नेताको धम्की दिँदै चामल वितरण गर्न आनाकानी गर्छन् ठेकेदार’

हेमन्त के सी

जाजरकोट / नेपाल खाद्य संस्थान बारेकोट डिपोमा चामल नहुँदा यहाँका स्थानीयहरु मर्कामा परेका छन् । सपना तथा सरोज कन्स्ट्रक्सन भेरी नगरपालिका ३ का जीतबहादुर सुनारले बारेकोट डिपोमा चामल नल्याउँदा डिपो रित्तै भएको हो ।

२ हजार क्विन्टल चामल स्वीकृत भएको मध्य अहिले सम्म बारेकोटमा १ सय १९ क्विन्टल चामल मात्र लिईएको छ । नेपाल खाद्य संस्थान जाजरकोटले दिएको जानकारी अनुसार अहिले सम्म ७ सय क्विन्टल चामल लिईसक्नुपर्ने थियो । चामल लिने जिम्मा लिएका निर्माण व्यवसायीलाई पटक, पटक चामल बारेकोट लिन ताकेता गर्दै पत्र काटेपनि ठेकेदारले नेताको धम्की दिँदै चामल लिन आनाकानी गरिरहेको नेपाल खाद्य संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले बताए ।

बारेकोट जिल्लाको विकट गाउँपालिका मध्ये पर्दछ । चामल लिन दैनिक डिपोमा स्थानीयको भीड भएपनि नहुँदा रित्तो हात फर्कन बाध्य भएका छन् । चामल नहुँदा समस्या उत्पन्न भएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए । स्थानीय बजारमा रहेको चामल महँगोले किन्न नसकिने अवस्था छ, बारेकोट गाउँपालिका वडा ५ का पृथी शाहीले बताए ।

खाद्य संस्थामा सहुलियत दरमा पाईने चामल डिपोमा एक दाना छैन, कहिले आउँछ भन्दा भोली भोली भन्दै टार्छन् तर भोली आउँदा चामल आज पनि आएको छैन भन्ने जवाफ पाउने गरेको शाहीले गुनासो गरे ।

चामल लिने ठेक्का लिएका जीतबहादुर सुनारले खच्चड नहुँदा चामल लिन समस्या भएको बताएका छन् । बारेकोट सडक सञ्जालले नजोडिएको गाउँपालिका हो । स्थानीय जनप्रतिनिधीले समेत खाद्य संस्थानमा चामल अभावका विषयमा चासो नराखेको बारेकोट गाउँपालिका २ का तिलक रावतको भनाई छ । बारेकोटमा दैनिक उपभोग्य सामग्री लिनका लागि दुईवटा वाटो मध्य कालीमटी लैखम बारेकोट जोड्ने बाटो अवरुद्ध रहेको छ भने खलंगा पाँचकाटिया फुलचाउलीको बाटो सञ्चालनमा रहेको छ ।

नलगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण कार्य जारी रहेकोले तल्लोबाटो बन्द भएको हो । समयमै ठेकेदारले चामल नलिँदा स्थानीयहरु मर्कामा परेका छन् । बारेकोटमा उपलब्ध गराउनु पर्ने चामल जाजरकोट सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानको डिपोमा भरिभराउ अवस्थामा रहेको छ ।





error: Content is protected !!