जनकपुरको आठवटा वडामा निजी साझेदारीअन्तर्गत भइरहेको फोहोर व्यवस्थापनको काम पनि फितलो

काठमाडौं,फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदेखाउँदा जनकपुर सहरमा नाक थुनेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रदेश २ को मुकाम जनकपुरसमेत रहेको ऐतिहासिक र धार्मिक सहर नै डम्पिङ साइटमा परिणत भएको हो । उपमहानगरपालिकाले आइतबार देवी चोकदेखि जानकी मन्दिर पुग्ने पूर्वपट्टिको सडकको छेउमा रहेको फोहोर मात्रै उठाएको छ । फोहोर फयाँक्न सहरको मुख्य र भित्री सडकलाई डम्पिङ साइटजस्तै देखिन्छ । नाला सफाइ गर्दा झिकिएको लेदोसहितको फोहोर सडकमै छाडिएको छ ।

घरबाट निस्कने फोहोर फ्याँक्ने ठाउँ उपमहानगरले नतोकिदिँदा सहरवासी सडकमै फोहोर फ्याल्ने गरेका छन् । सडकमा असरल्ल फयाँकिएको फोहोर समयमै नउठाउँदा जनकपुर सहरमा दुर्गन्ध फैलिएको हो । जनकपुरको रामानन्द चोक, सरस्वती टोलबाट बारबिद्या जाने सडक, देवी चोकबाट जानकी मन्दिर आउने सडक, बिद्यापति चोकबाट प्रदेशसभा पुग्ने सडक, कदम चोकदेखि बिद्यापति चोक जाने सडक सबैतिर फोहोरको डंगुर छ । जानकी मन्दिरको पछाडि फोहोरको चाङ नै छ । पंगलाबावा धर्मशाला छेउको पोखरी सुकेर फोहोरमय बनेको छ ।

‘जनकपुर फोहोर र दुर्गन्धित भएको आलोचना गर्नेहरू नै सडकमा फोहोर फ्याक्नुलाई शान ठान्छन्,’ देवी चोकका चन्दन झाले भने, ‘जनकपुरलाई फोहोरी र दुर्गन्धित सहर बनाउनमा सरकारी निकाय त जिम्मेवार छँदैछन्, स्थानीय पनि कम दोषी होइनन् ।’ घरबाट निस्कने फोहोर संकलनका लागि उपमहानगरले कुनै व्यवस्थापन गरेको छैन । घरको फोहोर सडकमै फ्याँक्ने र महिनौसम्म त्यो फोहोर नउठाउँदा जनकपुर सहर फोहोरमय छ ।‘जनकपुरवासीलाई सडकमै फोहोर फ्याक्नुपर्छ भन्ने सोच गडेको छ,’ झाले भने, ‘उपमहानगरपालिकाले पनि सडकमै फोहोर फ्याँक्न सिकाएको छ ।’ जनकपुर उपमहानगरपालिकामा सहरको फोहोर संकलनका लागि ५७ जना स्वीपर कार्यरत छन् । ज्यालादारीमा थप १० जना स्वीपर सरसफाइकै लागि उपमहानगरले थपेको छ । नगरको फोहोर संकलनका लागि उपमहानगरपालिकासित जनशक्ति र साधन दुबै छ । जनकपुर उपमहानगरपालिकाका अधिकृत ललनकुमार कर्णका अनुसार फोहोर संकलनकै लागि चारवटा ट्रयाक्टर र दुइटा ट्रिपर प्रयोग भइरहेको छ । ‘बिहान एक लट फोहोर संकलन गरिन्छ,’ अधिकृत कर्णले भने, ‘घर र पसलको सबै फोहोर सडकमै फयाँकिदिँदा सहर सफाइ भएको जस्तो देखिन्न ।’ जनकपुर उपमहानगरपालिकाले एक दिनमा १८ टिप फोहोर संकलन भइरहेको दाबी गरे । तर, जनकपुरमा जताततै फोहोर डंगुर छ । फोहोर फ्याल्ने डम्पिङ साइट उपमहानगरपालिकासँग छैन । सहरबाट संकलन गरिएको फोहोर पनि उपमहानगरले सडकमै फ्याँक्छ । ‘उपमहानगरसँग फोहोर फ्याँक्ने निश्चित ठाउँ छैन,’ अधिकृत कर्णले भने, ‘डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’

जनकपुरको आठवटा वडामा निजी साझेदारीअन्तर्गत भइरहेको फोहोर व्यवस्थापनको काम पनि फितलो छ । घर र पसलबाट निस्कने फोहोर राख्न डस्टविनको व्यवस्था नहुँदा जनकपुरको सडक नै डम्पिङ साइट बनेको छ । फोहोर व्यवस्थापनमा उपमहानगरको मासिक लाखौं बजेट खर्च भइरहे पनि नगरमा फोहोरको चाङ थुप्रिन रोकिएको छैन । जनकपुरको फोहोर व्यवस्थापनका लागि एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा स्वीकृत भएको परियोजना ल्यान्डफिल्ड साइडको निर्माण अलपत्र छ । कन्तिपुर





error: Content is protected !!