चुनावी तालमेल र पार्टी एकताको निर्णयबारे महराको सनसनीपूर्ण खुलासा

काठमाडौं– माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले नेकपा एमाले ,माओवादी केन्द्र र नयां शक्तिबीच भएको चुनावी तालमेल र पार्टी एकता गर्ने निर्णयप्रती आफु असन्तुष्ट नभएको दाबी गरेका छन् । महराले तीन वटा पार्टीबीच भएको चुनाबी तालमेल र पार्टी ध्र्रुविकरणको अर्थ एमालेकरण वा माओबादीकरण नभएको स्पष्ट पारेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुसंग सल्लाह नगरी एमालेसंग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरेको भन्दै महरा असन्तुष्ट भएको समाचारहरु सार्वजनिक भएपछि उनको यस्तो धारणा आएको हो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री समेत रहेका नेता महराले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै तीन पार्टीको धु्रविकरण एक अर्कामा बिलय नभएको स्पष्ट पारेका छन् । उनले देशमा समाजबाद स्थापना गर्न सबै कम्युनिष्टहरु एक ठाउमा आएको दाबी समेत गरेका छन् ।
यस्तो छ महराको फेसबुक पोष्ट –
एमाले, माओवादी केन्द्र र नया शक्ती बीच भएको चुनाबी तालमेल र पार्टी ध्रुबिकरण को अर्थ एमालेकरण वा माओबादीकरण वा एक अर्कामा बिलय नभई देशमा समाजबाद स्थापना गर्ने उद्देश्यमा आधारित सबैको कम्युनिष्टकरणको महाअभियान हो ।
अब एमाले, माओबादी केन्द्र र नया शक्ती लगायतका ध्रुबिकरणमा आउनेहरुले आफ्नो पुरानै आधारमा सोच्ने होईन बरु नया उचाईमा उठेर रूपान्तरण भई देश जनताको हित गर्ने संकल्प गर्नु पर्दछ ।



