अनुहार सफा गर्ने नियम

धेरै मानिसले अनुहार सफा गर्न फेसवास वा क्लिन्जर प्रयोग गर्छन् । तर, कस्तो फेसवास कसरी प्रयोग गर्ने भन्नेचाहिँ धेरै कमलाई मात्र जानकारी हुन सक्छ । अनुहार सफा गर्ने पनि आफ्नै नियम छन् । गलत ढंगले अनुहार सफा गर्दा छालासम्बन्धी विभिन्न समस्याको सिकार हुनुपर्ने हुन्छ । अनुहार सफा गर्दा हुने स–साना गल्तीले पनि अनुहारमा ठूलो हानि पुर्‍याउन सक्छ । अनुहार सफा गर्ने नियमबारे मोनिका मिश्र यस्तो बताउँछिन्

डा मोनिका मिश्र
क्लिनिकल कस्मेटोलोजिस्ट
बढी चिसो र तातोपनले हानि
अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नु हुँदैन । अत्यधिक तातो पानीले स्किनमा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका कारण मेकअप प्रोडक्टलाई अनुहारले राम्रोसँग ग्रहण गर्न सक्दैन । त्यसैले जहिले पनि अनुहार सफा गर्दा मनतातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

कस्तो फेसवास 
स्किनको प्रकृति र समस्यालाई मध्यनजर गरेर मात्र फेसवास खरिद गर्नुपर्छ । चिल्लो स्किनका लागि सेलिसिलिक एसिड भएको फेसवास प्रयोग गर्दा राम्रो हुन्छ । यदि अनुहारको छाला फुस्रो छ भने मेडिकेटेड क्लिन्जर प्रयोग उत्तम हुन्छ । सेन्सेटिभ स्किन भएकाले भने कुनै मेडिकेटेड माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ ।

पहिला हटाउनुस् मेकअप
तपाईंलाई लाग्न सक्छ, फेसवासले मेकअप पनि सफा गर्छ । यस्तो सोचका कारण तपाईं अनुहारसम्बन्धी कैयौँ समस्याबाट ग्रसित पनि हुन सक्नुहुन्छ । किनभने, मेकअपसँगै अनुहार सफा गर्दा स्किनको पोर्स बन्द हुन पुग्छ । जसका कारण पिम्पल्सजस्ता समस्या निम्तिन सक्छ ।

कीटाणुरहित हात
धेरैको बानी फोहोर हातमै फेसवास लिने र अनुहारमा दल्ने हुन्छ । तर, यसो गर्दा पनि तपाईंको अनुहारलाई हानि पुग्छ । पहिला हातको फोहोर सफा गरेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ । किनभने, फोहोर हातले अनुहारमा फेसवास दल्दा फेसवाससँगै ब्याक्टेरिया पनि अनुहारमा पुग्छ । जसले गर्दा अनुहारमा इन्फेक्सन हुन सक्छ ।

समय दिनुस्
फेसवास अनुहारमा दल्नेबित्तिकै पानीले सफा गर्नु हुँदैन । फेसवासले राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने एक–दुई मिनेट अनुहारमै फेसवास रहन दिनुपर्छ र मसाज गर्नुपर्छ । तर, अनुहारमा कडा तरिकाले कहिल्यै रगेट्नु हुँदैन ।




सम्बन्धित समाचार


error: Content is protected !!