पूर्व गृहमन्त्री बस्नेतद्वारा तराईमा भीभीआईपी मुभमेण्ट कम गर्न माग

काठमाडौं– पुर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिबहादुर वस्नेतले बाढी पीडितको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदमा बुधवार बोल्दै पुर्वमन्त्री बस्नेतले बाढी पीडितको उद्धारको विषयलाई राष्ट्रको समस्याको रुपमा हेर्न आग्रह गर्दै यसलाई समाधन गर्न सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
‘यसमा प्रतिपक्ष र सत्तापक्ष भनेर सस्तो लोकप्रियताको लागी होडबाजी गर्ने काम तत्काललाई बन्द गरौ’, पूर्व मन्त्री बस्नेतले भने, ‘यो राष्ट्रिय समस्यालाई सबैले मिलेर हल गर्ने कोशिस गरौ ।’
उनले तराईमा भीभीआईपीको मुभमेण्ट बढी हुँदा जिल्लाका सरकारी संयन्त्र उनीहरुको व्यवस्थापनमा लाग्नुपर्ने समस्या देखिएको भन्दै केही समय भीभीआईपीको मुभमेण्ट कम गर्नुपर्ने बताए ।
‘बाढी प्रभावित क्षेत्रमा भिभिआईपीको मुभमेण्ट बढी हुँदा जिल्लास्थित सुरक्षा समिति व्यवस्थापनमा लाग्नुपर्ने समस्या छ’, उनले पछिल्ला भिआइपीहरुका तराईमा बाक्लिएका भ्रमणहरुतर्फ इगिंत गर्दै थपे, ‘त्यति मात्र होइन स्रोत साधन पनि उनीहरुकै व्यवस्थापनमा खटाउनुपर्ने हुन्छ, यसले झन् समस्या बढाउने काम भएको छ ।’
पछिल्लो समयमा मन्त्री र सरकारी उच्च अधिकारीहरु हेलिकप्टर लिएर बाढी पीडित क्षेत्रमा पुग्ने गरेका छन् । उनीहरु बाढीले प्रभावित जनताको राहत र उद्धारभन्दा पनि निरिक्षण गरेर फर्किने गरेका छन् । जसले तराईमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखहरु उनीहरुको भ्रमणको ब्यवस्थापनमै खटिनुपरेको छ, जसले बाढी पीडितको राहत तथा उद्धारमा ढिलाइ हुने गरेको छ ।










