जाजरकोटमा बैशाख देखि पटक आर्थिक गणनाको तयारी

जाजरकोट ः आगामी बैशाख १ गते जाजरकोटमा आर्थिक गणना सुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापहरुको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।

आर्थिक गणनाका लागी जिल्लामा चैत्र १ गते देखि आर्थिक गणना कार्यालय स्थापना गरेर ब्यवस्थापकिय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरि बैशाख १ देखी गणकहरु फिल्डमा खटाईने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताए । कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोवार गर्ने वाहेक सम्पूर्ण ब्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्नेछ । यसमा ब्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोवार विवरण, ऋणमा पहुँच कारोवार सम्बन्धी विवरण संकलन गरि आर्थिक तथ्यांक संकलन गरिने आर्थिक गणना अधिकृत बोहराले बताए ।

पहिलो पटक देशैभर एकै साथ संचालन गर्न थालिएको आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले अर्थतन्त्र र आर्थिक एकाईहरुको आकार, प्रकार, संरचना, रोजगारी, लगायतका नीति निर्मिाणका लागी आवश्यक पर्ने विवरणहरु तथा आधारभूत सुचकहरु एकै साथ उपलब्ध हुने गरी केन्द्रिय तथ्यांक विभाग मार्फत सरकारले राष्ट्रिय आर्थिक गणना २०७५ संचालन गर्न लागेको हो । आर्थिक गणना अन्र्तगत खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, वित्तिय तथा विमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राईभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक गणना तीन वटा माध्यामबाट गर्न सकिने गरि निति बनाईएको छ । उद्योगी ब्यवसायी तथा प्रतिष्ठानहरुले अनलाईन सर्वेक्षण आफैले ईन्टरनेटको माध्याम प्रयोग गरेर भर्न सकिने ब्यवस्था गरिएको छ । त्यस्तै गणकले कम्प्युटर ट्याबलेटको माध्यमबाट वा कागजी प्रश्नावली फारम मध्य कुनै पनि प्रक्रियाबाट तथ्यांक संकलन गर्न सकिने ब्यवस्था मिलाईएको छ । संकलित तथ्यांक गोप्य राखिनेछ । आर्थिक गणना सम्बन्धि जिल्ला सदरमुकाममा आयोजित अभिमुखिकरण कार्याक्रममा आर्थिक गणना अधिकृत बोहराले भने–‘ब्यवसायी तथा प्रतिष्ठानहरुले यसमा उल्लेख गरेकै आधारमा कतै कर तिर्नु पर्ने अवस्था आउँदैन । तपाईहरुले सही तथ्यांक दिनु भयो भने मात्र देशको यथार्थ आर्थिक विवरण आउँछ र सोही अनुसार आर्थिक निती तथा योजना बनाउन सजिलो हुन्छ ।’

आर्थिक गणना राष्ट्रिय अभियान हो सही विवरण दिएर यसलाई सफल बनाउनु र सही तथ्यांक संकलनमा सहयोग गर्न सवैलाई अनुरोध गर्दछु बोहराले भने–‘हामीले सही विवरण दियौ भने मात्र यो देशको वास्तिविक चित्र सार्वजनिक हुनेछ ।’जाजरकोटमा हुने आर्थिक गणनामा १५ जना गणक र दुई जना सुपरिवेक्षक फिल्डमा खटिने भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!