पर्यटन मन्त्री पुगे विमानस्थल , अनि के के भयो ?

सुर्खेत–कर्णाली प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले वीरेन्द्रनगरस्थित विमान स्थलको अवस्थाबारे अनुगमन गरेका छन्। चैत २१ गतेदेखि काठमाडौं–सुर्खेत हवाई सेवा सञ्चालनमा आउने भएपछि मन्त्री बुढाले एयरपोर्टको अवस्थाबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा उनले २१ गतेदेखि सिधा हवाई सेवा सुर्खेत–काठमाडौं सञ्चालन बारे मन्त्रालयले आवश्यक पहल गरेको बताए। विगतमा संघीय राजधानी काठमाडौंसँग नजोडिएको कर्णाली प्रदेश हवाई सेवामार्फत जोडिन लागेको छ। मन्त्री बुढाले वीरेन्द्रन्गरस्थित सञ्चालनमा आएको विमानस्थल नै प्रयाप्त नभएकाले थप संरचना निर्माणबारे केही दिनमा अध्यनन थालिने बताए।

आगामी वैशख १ गतेदेखि प्रदेश सरकारको आयोजनामा हुन लागेको रारा–कर्णाली पर्यटन महोत्सवमा लक्ष्यअनुसार पर्यटकहरु भित्र्याउनका लागि विमानस्थल व्यवस्थापनमा लाग्न कर्मचारीहरुलाई उनले निर्देशन दिएका छन्। कर्णालीका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न प्रदेश सरकारले २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने भएको हो।

 

हिजोआज यात्रुहरु अभावका कारण कर्णालीका जिल्लाहरुमा कहिल्यैकसो मात्रै उडानहरु हुने गरेका छन्। मन्त्री बुढाले नेपालगञ्जमा रोकिने विमानहरुलाई हप्ताको दुई दिन मात्रै रोक्ने बारे पहल भइरहेको बताए। सुर्खेत–काठमाडौं अनिवार्य उडान बारे वायुसेवा निगमसँग छलफल भएको जानकारी दिए। यहि चैत २५ गतेदेखि नियमित तालिकाअनुसार नै सुर्खेत–काठमाडौंका साथै कर्णालीका हिमाली जिल्लाहरुमा हवाई उडान हुने भएको छ।

सुर्खेत–काठमाडौं हवाई भाडादर महंगो भएको भन्दै आलोचना भएको बेला मन्त्री बस्नेतले पर्यटन मन्त्रालयद्धारा गठित भाडा निर्धारण समितिले तोक्ने बमोजिम भाडादर कायम हुने बताए। प्रदेशको राजधानी मात्रै नभई प्रवेशद्धाराका रुपमा रहेको वीरेन्द्रनगरमा आवज–जावत बढाउने भएकाले तत्काल सहज उडान गर्ने प्रतिवद्धता जनाए।

साँघुरो विमानस्थल
सुर्खेत विमानस्थल वरिपरि नजिकै अग्ला डाँडाकाँडाका कारण ठूला जहाज अवतरणमा समस्या हुने गरेको छ । विमानस्थलको उत्तर–दक्षिण रनवेका कारण विमानलाई उडान र अवतरणमा कठिनाइ हुने गरेको हो। ‘रनवेमा समस्या भएकाले ठुला विमानले सुर्खेतबाट सेवा दिन नमानेका हुन्’ सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख विनोदकुमार पन्तले भने,‘विमानस्थल नजिकका धुलियाबिट, चनौटे, गाग्रेताल र नेवारका डाँडाकाँडाले उडान तथा अवतरणमा अवरोध पु¥याउँछ। एप्रोच प्याटर्नका कारण धावनमार्ग बढाउनसमेत सकिदैन।’

अहिले धावनमार्गको लम्बाइ एक हजार दुई सय ५५ र चौडाइ ३० मिटर छ। पर्याप्त धावनमार्ग नहुँदा ठूला विमान कम्पनीले सुर्खेत–काठमाडौं उडान नसकेका प्रमुख पन्तले बताए। हाल सिम्रिक, काष्ठमण्डप, गोमा, मकालु, तारा, सीता एअरले सुर्खेत विमानस्थलबाट कर्णालीका लागि उडान भर्दै आएका छन्। सिंगल इन्जिन जहाजले मात्र सुर्खेत–कर्णाली हवाई सम्पर्क जोडेको हो। तर, ठुला जहाज भने सुर्खेतबाट हवाई सेवा दिन सकेका छैनन्।

पर्यटनमा धक्का
पर्यटकीय क्षेत्रका थुप्रै सम्भावना रहेको कर्णाली प्रदेश हवाई सेवासँग नजोडिदा पर्यटन विकास हुन सकेको छैन्। सिंगो कर्णाली प्रदेश केन्द्र सरकारसँग हवाई सम्पर्कबाट विच्छेद हुँदा कर्णालीको पर्यटन र व्यापारमा धक्का पुगेको हो। जटिल प्रकृतिका विरामी र तत्कालै काठमाडौं जान कर्णालीबासीले तीन घण्टाको सडक यात्रापछि प्रदेश पाँचको नेपालगञ्ज जानुपर्ने बाध्यता छ।

राम्रो विमानस्थल नहुँदा कर्णालीको विकासमा धक्का लागेको व्यापारीहरुको बताउँदै आएका छन्। सुर्खेतमा प्रदेशस्तरको विमानस्थल बन्न सके मानसरोवर जाने यात्रुको गेटवे बनाउन सकिने पर्यटन व्यवसायी चिन्तामणी शर्मा बताउँछन्। सुर्खेतबाट काठमाडौं हवाई सेवा नियमित नहुँदा कर्णाली क्षेत्र, सुर्खेत, जाजरकोट र दैलेखका यात्रुहरू नेपालगन्ज विमानस्थलको भर पर्नुपर्ने बाध्यता छ। चैत २१ गतेदेखि हवाई सेवा सञ्चालनमा आए प्रदेश समृद्धिका लागि ठुलो सहयोग पुग्ने पर्यटन व्यवसायी शर्माले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!