उपल्लो डोल्पाबासीले पाउने सहुलियतको चामल राजधानीमै थन्कियो

डोल्पा । डोल्पाको उत्तरी क्षेत्रका जनताले दुईवर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । नेपाल सरकारले विगतका वर्षहरुमा छोटो समय र कम ढुवानी रकममा उपल्लो डोल्पाका शे–फोक्सुन्डो,छार्काताङसोङ र डोल्पो बुद्ध गाँउपालिकामा चामल नुन लगायतको खाद्यान्न पुर्याउने गरेतापनि केरुङ नाका विवादपछि उपल्लो डोल्पा लैजानु पर्ने चामल दुई वर्षदेखि काठमाडौंमै थन्किएको हो । उपल्लो डोल्पाको लागि छुट्टर्याइएको आव ०७२र७३ देखि ३८ सय क्वीन्टल चामल र ३ हजार क्वीन्टल नुन काठमाडौंकै गोदाममा थन्किएको हो ।
प्रत्येक वर्ष खाद्यान्न संकटको चरम मार खेपीरहेको उपल्लो डोल्पामा दुईवर्ष देखि अनुदानको चामल र नुन नजा“दा उपल्लो डोल्पाबासी ठुलो मर्कामा परेका छन् । केरुङ नाका विवादका कारण माथिल्लो डोल्पामा चामल लैजान नसकिएको ठेकेदार बिजय रोेक्काले बताए । भन्सार करमा वृद्धि भएकाले व्यापारीसँग कुरा नमिलेपछि समयमै माथिल्लो डोल्पामा खाद्यान्न ढुवानी हुन नसकिएको उनको भनाई छ । माथिल्लो डोल्पामा चामल लैजान १ सय भन्दा धेरै ट्रक आवश्यक पर्ने भएको र केरुङ नाका जान रसुवाकै चालकमात्र हुने व्यवस्था भएकाले अन्य चालकले जान नपाउने भएपछि पनि चामल र नुन ढुवानीमा समस्या भएको ठेकेदार रोकायले बताए ।
हालै मात्र पुरानो र नयाँ खाद्यान्न सहित दैनिक १२ देखि १५ वटासम्म ट्रक लोड गरेर पठाउने गरेको र अवको एकसाता भित्र गत वर्ष देखिको सञ्चित चामल र नुन माथिल्लो डोल्पा पुग्ने जिल्ला खँद्य प्रमुख हरी प्रसाद जोशीले बताए ।हरेक वर्ष उपल्लो डोल्पाका तिन वटा गाँउपालिकामा तीब्बतको नाका हुँदै खाद्यान्न ढुवानी गर्ने गरेको डोल्पाका प्रजिअ केशवराज आचार्यले जानकारी दिए । उनका अनुसार खाद्यान्न वितरण गर्ने समयमा प्रशासनबाट समेत प्रतिनिधि खटाएर उपल्लो डोल्पाबासीलाई सहज रुपमा खाद्यान्न वितरण गर्ने गरिएको बताए । विगतका वर्षहरुमा तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरेपनि भुकम्पले उक्त नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाश बहादुर धामीले जानकारी दिए ।










