काठमाडौंबाट २३ लाख बाहिरिए, राजधानी काठमाडौ बन्यो सुनसान

काठमाडौं– यो कुनै पार्टी विशेषको बन्दकाबेलाको तस्विर भन्ने तपाईँलाई लाग्न सक्छ । तर यो कुनै बन्द हड्तालकाबेला सुनसान काठमाडौंको सडकको तस्विर होइन । देशैंकाबेला काठमाडौंमा बस्ने ठूलो संख्या राजधानी बाहिर गएपछि देखिएको सुनसान सडक हो ।
हिन्दु नेपालीहरुको महान चाड बडादशैंका लागि राजधानीबाट घटस्थापनादेखि आजसम्म २३ लाख बाहिरिएका छन् । विभिन्न पेशा, ब्यवसाय तथा अध्ययनका लागि राजधानीमा रहँदै आएको ठूलो समूहले एकै पटक राजधानीबाट बाहिरिएपछि राजधानी यतिबेला सुनसान बनेको छ ।
सधैं ट्राफिक जामको हैरानी खेप्नुपर्ने बाध्यता हटेको छ भने ट्राफिक प्रहरीसमेत चोकचोकमा हात हल्लाएर बस्नु परेको छैन ।
विहीबार भन्दा शुक्रबार राजधानीका सडक झनै सुनसान बनेको छ । छिटफुट रुपमा निजी सवारी साधन संचालन भएपनि सार्वजनिक यातायात ठप्प छन् ।
सधैं व्यस्त रहने राजधानीका मुख्य बजार न्युरोड, असन, घण्टाघर, रत्नपार्क पुतली सडक, बागबजार, बानेश्वर, दरबारमार्ग लगायतका सडकमा छिटफुट मात्रै गाडीहरु चलेका देखिन्छन् । दशैंको अवसर पारेर बढी भाडा लिने लामो दूरीका गाडीलाई कारबाही गर्ने भन्दै प्रहरीले चेकजाँच कडा पारेको छ ।
दशैंको अवसर पारेर बढी भाडा लिएका १४ लामो दूरीका र ६० वटा ट्याक्सीलाई प्रहरीले कारबाही गरेको छ ।



