कापी कलमको लागि मजदुरी गर्न भारत जान्छन् हुम्लाका विद्यार्थी

नरजन तामाङ
हुम्लाको ताजाँकोट गाउँपालिका ५ मदानाका १५ वर्षीय हरि कामी १० वर्षको उमेरदेखि भारतको नैनीताल धाउँदै आएका छन् । विद्यालय जाने उमेरमा उनी भारतमा मजदुरी गर्दै आएको ५ वर्ष पुगिसक्यो । उनले भारतबाट कमाएर ल्याएको पैसाले कापी कलम र घरपरिवारको खर्चको जोहो गर्छन् ।

यहाँका धेरैजसो विद्यार्थी हिउँदको समयमा विद्यालय बन्द हुँदा साथीहरुसँग मिलेर बाजुराको कोल्टी हुँदै भारतको नैनीताल पुग्ने गरेका छन् । हरि कामी एक प्रतिनिधि पात्र मात्रै हुन् । ताजाँकोट गाउँपालिकाका ग्रामिण भेगका अधिकांश दलित बालबालिकाको समस्या हो यो ।

ताजाँकोट गाउँपालिका ५ कै नन्दकृष्ण कामी मदानादेवले अहिले एसइई दिएका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनी २ वर्ष हिउँदको समयमा भारत पुगेको अनुभव सुनाउँछन् ।कापी कलमको जोहो गर्न सारै समस्या हुने भएपछि भारतमा मजदुरी गरी ल्याएर कापी कलमको खर्च गर्ने गरेको उनले बताए । अहिले ठ्याकै तिन महिनामा घर आएको र आम्दानी १२ हजार मात्रै भएको नन्दकृष्णले दुखेसो गरे ।

गाँउमा जग्गा थोरै भएकोले वर्षभरीको आम्दानीले ६ महिनासम्म पनि अपुग हुँदा नैनीतालबाट कमाई गरी परिवारको खर्च गर्नुपर्ने बाध्यता रहेकाले प्रत्येक वर्ष साथीहरु मिलेर भारत जाने गरेको जयबहादुर कामीले बताए । उनले दिनरात दुख गरी २० हजार कमाई गरी घर फर्किएको सुनाए ।
पढ्ने लेख्ने रहर हुदा पनि घरमा आर्थिक समस्याका कारण प्रत्येक वर्ष हुम्ला ताजाँकोट गाउँपालिका अधिकांश दलित समुदायका बालबालिकाहरु सानै उमेरमा मजदुरीको लागि भारतको नैनीताल जाने गरेको स्थानीय जिवन कुमार धाँमीले बताए ।

उनले दलित समुदायका गाँउमा जग्गा थोरै छन । वर्षभरीको आम्दानी ६ महिना सम्म मुस्किलले नै धान्ने भएकोले अधिकांश बालबालिका पढ्ने उमेरमा भारत जाने २÷३ महिना मजदुरी गरी फर्किने गरेको बताए ।





error: Content is protected !!