आँखीझ्यालबाट देखिएको चीन

विश्वको सबभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशन भर्खरै सकिएको छ जसले ‘सि चीन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा’ र राष्ट्रपति सिले ल्याएको प्राचीन रेशममार्गको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ्स’लाई पार्टी विधानमै राख्ने गरी पारित गरेको छ । आफूलाई अझै पनि विकासोन्मुख मान्ने चीनले सन् २०२० सम्म समृद्ध मुलुकमा पु¥याई सन् २०४९ सम्ममा चीनको पुनरोदय गर्ने लक्ष्य लिएको छ । चिनियाँको सामाजिक रुपान्तरण र आर्थिक–भौतिक विकासम सबैलाई सँगसँगै उन्नतितिर लैजाने राष्ट्रपति सीको अवधारणाले नेपालका चीनसित जोडिएका नाकाहरुका माध्यमबाट चीन र दक्षिण एशिया जोड्ने सतह मार्ग नेपाल हुन सक्ने र नेपालको समृद्धिमा चीन सरकारको उल्लेख्य सहभागिता रहने तथा नेपाल र चीनबीच समृद्धिको साझेदारी हुन सक्ने सम्भावना नेपाली बुद्धिजीवीले व्यक्त गरेका छन् ।
विश्वमा धेरै जनसङ्ख्या भएको, क्षेत्रफलको दृष्टिले तेस्रो ठूलो र एक देश दुई राजनीतिक प्रणाली अपनाउने अनौठो मुलुकबारे बुझ्न सोही मुलुकमा नबसी, किताबका भरमा के सकिएला र ? त्यसैले बाहिरिया लेखक –पत्रकारहरु ड्«यागनको देश चीनलाई चियाउन मात्र सक्छन्, भित्रै पस्न सक्दैनन् ।
दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय भई सन् २००४ मा पहिलो पटक चीन पुगेका र चार वर्षदेखि चिनियाँ अन्तरराष्ट्रिय रेडियो बेजिङमा कार्यरत चेतनाथ आचार्यले ‘चीनलाई चियाउँदा’कृतिमार्फत चीनबारे आफ्ना रमाइला अनुभव बाँडेका छन् । आफूले भोगेका, सुनेका, देखेका र पढेका कुरालाई चीनलाई एक छेउमा बुझेको मानी उनले पाठकलाई त्यो ‘संस्मरण’ प्रस्तुत गरिदिएका छन् ।
नेपाली कलाकार बलबाहु अर्थात् अरनिकोले सन् १२७९मा बेजिङमा बनाएको चीनको राष्ट्रिय सम्पदाका रुपमा रहेको अग्लो र ठूलो श्वेतचैत्यमा अन्य नागरिकले तिर्नुपर्ने तर नेपालीले प्रवेशशुल्क नतिरी पस्न पाउने व्यवस्थालाई उनले नेपालको इज्जत र प्रतिष्ठाका रुपमा लिएका छन् । चीनमा अङ्ग्रेजी बोल्ने तथा अमेरिका र अमेरिकी संस्कृतिप्रतिको मोह राख्ने चलन, ठूला ठूला रुखहरु रोपी अन्यत्र लगेर रातारात जङ्गल बनाउने वृक्षरोपण पद्धति, बेजिङका चोक, पार्क, ट्याक्सी स्टयाण्डलगायत ठाउँमा पैसा लिनेदिने गरी जुवाका रुपमा ५४ पत्तीको तास र गट्टी(माच्याङ) खेल्ने चलन, आधुनिक विकासको स्वाभाविक प्रतिफलका रुपमा फस्टाएको यौन बजार, सन् २००८को ओलम्पिक खेल प्रतियोगितादेखि सार्वजनिक स्थानमा चारतारे होटेलमा भएसरहका शौचालय निर्माणका कुरा उनले वर्णन गरेका छन् ।
बेजिङ गएका नेपालीहरुले कसैले निकै जाडो र कसैले निकै गर्मी महसुस गरेको, कसैले फूलैफूलले ढाकिएको देखेको र कसैले उजाड देखेको जस्ता अनुभवले चीनलाई विचित्र बनाएको कुरा पनि उल्लेख गरिएको छ । बेजिङमा नक्कली पैसा र मोबाइल दिएर झुक्याउने, रिक्सा र ट्याक्सी चालकले ठग्ने गरेको र आफू र आफ्ना सहकर्मी पनि ठगिएको कुरा लेखकले मजासँग उल्लेख गरेका छन् ।
विश्वमा लेनिन र माओ अझै सुतिरहेका छन् । समाजवादी आन्दोलनका सफल प्रणेता लेनिन रुसको राजधानी मस्कोको रेड स्क्वायरमा ९३ वर्षदेखि र माओ थिआन आनमन स्क्वायरमा ८३ वर्षदेखि निदाइरहेका छन् । एकचालीस वर्षदेखि सुरक्षित माओको शव संरक्षण गरिराख्नु चानचुन कुरा नभएको र जसको दर्शन गर्न हजारौँ चिनियाँ र विदेशीहरु दिनदिनै आउने गर्छन् । लाम लाग्न बढी समय लाग्ने भएकाले कतिपय माओको शव हेर्न नपाई फर्कनुपरेको पनि देखिएको लेखकले जनाएका छन् ।
चीनमा सबै उमेरका मानिसले उत्साहपूर्वक ठूला ठूला चङ्गा उडाउने गरेको, आफ्नै नातिनीलाई सासूआमा र बाबु नातिनी ज्वाइँ हुने गरी भएको दुई थरीको विवाहले चीनमा चलेको चर्चा, कुनै समय ब्राजिलमा रेलसेवाबारे जानकारी लिन चीनका विज्ञहरुको गएकामा अहिले ब्राजिलले चीनसँग रेलको प्रविधिबारे जानकारी लिइरहेको अनौठो चमत्कार, चीनमा नेपाली भाषाको कतिपय गलत अनुवाद भइरहेको अनुभव, रातो खाममा ठूलासानालाई दक्षिणा दिने चलन, चिनियाँ जातिमा हुने विवाह संस्कार नाटकका रुपमा देखाउँदा लेखकले कुचोबाट पिटाइ खानुपरेको मर्म, चिनियाँ सञ्चारमाध्यममा नेपालबारे बेला बेला आउने भूकम्प र मानवीय अभिरुचिका अन्य आलेख–समाचार, औद्योगिक विकासमा अघि बढिरहेको चीन प्रदूषणमा अति नै लपेटिएको अवस्था, चीनमा हुने अपराध र निर्दाेषले पनि कैद भोग्नुपरेको स्थिति, फेब्रुअरी १४मा मनाइने विश्व प्रेम दिवसको सट्टा चीनमा नोभेम्बर ११ मा मनाइने एकल दिवस, भ्यागुता, गोही, सर्प, गाई, कुकुर आदिको मासु खाने तथा रक्सी बढी खाने चिनियाँ चलन र संस्कृति, चीनमा फेसबुक जस्तो सामाजिक सञ्जाल नचल्ने बरु वीच्याट चल्ने कुरा, गौतम बुद्ध भारतमा जन्मेको र सगरमाथा चीनमा पर्ने कुरा चिनियाँ सूचनास्रोतमा रहेको विडम्बना, उच्च माविको शिक्षापछि विश्वविद्यालयमा भर्ना हुन दिनुपर्ने काउखाउ परीक्षाका लागि परीक्षार्थीले भोग्नुपर्ने दवाव र तनाव जस्ता विषयलाई लेखकले रोचकपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेका छन् । चीनमा चार वर्ष मात्र बसेका मानिसबाट छिमेकी मुलुक र त्यहाँका मानिसबारे यतिको कृति आउनु नेपाली पाठकका लागि सन्तोषको कुरा हो ।
पत्रपत्रिकामा प्रकाशन भइसकेका केहीसमेत गरी राजनीतिक विषयबाहेकका २० वटा लेख, निबन्ध र संस्मरणको यो सङ्ग्रहमा एक विषयवस्तुको वर्णन गरेका ठाउँमा अर्कै विषयवस्तु पनि जोडिनु, लेखकको व्यक्तिगत अनुभूति र अनुभवभन्दा परका इन्टरनेटबाट झिकेर राखिएका थुप्रै पढ्न झण्झट लाग्ने तथ्यतथ्याङ्क बग्रेल्ती हुनु, एकै नामको हिज्जे फरक फरक पनि लेखिनु र केही मुद्राराक्षस देखिनु जस्तो कमजोरी पनि आएका छन् । चीन अध्ययन केन्द्रले विसं २०६४ असारमा प्रकाशन गरेको प्रा विश्वेश्वरमान श्रेष्ठको जानकारीमूलक कृति ‘चीन चियाउने आँखीझ्याल’ बारे लेखकले थाहा नपाएकाले होला, प्रस्तुत कृतिको नाम प्रा श्रेष्ठको कृतिसँग केही मिल्न पुगेको छ । चीनबारे नेपालमा कमै कृति नेपाली भाषामा प्रकाशन भइरहेका स्थितिमा यस कृतिले त्यसको अभाव मेट्ने काम गरेकामा भने खुशी नै मान्नुपर्छ ।
shyam_rimal@yahoo.com










