सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते

जाजरकोट २२ भदौँ । यहाँको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । सुर्खेतको पुर्वी क्षेत्रमा पर्ने गुर्भाकोट नगरपालिकाको वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको वडा ४ का वडा अध्यक्ष प्रशान्त शाहले टेलिफोन मार्फत जानकारी दिनुभयो । घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन् । स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा नगर स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरु सहितको आकस्मिक वैठक वसीको कार्यकारी अधिकृत टेकवहादुर खत्रीले जानकारी दिनुभयो । वैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भएको थियो । वैठकले यातायात खर्च दिएर विरामीको उपचार गर्न सम्वन्धित ठाउँमा पठाउने निर्णय गरेको छ । विगतका वर्षहरुमा पनि यहाँका विभिन्न ठाउँमा स्यालको टोकाईवाट दर्जनौ घाईते भएका थिए ।



