प्रधानमन्त्री आफै आचारसंहिताको उल्लंघन गर्दै मन्त्रिपरिषद् विस्तार, कमल थापा बने उपप्रम

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
उनले शुक्रबार बेलुका राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त भएका हुन्।
यसैगरी, कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ।
राप्रपालाई सरकारमा भित्र्याएसँगै देउवाले माओवादी केन्द्रका मन्त्रीहलाइ हटाउने तयारी गरेका छन्। माओवादीले सम्हालेका मन्त्रालय दिने भएपछि राप्रपाले दुई दिनअघि मात्रै देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
निर्वाचन आयोगले मंसिरमा तय भएको निर्वाचनका लागि आचारसंहिता जारी गरेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। आयोगले चुनावको मुखमा कुनै अप्रिय कदम नचाल्न सरकारलाई भनिरहेको बेला सरकारले मन्त्रिपरिषद् विस्तार गरेको हो।



