डोल्पामा हवाई टिकट पाउन पनि हप्ता दिन कुनुपर्ने बाध्यता

रामचन्द्र न्यौपाने

त्रिपुराकोट डोल्पा , दुर्गम हिमाली जिल्ला डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा जुफाल विमानस्थल रहेको छ । सडक यातायातको पहुँच नभएको डोल्पामा जिल्ला बाहिर जानको लागि हवाई यातायात नै प्रयोग गनुपर्ने बाध्यता छ ।

अहिले जुफाल विमानस्थलमा हवाई टिकट पाउन हप्ता दिनसम्म कुनुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुईसाता देखि पश्चिम उडान बन्द गरेर पुर्व उडान सुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन समस्या भएको सर्वसाधारणले गुनासो गरेका छन् ।

जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पँहुच र भनसुनको आधारमा हवाई टिकेट बाँड्ने परिपाटीले सर्वसाधारणलाई हरेक दिन समस्या हुने गरेको बुटवल निवासी गोपाल पौडेलले बताए ।

लामो समयसम्म सदरमुकाम दुनैमा रहेको निर्दन उत्थान बैङ्कमा काम गरेर सरुवा भएपछि घर फर्कन लागेका पौडेललाई पनि टिकेट नपाएर जुफाल विमानस्थलमा तिन दिन रोकिनु पर्यो । जुफाल विमानस्थलमा नियम अनुसार जो अगाडि आँउछ त्यसैलाई प्राथामिकता दिनुका साथै फोनबाट टिकेट बुक गराउने परिपाटीको अन्त्य गरेपछि मात्र सर्वसाधारणलाई सहज हुने उनको बुझाई छ ।

सिता र गोमा एअर सेवामुखी भन्दा नाफामुखी भएकाले जुफाल विमानस्थलमा यात्रुहरुको चाप भएको बेला पुर्वतीर उडान गर्ने गरेको प्रति डोल्पालीले आपत्ति जनाएका छन् । ‘अहिले जुफाल विमानस्थलमा यात्रुहरुको चाप छ, उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बिरामीहरु पनि बढेका छन् । सिता र गोमा एअर भने हप्तामा नियमित उडान समेत गर्न छोडेर पुर्वतिर उडान सुरु गरेका छन्’ ठुलीभेरी नगरपालिका ९ का स्थानीय अमर कठायतले भने ।

‘डोल्पामा कमाउन मात्र आउने, विमानस्थलमा यात्रुको चाप बढ्दै गएको बेला नियमित उडान समेत नगर्ने, यस्तै हो भने अन्य समयमा पनि उडान गर्न नदिने वातावरण पनि बन्न सक्छ यो सिता र गोमा एअरले बुझ्नुपर्छ’ कठायतले भने । तारा एअरले भने विमानस्थलमा यात्रुहरुको चाप हुँदा र नहुँदा पनि नियमित उडान गर्दै आएको उनले बताए ।

उडान थप्न माग
अहिले डोल्पाबाट मात्रै दुईवटा मन्त्री बनेका छन् । कर्णाली प्रदेशमा वातावरण तथा पर्यटन मन्त्री नन्द सिंह बुढा र सँस्कृति नागरिक उड्डयन पर्यटन राज्य मन्त्री धन बहादुर बुढा । तर पनि डोल्पालीलाई हवाई टिकेटको समस्या जिँउका त्यूँ रहेको छ ।

नेपाल एअरलाईन्स, सिता र गोमा एअरले गर्दै आएको नियमित उडान समेत घटाएकाले हवाई टिकेटको समस्या दिनप्रतिदिन बढ्दै गएको हो । सरकारी विमान कम्पनि नेपाल एअरलाईन्सले पनि हप्तामा दुई पटक गर्ने उडान घटाएर एउटा बनाउँदा सर्वसाधारणलाई झनै समस्या भएको छ ।

‘डोल्पाबाटै दुई मन्त्री बन्नु भएको छ, यो डोल्पालीको सौभाग्य हो तरसम्बन्धित फाँटवाला मन्त्री हुँदा समेत पहिले जस्तै हवाई टिकेटको सास्ती बढ्दै जानु विडम्बना हो’ त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय पुर्ण केशर न्यौपानेले भने ।





error: Content is protected !!