भारतीय सेनाध्यक्ष रावत फेरी नेपाल आउदै, यस्तो छ उनको कार्यतालिका

काठमाडौं–भारतीय सेनाध्यक्ष विपिन रावत नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेना र भारतिय सेनाबीच रुपन्देहीको सालझण्डीमा चलिरहेको ‘सुर्यकिरण’ नाम दिइएको बटालियन तहको सैन्य अभ्यासको समापन समारोहमा सहभागी हुन थल सेनाअध्यक्ष रावत नेपालको औपचारीक भ्रमणमा आउन लागेको बुझिएको छ ।
भदौ ३० मा नेपाल पुग्ने रावतले प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग औपचारीक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसका साथै रावत सैन्य अभ्यास समारोहमा प्रमुख अतिथीको रुपमा सहभागी हुनेछन् ।
सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले संयुक्त सैन्य अभ्यासको समापन कार्यक्रममा भारतिय प्रधानसेनापति सधै सहभागी हुने प्रचलन भएपनि यसपटकको कार्यक्रमबारे आफुलाई जानकारी नभएको बताए । उनले भने ‘प्रायजसो सैन्य अभ्यासको समापनमा भारतिय सेनाअध्यक्ष आउने चलन छ,तर यसपटकको भ्रमणनिश्चित भइसकेको छैन् ’
उनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भिमसेनदास प्रधानलगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ । हाल भारतिय सेनाका तीन सयभन्दा बढी अधिकृत र जवानले नेपाली सेनासंग सैन्य अभ्यास गरिरहेका छन् । पछिल्लो समय नेपाली सेना र चिनियां सेनाबीच सैन्य सम्बन्ध मजबुद हुदै गएको बेला सेनाअध्यक्ष रावतको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि, भारतिय सेनाअध्यक्ष गत मार्च २८ देखी ३१ सम्म नेपालको चार दिने औपचारीक भ्रमणको क्रममा काठमाण्डौ आएका थिए । भारतिय सेनाअध्यक्षमा नियुक्त भएपछि रावतको यो दोस्रो नेपाल भ्रमण हो । नेपाल र भारतका सेनाबीच एक अर्को सेनाको मानार्थ प्रधानसेनापति बन्ने प्रचलन छ ।



