लसुन खानुस् छन् यस्ता फाइदा

भान्सामा मसलाको रूपमा प्रयोग हुने लसुनको बासना मात्रै मीठो हुँदैन, यसमा औषधीय गुण पनि हुन्छ । आयुर्वेदमा मात्र नभएर प्याथोलोजी विशेषज्ञहरू पनि यसलाई औषधिको रूपमा प्रयोग गर्दा धेरै फाइदा हुनेमा विश्वास गर्छन् । त्यही भएर कतिपय चिकित्सकले बिरामीलाई सन्तुलित भोजनबारे सल्लाह दिँदा खानामा लसुनको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । त्यसो त भान्सामा लसुनको स्वाद आएन भने खाना मीठो नमान्नेहरू पनि धेरै छन् ।
कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा
चार चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा केही पोटी लसुन, सानो आधा चम्चा हिङ र सानो एक चम्चा सिदेनुनको धुलो तेलमा राखेर कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकताअनुसार कान सफा गरी बिहान–बेलुका चार–चार थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
कोलेस्ट्रोल नियन्त्रण गर्न
लसुनमा शरीरलाई आवश्यक भिटामिन ए, बी तथा सीका साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिज तत्वहरूसमेत हुन्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्नसमेत मद्दत गर्छ । कोलेस्ट्रोल नियन्त्रण हुँदा नसाभित्र रगत जम्ने तथा बाक्लो हुन पाउँदैन । दमका रोगीहरूका लागि समेत लसुनले औषधिको काम गर्छ ।
घाँटी बसेमा
एक–दुई पोटी लसुन चपाएर मनतातो पानीमा दुई–तीनपटक खाँदा घाँटी बसेको ठीक हुन्छ ।
दाद आएमा
घिउकुमारी र लसुन पिनेर लेप लगाउने गरेमा दाद आएको ठीक हुन्छ ।
कोठी उपचारमा
लसुनको केस्रालाई सिलौटोमा पिन्ने र कोठीमाथि लेप लगाउने । त्यसलाई सफा कपडाले ढाक्नुपर्छ । ढाकेको २–३ घन्टासम्म त्यसै छोडिदिने । केही दिनसम्म यसरी लेप लगाउँदा कोठी आफैँ झरेर जान्छ ।
यस्ता पनि गुण
सस्र्युंको तेलमा लसुन पकाएर बनाइएको मिश्रणले मालिस गर्नाले शरीरमा भएको दुखाइ कम गर्छ । यसमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । कब्जियतको समस्या हटाइदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकीजस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खाँदा चिसो र अपचको समस्यालई समाधान गरिदिन्छ ।










