भोलि कति बजेको साईतमा टिका लगाउदा उपयुक्त हेर्नुस ,के छ?

काठमाडौं, असोज १३ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । भोलि असोज १४ गते बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ ।
दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।
“राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ”–उहाँले भन्नुभयो ।
विजया दशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ ।
असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ ।



