आइएसपीद्वारा गैरकानुनी रूपमा फ्रिक्वेन्सी प्रयोग

काठमाडौं , दूरसञ्चार प्राधिकरणको निर्देशन अवज्ञा, तर कारबाही हुँदैन
इन्टरनेट सेवा प्र
पछिल्लोपटक प्राधिकरणले गरेको अनुगमनका क्रममा इन्टरनेट सेवा प्रदायकहरूले अनधिकृत रूपमा फ्रिक्वेन्सी प्रयोगलाई निरन्तरता दिएको पाइएको हो ।
यसरी तोकिएको सीमाभन्दा बाहिर गएर फ्रिक्वेन्सी प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायकहरूमा टेक माइन्ड नेटवर्क, अर्थ लिंक कम्प्युनिकेसन इन्टरप्राइज, पिडिएस सर्भर नेटवर्क, अबाइड नेट, क्लासिक टेक, रोयल नेटवर्क र अलिसा लिंक रहेका छन् ।
प्राधिकरणको अनुगमन टोलीले गरेको अनुगमनका क्रममा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले २ दशमलव ४ गिगाहर्ज ब्यान्डमा दुई दशमलव ५ गिगाहर्जसम्म र ५ दशमलव ८ गिगागहर्ज ब्यान्डमा ६ गिगाहर्ज ब्यान्डसम्मको फ्रिक्वेन्सी प्रयोग गरेको पाइएको छ ।
सेवा प्रदायकहरूले यस्तो फ्रिक्वेन्सी इन्टरनेट नेटवर्क विस्तार तथा सेवा प्रदान गर्ने कार्यमा प्रयोग गरिरहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले जानकारी दिए ।
प्राधिकरणले पहिलोपटक इन्टरनेट सेवा प्रदायकहरूले सीमाभन्दा बाहिर फ्रिक्वेन्सी प्रयोग गर्ने गरिरहेको भन्दै तोकिएको परिधिभित्र रहन २० साउन ०७० मा पहिलोपटक सचेत गराएको थियो ।
सोही वर्ष ७ मंसिरमा पुनः सूचना जारी गर्दै प्राधिकरणले परिधिबाहिर फ्रिक्वेन्सी प्रयोग गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने चेतावनीसमेत दिएको थियो । तर, त्यसको पाँच वर्ष पुग्न लाग्दा पनि सीमा नाघेर फ्रिक्वेन्सी प्रयोग गर्ने काम बन्द भएको छैन ।
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएअनुसार आइएसपीहरूले २ दशमलव ४ गिगाहर्ज ब्यान्डमा २४ सय मेगाहर्जदेखि २४ सय ८३ दशमलव ५ मेगाहर्जसम्म र ५ दशमलव ८ गिगाहर्ज ब्यान्डमा ५७ सय २५ मेगाहर्जदेखि ५८ सय २५ मेगाहर्जसम्मको फ्रिक्वेन्सीमा मात्र रेडियो उपकरण सञ्चालन गर्न पाउँछन् । उक्त फ्रिक्वेन्सी सबै सेवा प्रदायकले साझा रूपमा प्रयोग गर्नुपर्ने हुन्छ ।
क्लासिक टेकका सहायक व्यवस्थापक सुन्दरसेन सिंहले आफूहरूले फ्रिक्वेन्सीका लागि तोकिएको सीमा ननाघेको दाबी गरे ।
‘केही वर्षअघिसम्म हाम्रो सेवा वायरलेसमा आधारित हुँदा निश्चित फ्रिक्वेन्सी नै प्रयोग गरेका थियौँ,’ उनले भने, ‘पछिल्लो समय हामीले ९५ प्रतिशतभन्दा बढी सेवालाई अप्टिकल फाइबरमा लगिसकेका छौँ । यस आधारमा पनि हाम्रो कम्पनीले फ्रिक्वेन्सीको सीमा नाघेर सेवा सञ्चालन गर्नुपर्ने अवस्था छैन ।’
यस्तो छ कानुनी व्यवस्था
नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र लिएका सेवा प्रदायकहरूले फ्रिक्वेन्सी प्रयोगका लागि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । यद्यपि, हालसम्म कुनै पनि इन्टरनेट सेवा प्रदायकलाई फ्रिक्वेन्सी भने उपलब्ध गराइएको छैन ।
दूरसञ्चार ऐनमा अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लिखित सर्तहरूको पालन नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्द गराउन सक्ने व्यवस्था छ ।
मापदण्ड मिच्नेलाई कारबाही हुन्छ
तोकेको मापदण्डबाहिर गएर कुनै पनि सेवा प्रदायकले फ्रिक्वेन्सी प्रयोग गर्न पाउँदैनन् । तर, हाम्रै अनुगमनका क्रममा अनुमति नै नलिएर ‘अनलाइसेन्स्ड’ ब्यान्डको रेन्जभन्दा बाहिरको फ्रिक्वेन्सी प्रयोग भइरहेको पाइएको छ । प्राधिकरणले कानुनअनुसार त्यस्तो काम गराएर तोकिएको जरिवाना गराउनेतर्फ कदम चाल्छ ।
मीनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दूरसञ्चार प्राधिकरण
कानुनविपरीत गए कारबाही गर्दा हुन्छ
तोकिएको रेन्जभन्दा बाहिरको फ्रिक्वेन्सी प्रयोग गर्न पाउने भन्ने प्रश्नै उठ्दैन । कानुनबाहिर गएर अनधिकृत प्रयोग गरेको रहेछ भने कारबाही गरे भइहाल्यो । तैपनि, आइएसपीहरू अप्टिकल फाइबरमा गइसकेकाले फ्रिक्वेन्सी प्रयोग गर्नुपर्ने अवस्था रहेजस्तो मलाई लाग्दैन ।
सुमनलाल प्रधानपूर्वअध्यक्ष, आइस्पान










