आक्रामक बन्दै उत्तर कोरिया: जापानी आकाशमाथि अर्को क्षेप्यास्त्र प्रहार

एजेन्सी : उत्तर कोरियाले जापानी आकाशमा दोस्रो क्षेप्यास्त्र प्रहार गरेको छ । जापानी तथा दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र जापानको होकाइदो टापुको आकाशमाथि उडेको थियो ।

चिनियाँ टेलिभिजन सीजीटीएनले जापानी सञ्चार माध्यामलाई उद्धृत गर्दै दिएको खबर अनुसार शुक्रबार बिहान स्थानीय समय ७ः१६ बजे तिर मिसाइल प्रहार गरिएको हो ।  होकाइदो टापुको उत्तरी भागमा केहीबेर उडेर प्रशान्त महासागरमा खसेको जनाइएको छ ।

उत्तरको राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। यसअघि २९ अगष्टमा उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र पनि होकाइदो टापुमाथि उडेर प्रशान्त महासागरमा खसेको थियो।

उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको हो। जापानी आकाशमा उत्तर कोरियाली क्षेप्यास्त्रजापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ।सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको भन्दै सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन्। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ।

सीजीटिएनका अनुसार यस विषयमा छलफल गर्नका लागि वेलुका ७ बजे(ग्रीनवीच समय) संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को पनि अकस्मिक बैठक आह्वान गरिएको छ ।





error: Content is protected !!