प्रचण्डको खुलासाः तरार्इमा कसले दियो साडीसँगै हजारको नोट ?

सिन्धुली । तेस्रो चरणको स्थानीय निर्वाचनका क्रममा चुनावी प्रचार प्रसारमा लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराईका पुराना दलका उम्मेदवारले स्थानीय महिलाहरुलाई प्रभावित पार्नको लागि एक महिला एक साडी, साडी भित्र हजारको नोट जस्ता अभियान चलाएको पाइएको खुलासा गरेका छन् ।

सोमबार प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचनका लागि सबै दलहरु चुनावी अभियानकै क्रममा लागिरहेका बेला तराइका पुराना दलहरुनै स्थानीयलाई आर्थिक प्रलोभन देखाएर भोट मागिरहेको खुलासा गरेका छन् ।

कसले यसरी बाँड्यो भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा प्रचण्डले प्रायः पुराना पार्टीका उम्मेदवारहरु बढी रहेको बताए ।

तराईका कतिपय स्थानमा बहुदल आएदेखि अहिलेसम्म जसले बुथ कब्जा गर्न सक्यो उसैले मात्र चुनाव जित्ने गरेको स्थान पनि धेरै रहेकाले त्यसतर्फ गृहमन्त्री र स्थानीय प्रशासकहरुको ध्यानाकर्षण गराएको प्रचण्डले बताए ।

भारतसँग सिमा जोडिएका जिल्लाहरुमा वर्षाैदेखि नै बुथ कब्जा गर्ने र निर्वाचन जित्ने परिपाटी रहेको तथ्य नलुकेको उनले बताएका छन् ।

दुई नम्वर प्रदेशमा माओवादी ठुलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले नै यसै भन्न गर्न नसक्ने बताए । मधेसमा अहिले देखिएको निर्वाचनको माहोल, पहाडी र हिमाली जिल्लामा भन्दा पनि बढी रहेको उनको भनाई छ ।

‘तराईका ८ जिल्लामा निर्वाचनमा जुन प्रकारको हुलदंगाको आशंका गरिएको थियो, त्यो सवै गलत सावित भए, तराईमा अहिले त निर्वाचनको विरोध गर्ने केही पनि जीव छैन’, पहाडमा भन्दा तराईमा निर्वाचनको सरगर्मी बढी छ, प्रचण्डले भने ‘तराई मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता हो ।’

असोज २ गते तेस्रो चरणको निर्वाचनबाट यस प्रदेशका जनतालाई केन्द्रिय राजनीतिसँग जोड्न सके नेपालको राष्ट्रियता दह्रो हुने दाबी गरे ।





error: Content is protected !!