बाढीपीडितको नाममा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी, पटकपटक संसद् अवरुद्ध

काठमाडौं , सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदलको अवरोधका कारण व्यवस्थापिका–संसद् को आजको बैठक पटकपटक स्थगित भएको छ । पछिल्लोपटक सत्तापक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी छिन् ।

 

 

बाढीपहिरो तथा डुबानको घट्नाबारे संसदको विशेष समयमा बोल्ने लम्ब्याउने या नलम्ब्याउने भन्नेबारे सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदा पहिले प्रतिपक्षी दलले र पछि सत्तापक्षले संसद् अवरोध गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले बाढीपहिरो र डुबानको घट्नाबाट देशका विभिन्न भागमा सयौँ मानिसको ज्यान गएको र हजारौँ विस्थापित भएकोबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा प्रस्तुत गरेको थियो । सो प्रस्तावलाई संसद्मा छलफल गर्ने कार्यसुचीमै राखिएपछि विशेष समयमा विभिन्न दलका सांसदले धारणा राखे ।

 

 

जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि प्रवेश नगरी पहिलेदेखि नै सोहि विषयमा छलफल लम्ब्याएर सत्तापक्षले षडयन्त्र भन्दै एमाले सांसदले सदन अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले विशेष समयमा बोल्ने सांसदको सूची घटाइन् । त्यसपछि विशेष समयमा बोल्नेक्रम सकिएको घोषणा सभामुखले गरेलगत्तै कांग्रेसका सांसदहरुले आफूहरुले विषम परिस्थितिमा देशको अवस्थाबारे बोल्न पाउनुपर्ने भन्दै सदन अवरुद्ध गरे । यसमा माओवादी केन्द्रका केही सांसदले पनि साथ दिए । त्यसपछि सभामुख घर्तीले संसद बैठक १५ मिनेट स्थगित गरेकी हुन् ।बाढीपहिरो र डुबानबारे विशेष समयमा बोल्ने या जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेपछि बोल्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच मतान्तर देखिएको छ । रमाइलो प्रसंग त, सत्तारुढ दलकैतर्फबाट सदन अवरुद्ध हुने विरलै घटना आज पनि देखिएको छ ।





error: Content is protected !!