राजपाका तीन केन्द्रीय सदस्य सहित पाँच हजार माओवादी केन्द्रमा प्रवेश पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’

सिमरा, भदौ १९। राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा ‘बादल’, मातृका यादव र रामेश्वर राय यादवले स्वागत गर्नुभएको थियो ।
आइतबार नै बारा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बारा जिल्लाको कोल्हबीमा २७० र जितपुर सिमरा उपमहानगरमा १५० जना गरी ४२० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आइतबार नै पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पहाडी र मधेशी अतिवादको विरोध गरौं, ‘प्रचण्ड’

सभामा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा अतिवादीहरु मौलाएको भन्दै पहाडी र मधेशी अतिवादको विरोध गर्न अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्, तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन् । अर्कोथरि मान्छेहरु पहाडियाप्रति घृणाको नजरले हेर्छ । नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ । त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं ।’

‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिडाउने अतिवादको विरुद्धमा छौं’, प्रचण्डले भन्नुभयो, ‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ । मधेश बन्न पहाडको श्रम र पसिना छ, यो यथार्थलाई हामीले झुल्नु हुँदैन । सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ ।’

सम्बन्धित् समाचार  रामानन्द चोकः दुई पूर्व प्रधानमन्त्री, एउटालाई कुचो, अर्कोसँग सेल्फी

मधेशी दलले राजनीतिको ब्यापार गरे, ‘प्रवेशी नेताहरु’

माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दल र राजपाले राजनीतिको ब्यापार गरेको बताए । सभामा बोल्दै राजपा नेता चेतनारायण महतोले भन्नुभयो, ‘मधेश आन्दोलनमा त्यत्रो बलिदान भयो । तर, मधेशी नेताहरुले जनताको हित सोचेनन्, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेनन् । देशको एक मात्र क्रान्तिकारी र विकासको नेतृत्व गर्ने पार्टी माओवादी केन्द्र भएकाले मैले राजपा छोडें । अब मधेशमा राजपाको राजनीतिक औचित्य पनि छैन ।’ कार्यक्रममा बोल्दै नेता रामेश्वर राय यादवले मधेशमा माओवादीको पक्षमा ठूलो लहर आएको बताउँदै माओवादीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताउनु भयो ।





error: Content is protected !!