सुर्खेतका बाढीपीडित भन्छन् ‘ हामीलाई दशै होइन दशा आयो ’

सुर्खेतमा विनासकारी बाढी आएको ३ वर्ष भइसक्यो । तर, सुर्खेतका बाढीपीडितहरुको दैनिकी अहिले पनि त्रिपालमुनिबाट फर्किएन । ३ वर्षमा धेरै सरकार फेरिए, धेरै नेता फेरिए, तर, उनीहरुको दिन भने फेरिन सकेन । वरीपरि जङ्गल, नजिकै खोला छेउको सानो चउरमा स– सना त्रिपालका झुपडीहरु त्यसैमा जीवनका दुःख सुखका अनुभूति नियाल्दै बस्न बाध्य छन् पीडितहरु । उनीहरु भन्छन् ‘हामिलाई दशै होइन दसा आयो न घरमा खाने अन्नको गेडो छ न बस्ने गतिलो बास । ठुलो चाड दशै आयो अरुमा खुसी छाउँछ हाम्रो मन भक्कानिन्छ । यहि त्रिपालमुनि पनि केटाकेटीसँग राम्रोसँग दशै मनाउने पैसो पनि हुदैन बाढीले बगाएको घरबारीको याद यो बेला धेरै आउने रहेछ ।’
भेरीगंगा १२ स्थित हटारु खोला नजिकै विगत ३ वर्षदेखि त्रिपालमा जीवन गुजारा गर्दै आएका लेकपराजुल ८ डुम्रिखोलाका बाढीपीडितले २०७१ साउनको अन्त्यमा आएको बाढी र पहिरोले घर बास गुमाउनुपरेको थियो । ‘स्थानीय तहको चुनावमा धेरै पार्टिका नेताहरु आए र भने तपाईहरुले हामिलाई भोट दिनुहोस् हामी तपाईहरुलाई चुनाव जित्ने बित्तिकै जग्गा दिन्छौ, घर बनाइदिन्छाैँ । तर, चुनाव भएर ५ महिना बितिसक्यो १ पटक पनि हाम्रो झुपडीमा कुनै पार्टिका नेताहरु फर्केर आएनन् । ’ बाढीपीडित कृपा सिंह डांगीले दुखेसो पोखे । ‘३ वर्ष भइसक्यो अहिले सम्म सरकारी पक्षबाट कुनै पहल थालिएको छैन अझै कति त्रिपालमै बस्नुपर्ने हो, उनले भने ।’ दशै आयो छाक टार्न मुस्किल छ । ’
अर्की पीडित धनकुमारी खत्रीले भनिन् ‘सबैलाई दशै तिहार आयो तर, हामीहरुलाई भने झझल्को लगाउने दशै तिहार नआइदिएको भए हुन्थ्यो । दुई बुढाबुढि छौ भएका छोराहरु सबै कोठा भाडामा लिएर बस्छन् हामी केहि गर्न नसक्ने बृढाबुढि मात्र यहाँ बस्छौ बुढालाई सधैजसो औषधी खुवाउनु पर्छ आफु दिनभर मजदुरी गर्छु जीवन गुजारा गर्न मुस्कील छ । पहिला पहिला त रेडक्रस लगायत सरकारी तथा गैरसरकारी संस्थाहरुले चामल दाल लगाएत सहयोग गर्थे तर, आजभोली कोहि पनि आउँदैनन् । सहयोग नपाएपछि कहिलेकाहि त छाक टार्नै मुस्कील हुन्छ’ धनकुमारीले पीडा पोखिन् ।



