यसकारण अपहरणमा परे थवाङ गाउँपालिकाका अध्यक्ष घर्तीमगर
नवीन लोचनमगर
रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगरलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेका छन् । बिहीबार राती १० बजेतिर थबाङ–२, स्थित ससुराली घरमा सुतिरहेका अध्यक्ष घर्तीमगरलाई अज्ञात समूहले बोलाएर लगेको र त्यसपछि उनको अवस्था अज्ञात रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । घटनास्थलबाट प्रहरीचौकी पुग्न करिब दुई घण्टा लाग्ने भएकाले पनि तत्काल प्रहरी पुग्न नसकेको र खबर पाएलगत्तै खोजी कार्य जारी राखिएको प्रहरी प्रमुख थापाले बताए ।
गाउँसभा विफल पार्ने योजना
थबाङ गाउँपालिकाको गाउँसभा भदौ ३१ गते हुने कार्यतालिका तय गरिएको छ । उक्त गाउँसभालाई पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रमलाई असफल बनाउन विप्लव नेतृत्वको नेकपाले अपहरण गरेको हुनसक्ने प्रशासनले आशंका गरेको छ । तर, नेकपाले भने अपहरण नगरेको बताएको छ । नेकपाको पकडको रुपमा चिनिएको थवाङ गाउँपालिकामा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । गाउँपालिकाको सभालाई भन्दा पनि प्रचण्डको आगमनलाई रोक्न अपहरण गरिएको हुनसक्ने प्रशासनको अनुमान छ ।