विद्यार्थी नेता रविन्द्र शाह हत्याका योजनाकार पक्राउ

जाजरकोट : गत वर्ष हत्या गरिएका नेपाल विद्यार्थी संघका पूर्व विद्यार्थी नेता रविन्द्र समशेर शाहका हत्याका योजनाकार पक्राउ परेका छन्। पौरख भनिने बलबहादुर मल्ललाई प्रहरीले रोल्पामा पक्राउ गरेको हो। नेत्र विक्रम चन्दको नेपाल कम्नियुष्ट पार्टीका कार्यकर्ता समेत रहेका मल्ललाई चुनावको अघिल्लो दिन मंसिर ९ गते रोल्पामा प्रहरीले पक्राउ गरिएपनि हालसम्म सार्वजनिक गरिएको थिएन।
चुनाव विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई जाजरकोटका रविन्द्र हत्याको योजनाकारको रुपमा प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेको थियो। उनी हत्या गरे लगत्तै फरार हुँदै आएका थिए। रोल्पा प्रहरीले मल्ललाई केही दिनअघि जाजरकोट पठाएको थियो।
जाजरकोट प्रहरीले उनलाई बिहीबार जिल्ला अदालतमा बुझाएको हो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश देवकुमार गिरी पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन्।
गत कार्तिकमा हत्यामा संलग्न भएको आरोपमा फरार रहेका अभिषेक भनिने दीर्घबहादुर नेपालीलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी जाजरकोट पठाएको थियो। उनलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
घटनामा संलग्न तथा योजनाकारको रुपमा डिल्ली भनिने डिलबहादुर राना र शिव भनिने ठगेन्द्र सिंहलाई घटना भएको एक सातामै प्रहरीले पक्राउ गरी अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए। मुख्य अभियुक्तको रुपमा रहेका मोहित सिंह र प्रेम वली फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको डिएस्पी रिमालले बताए। घटनाको वास्तिविकता पत्ता लागि सकेको छ।
ढिलो चाँढो सबै कानुनको कठघरामा आउनैपछर्, उनले भने, केहीलाई तारेखमा छोडेका छाै। फरार रहेकालाई पनि प्रहरीको मोस्ट वान्टेड सूचीमा राखिएको छ। अपराधी कुनै पनि हालतमा उम्कन पाउँदैनन्। पक्राउ परेका र फरार रहेका सबै विप्लब नेतृत्वको नेकपामा आवद्ध छन्। यद्यपी, पार्टीगत निर्णय नभई व्यक्तिगत रिसिईवी साँध्न घटना घटाइएको प्रहरीको भनाई छ।
राजनीतिकर्मी, समाजसेवी तथा निर्माण व्यवसायी समेत रहेका शाहले उनीहरुले मागे अनुसारको चन्दा नदिएको, कार्याकर्तासँग वादविवाद गरेको, एक सिंचाई योजनाको ठेक्काको सम्झौताअनुसारको पाट्नरसीप गरेका बलबहादुर मल्ललाई रकम नदिएकोलगायतका आरोपमा हत्या गरिएको प्रहरीको भनाई छ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाहलाई गत चैत्र १५ मा सदरमुकाम खलंगा थाप्ले स्थित जिल्ला अस्पताल नजिकै हत्या गरिएको थियो। मृतक शाहलाई सरकारले सहीद घोषणा गरिसकेको छ।










