आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप, प्रहरी प्रमुख सवार गाडी तोडफोड

ईश्वर थापा
धनकुटा । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त भएको छ। स्थानीय सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको हो। बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो। शसस्त्र प्रहरीले आन्दोलनकारी माथी लाठीचार्ज गरेको छ। आक्रोसित प्रदर्शनकारीले मदनचौकमा प्रहरी प्रमुख सवार गाडी तोडफोड गरेका छन्। प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारी सवार ना.१ झ १३१४ नम्बरको गाडी तोडफोड गरिएको हो। सोहीक्रममा दोहोरो झडप भएको थियो।
यसैवीच बन्दकर्ताले धनकुटामा बिहीबार बिहान तीनवटा मोटरसाईकल तोडफोड गरेका छन्।
आन्दोलनकारीले स्थानीय सरस्वती चौकमा को.२९ प ३७५४ र को.३२ प ४४०० नम्बर र यलम्बर चौकमा को.१८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरेका हुन्। हजारौंको संख्यामा निश्किएका धनकुटाबासीले ठाउँ–ठाउँमा प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताहरुले लाठी, मुङ्ग्रासहित सडकमा प्रदर्शन जारी राखेका छन्। आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ।
सरकारले विराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो। राती मसाल जुलुश निकालेर सरकार विरुद्ध प्रदर्शन गरेका धनकुटाका स्थानीयले प्रधानमन्त्रीको राजिनामा माग गरेका छन्। प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटावासीसीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन। आमहड्तालका कारण बुधबार बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ।
राणाकालमा प्रशासनिक गौंडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था, सामर्थ्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन्।










