अधिकांशलाई पाठेघर समस्या

मुगु — छायानाथ रारा नगरपालिकास्थित रोवा झाकोट गाउँकी ३८ वर्षीया चुक्का नेपाली आठ वर्षदेखि तल्लो पेट दुख्ने, योनिबाट गन्ध आउने, पिसाब फेर्न मुस्किल हुने समस्याले पीडित छिन् ।
झाकोटकै ३० वर्षीया चुटुकला बडुवाललाई पनि तल्लो पेट दुख्ने र योनिबाट सेतो पानी बग्नेलगायतका समस्या देखिएको ९ वर्ष भयो । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलामा पाठेघरको समस्या बढ्दै गएको छ ।
रोवाकी ३४ वर्षीया मायासरा कुमाईले पनि पाँच वर्षदेखि आफूलाई पाठेघरको समस्याले सताएको बताइन् । उनले पाँच सन्तानलाई जन्म दिएपछि आफूलाई पाठेघरको समस्या देखिएको बताइन् । अधिकांश महिलाले औषधि उपचार गर्न लाज मान्ने समस्याले उनीहरूमा पाठेघरको समस्या बढ्दै गएको हो ।
जिमा, कालै, धैनकोट, रारा, सुकाढिक, सेरी, पिना, रुगा, गम्था, कोटडाँडालगायत गाउँका २० देखि ६० वर्ष उमेरका अधिकांश महिला बढी पाठेघरको समस्याबाट पीडित रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
‘मलाई यस्तो समस्या छ भनेर बिरामी महिलाहरू कहिल्यै आउँदैनन् तर, एकैपटक रोग बल्झेपछि भन्छन्,’ रोवा चराप गाउँकी स्वास्थ्य स्वयंसेविका सत्यदेवी ऐडीले भनिन्, ‘अन्तिम अवस्था भएर पाठेघरको समस्याले थलिएका महिलाको संख्यासमेत गाउँमा धेरै छ ।’










