टेलिमेडिसन सेवा सञ्चालन

रुकुम पश्चिम — जिल्लाका विभिन्न ७ ठाउँमा टेलिमेडिसिन सेवा सञ्चालन हुने भएको छ । जिल्लाका ६ वटा स्थानीय तहका एकरएक ठाउँ र मुसीकोट नगरपालिकाको थप एक ठाउँ गरी ७ ठाउँमा टेलिमेडिसिन सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ

टेलिमेसिडनका लागि सबै स्थानीय तहले सुरुमा प्रयोगशाला स्थापना गर्ने र त्यसैबाट सेवा सुरु गर्न लागेका छन् । प्रयोगशाला स्थापना गर्न एउटा स्थानीय तहले सुरुमा १५ लाख रुपैयाँ लगानी गर्दै छन् ।

सबै स्थानीय तहले टेलिमेडिसिन सेवा प्रवाहको अभ्यास स्वरूप सुरुमा प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । उनीहरूले प्रयोगशालाको भौतिक संरचना र अन्य व्यवस्थापमा सुरुमा एक करोड ५ लाख रुपैयाँ लगानी गर्न लागेका छन् ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले हरेक स्थानीय तहले १५र१५ लाख रुपैयाँ खर्चेर प्रयोगशाला स्थापना गर्ने बताए । प्रयोगशाला स्थापनामा मुसीकोट नगरपालिकाले भने ३० लाख रुपैयाँ लगानी गर्ने छ । मुसीकोट नगरपालिकाले २ ठाउँमा प्रयोगशाला स्थापना गर्नुपर्ने भएकाले ३० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

चौरजहारी र आठबीसकोट नगरपालिका तथा बाँफिकोट, सानीभेरी त्रिवेणी गाउँपालिकाले भने १५र१५ लाख रुपैयाँ लगानी गर्नेछन् । सुरुवातमा १५ लाख मात्रै खर्च गरिए पनि टेलिमेडिसिनको सम्पूर्ण व्यवस्था गर्न कम्तीमा ३० लाख रुपैयाँ प्रतिटेलिमेडिसिन सेन्टरमा खर्च गर्ने योजनामा स्थानीय तह छन् ।

६ स्थानीय तहका हरेक स्थानीय तहमा एउटा–एउटा र मुसीकोट नगरपालिकाकाको थप एक ठाउँमा टेलिमेडिसिन केन्द्र स्थापना गरी सेवा प्रवाह गर्न आधारभूत जनशक्ति तयार पारिएको हो । स्थानीय तहमा स्थापना गरिने टेलिमेडिसिन सेन्टर सञ्चालनका लागि ७ प्राविधिकलाई आवश्यक तालिम दिइएको छ ।

६ वटा स्थानीय तहको आर्थिक लगानीमा प्रयोगशाला प्राविधिकहरूलाई काठमाडौंमा लिएर एक महिनाको आधारभूत तालिम दिइएको हो । तालिम लिएकाहरूलाई प्रयोगशाला सञ्चालनका लागि आधारभूत सामग्री पनि प्रदान गरिएको छ । टेलिमेडिसिन सेवा प्रवाह सुरुमा रगत, खकार, दिसा, पिसाब लगायतका प्रयोगशालाबाट दिइने सम्पूर्ण सेवा र त्यसको रिपोर्ट सम्बन्धित विषय विशेषज्ञ डाक्टरकोमा पठाएर उपचार गरिने छ । तालिममा सहभागी नवीन परियारले प्रयोगशाला सम्बन्धी तालिम सकिएको र प्रयोगशालामा आवश्यक सामग्रीसहित जिल्ला फर्कने तयारीमा रहेको जानकारी दिए ।

मुसीकोट नगरपालिकाको जिल्ला अस्पताल सल्लेसहित झुल्खेतमा टेलिमेडिसिन सेन्टर स्थापना हुनेछ । चौरजहारी नगरपालिका चौरजहारी, आठबीसकोट नगरपालिकाको राडी, बाँफिकोट गाउँपालिकाको कोट, सानीभेरी गाउँपालिकाको सिम्ली र त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा यो सेन्टर स्थापना गरिने छ । प्रयोगशाला स्थापना भएसँगै सर्वसाधारणले विशेषज्ञ डाक्टरसँग सोझै उपचार गराउन पाउने छन् । टेलिमेडिसिन सेन्टरमा सुरुमा एक स्वास्थ्य सहायक, एक प्रयोगशाला सहायक र एक अनमीबाट सेवा प्रवाह गरिनेछ ।

त्यहाँ आएका बिरामीको उपचार स्वास्थ्य सहायक, प्रयोशाला सहायक र अनमीले गर्न नसके सम्बन्धित विशेषज्ञ डाक्रसँग बिरामीलाई सम्पर्क गराइनेछ । जनताको मौलिक हक स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यसहित यो सेवा सुरु गर्न लागेको प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले बताए । शर्माले स्थानीय तहबाट एक–एक जना प्रयोगशाला प्राविधिक काठमाडौं झिकाएर निस्शुल्क तालिमको व्यवस्था गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!