मानसिक रोगीले के गर्ने ?

मानसिक रोग लाग्ने वंशाणुगत, जैविक, सामाजिक र मनोवैज्ञानिक कारण हुन्छन् । हाम्रो समाजमा मानसिक रोगीलाई घृणाका दृष्टिले हेर्ने चलन छ । तर, मानसिक रोगका विभिन्न चरण हुन्छन् र यस्ता रोगीलाई जीवनयापनका लागि परिवारले अत्यन्तै राम्रो व्यवहार गर्नुपर्छ । अन्यथा, रोग झन् जटिल बन्दै जान्छ ।

परिवारले गर्ने व्यवहार
मानसिक समस्या भएमा परिवारले वास्ता नगर्ने, तुच्छ व्यवहार गर्ने गर्छन्, जुन घातक मानिन्छ । कतिपयले मानसिक रोगीलाई पापको रूपमा लिन्छन् । यस्तो रोगी भएमा परिवारले लुकाउने प्रयास गर्नुहुँदैन । कडा मानसिक रोग भएका मानिसलाई यसको कारणसम्म थाहा हुँदैन ।

मानसिक रोगीलाई मनोपरामर्शदाताकहाँ लगी उचित स्याहार गर्नुपर्छ । आवश्यक मात्रामा नियमित औषधि खुवाउनुपर्छ । उपचार गर्ने क्रममा परिवारका सदस्यले विशेष ध्यान नपुर्‍याएमा समस्या बल्झँदै जान्छ । मानसिक रोगीहरू शंकालु, रिसाउने र डराउने हुन्छन् । त्यसैले परिवारका सदस्यले पनि मानसिक रोगबारे बुझी रोगीलाई उचित वातावरण प्रदान गर्नुपर्छ ।

सबै मानसिक रोगी एकै प्रकारका हुँदैनन् । कतिपय मानसिक रोगी कुलतमा फस्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले रोगको कारण परिवारका सदस्यले थाहा पाउन जरुरी हुन्छ । बानी, व्यवहारमा परिवर्तन देखिएका मानिसबारे ख्याल राख्नुपर्छ र मानसिक रोग हो÷होइन भन्नेबारे तत्काल पत्ता लगाउने प्रयास गर्नुपर्छ ।

रोगीले के गर्ने रु
मानसिक रोग सामान्य र जटिल दुवै हुन सक्छ । सामान्य मानसिक रोग छ भने रोगी स्वयंले ख्याल राख्नुपर्छ । यस्ता व्यक्तिलाई आफ्नो व्यवहारमा आएको परिवर्तनबारे ज्ञान हुन्छ । रोगीले आफ्ना समस्या नलुकाई स्पष्ट रूपमा परिवार वा मनोपरामर्शकर्तालाई भन्नुपर्छ ।

अव्यवस्थित खानपान, जीवनशैलीका कारण पनि मानसिक रोग लाग्न सक्छ । यस्ता कुरामा हरेक मानिसले ख्याल राख्नुपर्छ ।

एक्लै बस्ने बानी हटाउनुपर्छ । मानसिक समस्या भएका व्यक्तिमा पाचन प्रणालीमा समेत समस्या देखिन्छ । कसैलाई डायरिया, कब्जियतसम्म हुन्छ । त्यसैले पानी, फलफूल, सागपात, पोषणयुक्त खानेकुरामा जोड दिनुपर्छ ।

रोगीले योगा, प्राणायाम गर्ने बानी बसाल्नुपर्छ । परिवारका सदस्यसँगको सम्बन्ध राम्रो राख्नुपर्छ । आफ्ना मनमा आएका कुरा परिवार वा साथीहरूसँग सेयर गर्नुपर्छ ।

औषधि खानुपर्ने भएमा नियमित सेवन गर्नुपर्छ । केही समय खाएर छाडेमा रोग फेरि बल्झन सक्छ।





error: Content is protected !!