चाडपर्वले पिरोलेको म डोल्पाली


अखण्ड उपाध्याय
हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व दसैं र तिहार नजिकिँदैछ । आम नेपालीजस्तै म पनि खुसी हुनुपर्ने हो, नजिकिँदै गरेको पर्वले । वर्षको एकपटक घर जान पाइने, साथीभाइहरूसँग भेट्न पाइने, घुम्न–डुल्न यस्ता तमाम खुसी ल्याउने गर्छ, चार्डपर्वले । वर्षदिन पढाइको लागि आफ्नो गाउँघर छाडेका हामी हजारौं विद्यार्थी राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरमा छरिएर रहेका छौं । तर मजस्तै ती हजारौं विद्यार्थी भाइबहिनीहरूलाई नजिकिँदै गरेको पर्वले खुसीभन्दा बढी चिन्ता र डर थपिदिएको छ । र त्यो साझा डर हो– पैसा, त्यो पनि यातायातका साधनमा खर्चनुपर्ने पैसा । हामी घर जानका लागि लाग्ने हवाइजहाज, हेलिकप्टरमा लाग्ने खर्च ।
राजधानी काठमाडौँबाट जापान, अष्ट्रेलिया लगायत विदेश जान एकतर्फी ५० हजार रुपैयाँभन्दा कममा टिकट पाइन्छ । त्यो हामी सबैलाई थाहै छ । तर हामी धेरैजसो नेपालीलाई के थाहा छैन भने आफ्नै देशको राजधानीबाट सुदूर पश्चिमको कुनै एक जिल्लामा जान ५० हजारभन्दा धेरै रकम खर्चनुपर्छ । हामी डोल्पाली विद्यार्थी हौं या हुम्लेली, जो आफ्नो जिल्लादेखि काठमाडौँ आएर यहीं बसेर पढिरहेका छौँ । हाम्रो डर र चिन्ता भनेकै यही हो । वर्षेनि चाडपर्वका लागि गृहजिल्ला जाँदा ५० हजारभन्दा धेरै रकम खर्चिनुपर्ने हुन्छ ।
बाबाआमाले घरबार बेचेर हामीजस्ता छोराछोरी राम्रो पढुन् भनेर सहरी क्षेत्रमा पुर्याउँछन् । छोराछोरीहरूका लागि भनेर रातादिन दुस्ख गर्छन् । आम नेपालीजस्तै हामी पनि वर्षको एकपटक घर जान पाइन्छ, आफन्तसँग भेट्न पाइन्छ भन्ने खुसीभन्दा फेरि ५० हजार कहाँबाट ल्याउने, कहाँ ऋण गर्ने जस्ता चिन्ताले सताउने गर्छ ।
हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको जिल्ला डोल्पा र हुम्ला हुन् भन्ने यहाँहरूलाई सर्वविदितै छ । हिँडेर जाऊँ सम्भवै छैन । हप्तौं दिन कति लाग्ने हो, त्यो सम्भव नै भएन । एउटै विकल्प हो, हवाइजहाज वा हेलिकप्टर ।
तर यसपटक त यति धेरै रकम खर्च गर्दा पनि हवाइजहाज वा हेलिकप्टर चढ्न पाइन्छ कि पाइँदैन भन्ने दुविधाले हामीलाई थप सताएको छ । कारण हो, विमानस्थल विगत दुई महिनादेखि बन्द छ । करिब ५ वर्षअघि डोल्पा जिल्लाको एकमात्र यातायातको सुविधास्वरूप रहेको जुफाल एयरपोर्ट धावनमार्ग कालोपत्रे गर्न करिब १० करोड रुपैयाँमा सरकारले ठेक्का दिएको थियो । तर कामै हुन सकेन । बल्ल–बल्ल पछिल्लो २ महिनादेखि काम सुरु भएको छ । त्यो पनि चार्डपर्वको मुखैमा आएर । पुनर्निर्माण भइरहेकाले त्यो पनि बन्द छ । न अब हिँडेरै जान नकिन्छ, नत ५० हजारै खर्च गरेर घर जाऊँभन्दा पनि जाने साधन केही पनि छैन ।
५६० मिटर लामो धावनमार्ग कालोपत्रे गर्नुपर्नेमा २ महिनाभन्दा बढी समय भइसक्दा पनि करिब २९० मिटरमात्र कालोपत्रे भएको छ । अझ मेसिन बिग्रेकाले काममा ढिलाइ हुने संकेत आइसकेको छ । समस्या हामी चाडवर्पमा घर जानुमात्र नभई धावनमार्गको स्तरोन्नति गरिरहँदा हामीलाई अर्को विकल्प दिन नसक्दा हामीजस्ता विद्यार्थीले घर जाने सपनाप्रायस् बन्दैछ भने उता डोल्पामा गरिब जनता जो बिरामी परे भने पनि काल कुर्नुबाहेक अर्को उपाय देखिरहेका छैनन् ।
नेपाली सेनाले सडक बनाउन बाटो खनिरहेको छ । तर कहिलेसम्म भन्ने हाम्रो प्रश्न हो । डोल्पामै अवस्थित पहाडा गाउँमा मसिने चौर विमानस्थल पनि केही वर्षअघि जुफाल एयरपोर्ट बन्द हुँदा सञ्चालनमा आएको थियो । तर हाल उक्त विमानस्थल पनि बन्द छ । जिल्लाभित्र २ वटा विमानस्थल भए पनि पुनस् सञ्चालनमा ल्याउन कुनै पहल नगरिदिँदा समस्या झन् बढ्दो छ । राज्यले कहिले हामी डोल्पाली र कर्णालीका जनताको समस्या समाधानको लागि पहल गर्छ त रु
अझै पनि सरकार र जिम्मेवार पक्षले जुफाल एयरपोर्ट निर्माणको ठेकेदार कम्पनीलाई बेलैमा काम सक्न चेतावनी नदिने हो भने अझै ३र४ महिना बन्द नहोला भन्न सकिन्न । जसको प्रत्यक्ष प्रभाव नजिकिँदै आएको महान चाड दसैँमा पर्न जान्छ । चाडपर्वको मुखमा डोल्पालीलाई राहत दिनकै लागि भए पनि नेपालगन्ज र सुर्खेतबाट न्यूनतम भाडादर कायम गरी नेपाली सेनाको ठूलो हेलिकप्टरको व्यवस्था गरिदिने हो भने प्रतिव्यक्ति ५० हजार रुपैयाँ तिर्नु पर्दैनथ्यो भने डोल्पालीले राहत पनि पाउने थिए भन्ने लाग्छ ।










