वाम व्यवसायी एकता प्रक्रियामा

सुर्खेत । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता हुने भएपछि सुर्खेतमा दुवै पार्टीका भातृ संगठनहरु पनि एकताको प्रक्रियामा गएका छन् ।
पार्टी एकतालाई थप बल पु¥याउन र आम मतदातामा नयाँ सन्देश प्रवाह गर्नका लागि भातृ संगठनहरु एकताको प्रक्रियामा गएका हुन् ।
आज एमाले निकट व्यवसायीहरुको संगठन व्यापार विशेष इलाका र माओवादी केन्द्र निकट व्यवसायीहरुको राष्ट्रिय उद्योग व्यापार संगठनले संगठन एकता संयोजन समिति बनाएका छन् ।
उनीहरुले अहिले संयोजन समिति बनाएको र यसलाई संगठन एकता भइसकेको सरह मान्न अनुरोध गरेका छन् । वीरेन्द्रनगरमा एक विशेष भेला गरी दुवै संगठनले संयोजन समिति बनाएका हुन् ।
विष्णुबहादुर शाही संयोजक र मदन खड्का सहसंयोजक रहनेगरी संगठन एकता संयोजन समिति बनाइएको छ । त्यसको सदस्य सचिवमा चिन्तामणी शर्मा रहनुभएको छ भने आर्थिक समिति संयोजकमा इन्द्र प्रसाद शर्मा चयन हुनुभएको छ ।
यस्तै संयोजन समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठवन्धनलाई निर्वाचित गर्न तीनवटा कमिटी तयार गरेको छ ।
सुर्खेतको पूर्वी क्षेत्र हेर्नेगरी केदार शर्माको संयोजकत्वमा, वीरेन्द्रनगर भ्याली हेर्नेगरी पर्वल शाहीको संयोजकत्व र पश्चिम क्षेत्र हेर्नेगरी सूर्य रावतको संयोजकत्वमा समिति बनाइएको हो ।
भेलामा सुर्खेत निर्वाचन क्षेत्रनम्वर २ (क) का उम्मेद्वार यामलाल कँडेलले सुर्खेतलाई समग्र ६ नम्वर प्रदेशको व्यवसायिक केन्द्र बनाउनुपर्ने बताउनुभयो । व्यवसायिक केन्द्र बनाउनका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने र त्यसका लागि सुर्खेतले अगुवाइ लिनुपर्ने बताउनुभयो ।
अन्य क्षेत्रमासमेत सुर्खेतले अगुवाई गर्नुपर्ने भएकाले त्यसको अगुवाई गर्न आफूहरु तयार रहेको कँडेलले बताउनुभयो । कँडेलले लगानीमैत्री वातावरण बनाउन तथा बन्द र चन्दा सधैका लागि बन्द गराई विकसित प्रदेश बनाउनका लागि वाम गठवन्धनलाई मत हालेर जिताउनुपर्ने बताउनुभयो ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्रनम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नवराज रावतले वाम गठवन्धनले देश र जनतालाई विकास र निकाश दुवै दिने बताउनुभयो ।
उहाँले क्षेत्रनम्वर २ का धेरै भुभागका जनताले आधारभूत रुपमै अझै पनि अनुभूति गर्न नपाएका र विकासको नेतृत्व गर्ने पालो वाम गठवन्धनको आएको बताउनुभएको छ ।





error: Content is protected !!