उत्सर्ग रंग पत्रकरिता पुरस्कार बुढाथोकीलाई

दाङ । राप्तीको कला क्षेत्रको उन्न्यनमा समर्पित उत्सर्ग फिल्मस् नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार केशरमान बुढाथोकीलाई प्रदान गर्ने भएको छ । पत्रकारिता एवं साहित्यको माध्यमबाट कला क्षेत्रको विकास एवं प्रवर्द्धनमा उल्लेख्य योगदान पुर्याएकोले बुढाथोकीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक के एल पीडितले जानकारी दिनु भयो ।
तीन वर्ष अघि स्थापना गरिएको उत्सर्ग रंग पुरस्कारको राशी रु। ५ हजार रहेको छ । यस अघि यो पुरस्कार पत्रकारद्वय दुर्गालाल केसी र उदय जीएमले प्राप्त गरिसक्नु भएको छ ।
यो वर्षको पुरस्कारका लागि छनौट हुनु भएका बुढाथोकी विगत लामो समयदेखि कला, साहित्य, पत्रकारिता एवं पर्यटनको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । इन्द्रेणी अनलाइनका सम्पादक बुढाथोकी नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय महासचिव एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको सदस्य हुनुहुन्छ । नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका बुढाथोकी थुप्रै सामाजिक संस्था एवं अभियानहरुमा पनि संलग्न हुनुहुन्छ ।



