्न खोजेका छन् ।
नेपालमा वाम गठबन्धनको सरकार आएपछि उदार अर्थव्यवस्थाबाट पछाडि फर्किने हो की भन्ने भारतीय लगानीकर्ताहरुको आशंकालाई संकेत गर्दै ओलीले भने, ुतीन चौथाइ भन्दा बढी संसदको बहुमतबाट नेपालमा स्थिर सरकार बनेको छ । लगानीका लागि अनुकूल वातावरण छ । स्थिर सरकार भनेकै स्थिर नीति नियम हो । हामी आर्थिक उदारीकरणलाई आत्मसाथ गर्छौं । हामीकहाँ राजनीतिक परिवर्तन मात्र पुरा भएको छैन्, युगै फेरिएको छ , हामी देखिने परिवर्तन गर्न चाहछौं । आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन चाहन्छौं ।’
प्रधानमन्त्री ओलीले विश्वमा लगानी गरिरहेका भारतीय लगानीकर्तालाई प्रतिप्रश्न गर्दै भने, ‘तपाईँहरु विश्वका अन्य मुलुकमा लगानी बिस्तार गरिरहनुभएको छ, नेपालमा किन नगर्ने रु’
लगानीको अनुकुल वातावरणको तर्क दिँदै ओलीले भने, ‘कर्मचारीतन्त्र पारदर्शी छ र भ्रष्टाचारमा हामीले शून्य सहनशीलता अपनाएका छौं । स्वदेशी तथा विदेशी लगानीमा विभेद गरेका छौं । भ्रष्टाचारमुक्त प्रशासन संयन्त्रप्रति वर्तमान सरकार निकै संवेदनशील छ ।
जलविद्युत पर्यटन तथा कृषि क्षेत्रको लगानीलाइ प्राथमिकतामा रहेको भन्दै ओलीले भने, ‘नेपाल र भारतबीचको भौगोलिक, सांस्कृतिक समानताले भारतीय लगानीकर्तालाई सहज बनाउँछ ।’
नेपालमा लगानी गरौँ
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले, नेपालका लागि भारत चीन भन्दा ठूलो व्यापारिक साझेदार रहेको भन्दै भारतीय लगानीकर्तालाई लगानीकालागि आग्रह गरे । उनले भने, ‘हामी तपाईँहरुसँग संयुक्त लगानीमा काम गर्नक तयार छौं । लगानीका लागि थुप्रै ठूला परियोजनाहरुको सम्भावना रहेको छ । उत्साहित छौँ । तपाईँहरुका लागि सही साझेदारको चुनावमा सहयोग गर्छौं ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कार्यक्रममा नेपालको सन् २०३० सम्ममा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य प्रस्तुत गरेका थिए । त्यसैमा आधारित रहेर भारतीय पक्षका उद्योगी व्यवसायीहरुले नेपालको जलविद्युत् क्षेत्रमा बढी चासो देखाएका थिए ।
उनीहरुले जलविद्युतको लक्ष्य प्राप्तिका लागि नेपाल सरकारको नीति नियमहरुबारेमा चासो राखेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरेका भारतीय ठूला कम्पनीहरु जीएमआर लगायत अन्य कम्पनीहरुको सहभागिता थियो ।
प्रधानमन्त्री ओलीसँग भएको दोहोरो अन्तरक्रियाले भारतीय व्यापारीहरु उत्साहित भएका छन् । भारतीय व्यापारीहरुले प्रम ओलीसँगको अन्तरक्रियापछि नेपालमा लगानी बढाउन सकिने बताएका छन् ।
राहुलसँग भेट्दै
केही बेरमा नेपालको वर्तमान राजनीति घटनाक्रमबारेमा छलफल गर्न भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा भेटने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले प्रतिपक्ष दलका अध्यक्षसँगको भेटबाट राजनीतिक भेटघाटको शुरुवात गरेका छन् । त्यसपछि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भेट्ने कार्यक्रम रहेको छ ।
मोदीले भेट्ने
नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोज अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजै प्रधानमन्त्री ओलीलाई भेटने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।









