खलंगामा साना हयाचरी

जाजरकोट । नागरिक कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले भेरी नगरपालिका ३, खलंगामा पहिलोपटक साना हयाचरी सञ्चालनमा ल्याएको छ । जिल्ला पशु सेवा कार्यालयअन्तर्गतको कृषि तथा खाद्य सुरक्षा कार्यक्रम आयोजनाको आर्थिक सहयोगमा हयाचरी सञ्चालन भएको हो ।
पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक केशव अछामीले खलंगामा हयाचरीको उद्घाटन गरेका छन् । स्थानीय स्तरमा चल्ला उत्पादन गरी किसानको आय वृद्धि गर्न र स्वच्छ मासु तथा अन्डा आपूर्तिले पोषण सुधारमा सघाउ पुर्‍याउने उद्देश्यले हयाचरी सञ्चालन गरेको कार्यक्रम निर्देशक अछामीले बताए । कुखुरापालनबाट ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा टेवा पुग्ने उनको भनाइ छ । आयोजनाको ६ लाख लगानीमा सोलार विद्युतबाट सञ्चालन हुने उद्योग जिल्लामा पहिलोपटक स्थापना भएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत सुमिन्द्र यादवले बताए । २१ दिनको सेटमा १८० चल्ला उत्पादन क्षमताको हयाचरी स्थापना भएको यादवले बताए ।
हयाचरीबाट वर्षमा ५ हजार चल्ला उत्पादन गरी नागरिक कृषि तथा पशुपालन सहकारी संस्थामार्फत किसानलाई वितरण गर्ने लक्ष्य रहेको उनले बताए । हयाचरीमा आवश्यक पर्ने अन्डाका लागि बस्नेत कुखुरा पालन फर्म कालेगाउसँग सम्झौता गरिएको यादवले बताए । ‘बस्नेत कुखुरापालन फर्मले २१ दिनको फरकमा २ सय अन्डा उप्लब्ध गराउनेछ,’ उनले भने ।
जिल्ला पशु सेवा कार्यालयका साथै कृषि तथा खाद्य सुरक्षा कार्यक्रम आयोजनाले यहाँका सयौं किसानलाई साना अनुदान कार्यक्रमअन्तर्गत कुखुरापालन, बाख्रापालनलगायत दर्जनौं योजना वितरण गरेको यादवले बताए । आयोजनाले हरेक वर्ष ५ देखि १० हजार चल्ला वितरण गर्दै आएको उनले बताए । यस जिल्लाका किसानमा कुखुरापालनतर्फ आकर्षित भएको उनले बताए ।
हयाचरीको सफल परीक्षणपछि आगामी दिनमा ठूला हयाचरी व्यवसाय सञ्चालनको पहल गर्ने योजना रहेको उनले जनाए । चल्ला पालनका लागि किसानको माग बढेको उनले बताए । खसीको मासु उत्पादनमा जिल्ला आत्मनिर्भर भएको र केही वर्षपछि कुखुराको मासु तथा अन्डामा पनि आत्मनिर्भर हुने यादवले विश्वास जनाए ।

 





error: Content is protected !!