डेंगुका बिरामी बढ्दै जाँदा स्थानीय भयभित

Image result for dengue ka ilaj      गौशाला, १८ असोज : महोत्तरी जिल्लाको बर्दिवासमा मात्र दुई दिनअघि देखापरेको डेंगु रोगका बिरामीको संख्या क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन् ।

सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु रोग अहिले क्रमिक रुपमा ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा सो रोगको त्रास देखिएको छ ।

मंगलबारसम्म बर्दिवास अस्पतालमा र स्थानीय निजी क्लिनिकमा परीक्षणका लागि आएका ३९ जनामा डेंगु रोग देखिएपछि सो क्षेत्रमा बसोवास गर्ने स्थानीय सो रोगबाट भयभित भएका छन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले बर्दिवासका स्थानीय बासिन्दामा मात्रै २६ जनामा डेंगु रोग देखिएको र बाँकी १३ जना धनुषा र सिन्धुलीका बासिन्दा रहेको बताउनुहुँदै सो रोग देखिएपछि त्यस क्षेत्रमा मंगलबारदेखि नै स्वास्थ्य टोली खटाएर रोग नियन्त्रण तथा उपचारको कार्यक्रम सञ्चालन गरिसकेको बताउनुभयो ।

डा यादवले सो रोग देखिएका सबैलाई काठमाडौँको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि जान समेत भनिसकिएको र त्यस क्षेत्रमा सो रोग फैलिन नदिनका लागि तुरुन्तै स्थानीय बासिन्दा, नगरपालिका प्रमुख तथा सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि काठमाडौँ पठाउने तथा त्यस रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसमेत महोत्तरीको बर्दिवास क्षेत्रकै निर्वाचित प्रतिनिधि हुनाले उहाँको समेत निर्देशनमा बर्दिवासमा डेंगु रोगविरुद्ध विशेष कार्यक्रम तुरुन्त सञ्चालन गरिएको स्थानीय बताउँछन् ।

तर पनि मात्रै दुई÷तीन दिनको अवधिमा ३९ जनामा सो रोग देखिएपछि स्थानीय अझै त्रासमा रहेका छन् ।

(रासस)





error: Content is protected !!