भत्ता नपाएपछि जेष्ठ नागरिकको दशैं नै बन्यो खल्लो

१३ असोज, रामेछाप नगरपालिका-७ मुडाजोरकी मैयाँ कार्कीले सरकारले दिने जेष्ठ नागरिक भत्ता लिएर दशैँको टिकोटालो गर्ने योजना बनाएकी थिइन् । हरेक वर्ष जेष्ठ नागरिक भत्ताले दशैंको गर्जो टार्ने कार्कीले यस वर्ष पनि त्यही पैसाबाट खर्चपर्च चलाउने योजना बनाएकी थिइन् । तर दशैँको मुखमा पनि सरकारबाट भत्ता नपाएपछि उनको दशैं नै नरमाइलो भएको छ ।
सरकारले जेष्ठ नागरिकहरुको लागि मासिक दुई हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै । यस्तो भत्ता एकल महिला, अपांगता भएका ‘क’ वर्गको कार्ड लिएका नागरिकहरुलाई मासिक रुपमा स्थानीय तहमार्फत रकम वितरण हुन्छ । मासिक रुपमा लक्षित समुदायलाई प्रदान गर्नु पर्ने सो रकम स्थानीय तहका कर्मचारीहरुले आफ्नो सजिलोको लागि चौमासिक रुपमा प्रदान गर्दै आएका छन् । सोही अनुसार साउनदेखि कात्तिक महिनासम्मको रकम हरेक वर्ष दशैँअघि उनीहरुलाई वितरण गरिँदै आएको थियो । तर यस वर्ष भने रामेछापका अधिकांश जेष्ठ, अपांगता भएका र एकल महिलाले सो रकम पाउन सकेनन् ।
दशैं अघि रकम आउला र दशैंको गर्जाे टारौंला भनेर बसेका मैयाँ जस्तै धेरै जेष्ठ नागरिकहरुको यस वर्षको दशैं खल्लो भएको छ । ‘चार महिनाको ८ हजार आउँथ्यो । ८ हजार भए एउटा गर्जाे नै टर्थ्यो । आउने जाने छोरी-ज्वाइँ, नाति-नातिनालाई यसो टीको लगाएर दिने दक्षिणा हुन्थ्यो,’ मैयाँ कार्कीले भनिन्, ‘फूलपातिको अघिल्लो दिनसम्म दिने भन्दै थिए । तर लाष्टमा आएर पैसा दिएनन् । अबै दशैंमा टिकोटालो गर्न ऋण काढ्नु पर्ने भो ।’
कतिपय गाउँपालिका र नगरपालिकामा सयममा नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नभएको कारण उनीहरुले समयमा पैसा पाएनन् । कतिपयमा भने कर्मचारीले बेवास्ता गरेको कारण रकम पाएनन् । कतिपय गाउँपालिकाहरुमा कर्मचारीको उचित व्यवस्थापन नहुँदा समयमा रकम वितरण हुन सकेन ।
‘सामाजिक सुरक्षा भत्ताको पैसा त आएको थियो तर गाउँपालिकामा रहेका कार्यकारी अधिकृतकको सरुवा भएको र नयाँ कार्यकारी नआएको कारण दशैं अघि सामाजिक सुरक्षा भत्ताको रकम दिन सकिएन,’ लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले भनिन् ।
‘दशैमा पैसा दिन पाएको भए बुढाबुढीहरु खुसी हुन्थे, आफन्तहरुलाई यसो दुई-चार रुपैयाँ दक्षिणा दिन छोरा-बुहारीको हात थाप्नु पर्दैनथ्यो तर कर्मचारीको व्यवस्थान नहुँदा दशैँ अघि पैसा दिन सकिएन,’ उनले थपिन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएर जप्रतिनिधि आएपछि सर्वसाधारणको काम छिटो हुने सबैले अपेक्षा गरेका थिए । तर विगतको जत्तिको सेवा पनि नपाएपछि सर्वसाधारणलाई निराश बनाएको छ । यसैले यस्ता नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा जनप्रतिनिधिहरु संवेदनशिल हुनु आवश्यक देखिएको छ ।
-अन्लाइन खबर



