सांसदको उम्मेदवारीका लागि लबिङ

जाजरकोट । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार मनोनयन गर्ने मिति सार्वजनिक गरेसँगै जाजरकोटमा राजनीतिक सरगर्मी बढेको छ । सम्भावित उम्मेदवारले टिकटका लागि लबिङ सुरु गरेका छन् । दलहरूले मतदाता रिझाउन घरदैलो अभियानदेखि चुनावी सभा समेत गर्न थालेका छन् । चियापसल, चोक, सरकारी तथा गैरसरकारी कार्यालय र पार्टी कार्यालयमा चुनावकै चर्चापरिचर्चा हुन थालेको छ । कसले टिकट पाउनेको अड्कलबाजी गर्न थालिएको छ ।
६ नम्बर प्रदेशमा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ । जाजरकोटमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेत जाजरकोटबाटै संघीय संसदका लागि उम्मेदवार हुने निश्चितप्रायः भैसकेको छ । माओवादी केन्द्रबाट क्षेत्र नं १ मा गणेशबहादुर सिंह, मायाप्रसाद शर्मा र रामदीप आचार्यको नाम चर्चामा छ । क्षेत्र नं २ बाट भने नरबहादुर कार्कीको नाम सर्वसम्मत प्रस्ताव गरिएको माओवादी केन्द्रका नेता यज्ञबहादुर खत्रीले बताए ।

कांग्रेसबाट पनि जाजरकोट क्षेत्र नं २ का सांसद राजीवविक्रम शाहले टिकट पाउने निश्चित जस्तै छ । आकांक्षी धेरै भएपछि पार्टीमा गुटगत लबिङ थालिएको छ । क्षेत्र नं १ मा कांग्रेसबाट वेदराज सिंह, सनतकुमार कार्की, मैना कार्की रावल र मुक्तिप्रसाद आचार्यले आकांक्षा देखाएका छन् । त्यस्तै क्षेत्र नं २ बाट दीपकजंग शाह र रत्नबहादुर खड्काले आकांक्षी देखिएका छन् ।
एमालेको उम्मेदवार भने उम्मेदवारको टुंगो अझै लागिसकेको छैन । पूर्व सांसद गोविन्दविक्रम शाह र पूर्व जिविस सभापति भैरवसुन्दर श्रेष्ठले संघीय सांसदमा दाबी गरेका छन् । शाह दुई वर्षअघि राप्रपा त्यागेर एमालेमा प्रवेश गरेका हुन् । माधव नेपाल गुटमा रहेका उनले आफ्नो व्यक्तिगत मत धेरै भएकाले आफूले टिकट पाए चुनाव जित्ने दाबी गरे । एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले आफू स्वाभाविक दाबेदार भएको र चुनाव जित्नेमा पनि ढुक्क रहेको बताए । उनी ओली निकट छन् । एमालेमा क्षेत्र नं १ मा निरज आचार्य, रीता रावल र डम्बरबहादुर सिंहको चर्चा छ भने क्षेत्र नं २ बाट करवीर शाही, कृष्णबहादुर बुढा, रत्नप्रसाद शर्मा र कौशिला खत्री टिकटका आकांक्षी छन् ।

दलहरूले मतदाता रिझाउन घरदलो अभियानदेखि चुनावी सभा समेत गर्न थालेका छन् ।
टिकटका लागि कतिपयले केन्द्रमा लबिङ थालेका छन् भने कतिपयले जिल्लामै लबिङ सुरु गरेका छन् । केही सम्भावित उम्मेदवार भने स्थानीय र कार्यकर्ता रिझाउन विभिन्न अभियान लिएर गाँउ पसेका छन् । कांग्रेसका नेता वेदराज सिंहले बारेकोट गाउँपालिकाबाट गाउँ जागरण तथा कार्यकर्ता प्रशिक्षण थालेका छन् । उनले जसले टिकट पाए पनि जित्न संगठन बलियो हुनुपर्ने भएकोले कांग्रेस बलियो बनाउने अभियानमा आफू लागेको बताए । एमाले नेता निरज आचार्यले पनि कार्यकर्ता भेटघाट र गाँउ जागरण अभियान लिएर पूर्वी जाजरकोटतर्फ प्रस्थान गरेको बताए । माओवादी केन्द्रका जिल्लास्तरीय नेताले पनि चुनाव लक्षित भेटघाट तीव्र बनाएका छन् ।
जिल्लामा तीन वटै पार्टीले आफ्नो पकड राम्रो भएको दाबी गरेका छन् । आफूले जित्नेमा उनीहरू ढुक्क भएको बताउँछन् । स्थानीय तहको निर्वाचनमा एमाले तीन, माओवादी दुई र कांग्रेस दुई स्थानमा विजयी भएका थिए । माओवादी केन्द्रका नेता बस्नेत र कांग्रेस नेता शाह दुवै आफ्नो जीत सुनिश्चित भएको दाबी गर्छन् । संघीय संसदभन्दा प्रदेश संसदमा बढी आकांक्षी देखिएका छन् ।

२०४८ सालदेखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा कांग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट कांग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा र अर्कोमा एमाले, २०६४ सालमा दुवै सिट माओवादी केन्द्र, २०७० सालमा एकमा माओवादी केन्द्र र अर्कोमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । भेरी ज्ञानोदय क्याम्पसका क्याम्पस प्रमुख मोहनविक्रम शाहले एक पटक चुनाव जितिसकेपछि जनचाहना अनुसार काम नगर्दा दोस्रोपटक जित्ने सम्भावना कम देखिएकाले यसलाई नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए । ‘जिल्लाका नेता दोहोरिएर टिकट नपाउने पाए पनि नजित्ने अवस्था देखियोु, उनले भने, ‘जसले जिते पनि जिल्लाको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ ।ु





error: Content is protected !!