अखिल क्रान्तिकारीमा प्रत्यक्ष चुनावबाट नेतृत्व छानिने

काठमाण्डौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने भएको छ ।

राजधानीमा बुधबारदेखि सुरु २१ औं महाधिवेशनबाट पहिलोपटक प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत नेतृत्व चयन गर्न लागिएको हो । यसअघि जनवादी केन्द्रीयताका नाममा हलबाट नाम प्रस्ताव गर्ने र त्यसकै आधारमा नेतृत्व चयन गर्ने परिपाटी माओवादीका भ्रातृ संगठनमा थियो । माओवादी पार्टीको नेतृत्व चयन पनि प्रत्यक्ष चुनाव पद्धतिबाट भएको छैन ।

मुलुकभरका २ हजार ७६ प्रतिनिधिबाट ३३ सदस्यीय पदाधिकारीसहित २ सय ४३ सदस्यीय केन्द्रीय समिति चयन हुने क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । बिहीबारदेखि सुरु भएको बन्दसत्रमा विद्यार्थी आन्दोलनको कार्यभारसम्बन्धी प्रतिवेदन र विधान संशोधन प्रतिवेदन पेस भएको छ ।

क्रान्तिकारीले विद्यार्थी आन्दोलनको मुख्य कार्यभार ‘जनवादी शिक्षा’लाई समेत परिवर्तन गर्ने भएको छ । ‘समाजवादी शिक्षा’ प्राप्ति गर्ने लक्ष्यलाई विद्यार्थी आन्दोलनको मुख्य कार्यभार हुने प्रस्ताव गरिएको छ । प्रतिवेदनमा तीन दिनसम्म छलफल हुनेछ । त्यसका लागि २१ टोली बनाइएको बस्नेतले जानकारी दिए । उनका अनुसार प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

नेतृत्वका लागि विद्यार्थी नेताबीच तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । हालसम्म अध्यक्ष पदका लागि अनिल शर्मा, रञ्जित तामाङ, वीरेन्द्र बस्नेत, मदन अर्याल, रामचन्द्र अधिकारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंहले आकांक्षा देखाएका छन् । यसअघि फुटेर गएका पार्टीहरू पनि अहिले मिल्न आएकाले विद्यार्थी संगठनको महाविधेशनमा ती सबै पक्षलाई ख्याल गर्दै नेतृत्व चयन गर्नुपर्ने अवस्था छ ।

 

 





error: Content is protected !!